गोरखा जीप दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा शोक व्यक्त
पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् ।
गएराति गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा शहीद लखन गाउँपालिका–५ का प्रवीण थापा, वीरबहादुर थापा, नीरज थापा, नवीना थापा र धनबहादुर थापाको मृत्यु भएको थियो । उनले भनेका छन् –‘गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु ।
दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ जिपमा १९ जना सवार थिए । १२ जना घाइते भएका छन् भने २ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।