अदालतबाट फरार भएका थुनुवाको हत्कडी खोल्ने ३ जनाविरुद्ध पनि चलाइयो मुद्दा….



अदालतबाट फरार भएका थुनुवाको हत्कडी खोल्ने ३ जनाविरुद्ध पनि चलाइयो मुद्दा… काठमाडौं जिल्ला अदालतबाट पुस १८ गते फरार भएका ठगी मुद्दाका थुनुवा कमल खड्काको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा चलाइएको छ।

हत्कडीसहित भाग्ने खड्कासहित हत्कडी खोल्ने तथा फरार भएका थुनुवालाई राखेको आरोपमा थप ३ जनालाई पनि मुद्दा चलाइएको हो।

हत्कडीसहित फरार भएर भोलिपल्टै पक्राउ परेका सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भएका ३२ वर्षीय खड्कासँगै बाह्रबिसे–३ का १८ वर्षीय पारस तामाङ, बाह्रबिसे–४ का २५ वर्षीय मोहनबहादुर तामाङ र बाह्रबिसे–५ का १९ वर्षीय रोनिष तामाङविरुद्ध मुद्दा चलाइएको छ। थुनुवा भाग्नरभगाउन नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा चलाइएको हो।

थुनछेक बहसका लागि अदालत उपस्थित गराइएका थुनुवा कमल खड्का प्रहरीलाई छक्याएर अफलाइन पठाओ चढेर हत्कडीसहित फरार भएका थिए। अदालतबाट फरार हुनासाथ आफूले फोन गरेर घटनाबारे पारसलाई जानकारी गराउँदै ‘हत्कडीसहित फरार भएको छु अब गर्ने रु’ भन्दै सोधेको र उनैले भनेरअनुसार पठाओ चढेर भक्तपुरको चाँगुनारायणस्थित शान्तिनगरस्थित कोठमा आउन भनेकाले गएको भन्दै खड्काले पक्राउ परेपछि प्रहरीसमक्ष बयान दिएका थिए।

कोठामा पुगेपछि चम्चाको सहायताले पारस, रोनिष र मोहनबहादुरको सहयोगमा हत्कडी खोलेको उनले बताएका थिए। थुनुवा लेखिएको ज्याकेट र हत्कडी समेत प्रहरीले सोही कोठाको डस्टबिनबाट बरामद गरेको थियो।

खड्का भने उक्त कोठाबाट जडिबुटीस्थित दोलखाली होटलमा गएर बसेका थिए। सोही होटलबाट प्रहरीले खड्कालाई पक्राउ गरेको थियो।

खड्काविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १०१ को थुनाबाट भाग्न नहुने अन्तगर्तको कसुरमा र अन्य ३ जनाको हकमा संहिताको दफा १०२ अन्तर्गतको थुनाबाट भगाउन नहुने अन्तगर्तको कसुरमा मुद्दा दायर गरिएको छ।

दफा १०१ अनुसार खड्काविरुद्ध ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ। दफा १०२ अन्तर्गत बाँकी तीनलाई सोही बराबर अर्थात ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ। सोही अनुसार कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

खड्का यसअघि प्रकाश बुढाथोकीको जाहेरीले २०७८ फागुन २२ गते डाँका मुद्दामा २ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाइएका व्यक्ति रहेका खुलेको छ। पटके कसुरदार भएकाले खड्काविरुद्ध थप सजाय समेत मागदाबी गरिएको छ।

यसअघि पक्राउ परेर अदालतबाटै फरार भएका खड्कालाई ठगीको कसुरमा भने जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर धरौटी तिर्न नसकेकाले उनलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja