मङ्कीपक्सका संक्रमित भेटिएको अवस्थामा नाकामा विशेष कडाइ गर्नुपर्ने माग
पोखरा
नेकपा एमाले सांसद योगेश भट्टराईले मङ्कीपक्स र उपत्यकामा देखिएको नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
संसदको विषय समयमा भट्टराईले नेपालसँग खुला सीमा रहेको भारतमा पनि मङ्कीपक्सका संक्रमित भेटिएको अवस्थामा नाकामा विशेष कडाइ गर्नुपर्ने माग गरे ।उनले काठमाडौंको देखिएको हैजा रोकथाम र मङ्कीपक्स प्रवेश हुन नदिनका लागि सरकारले चलेको कदम बारेमा संसदलाई जानकारी गराउनु पर्ने माग गरे ।
‘मङ्कीपक्सलाई डब्लूएचओले अलर्ट घोषणा गरिसकेको छ । तर हाम्रोमा कुनै प्रकारको सचेतना अपनाएको देखिँदैन । सीमामा कुनै पनि प्रकारको चेक छैन,’ भट्टराईले भने, ‘भारतमा चार जना संक्रमित भेटिसके । भारतसँग हाम्रो खुला सीमा छ । हामीले सचेत हुनुपर्छ । नाकाहरूमा निगरानी बढाउनुपर्छ ।’
भट्टराईले विकसित देशलाई समेत मङ्कीपक्स हायलकायल पारेको अवस्थामा यो नेपालमा फैलिएर रोक्नका लागि कठिन हुने बताए । त्यसैगरी काठमाडौं उपत्यकामा अहिलेसम्म ३४ जना हैजाको रोगी भेटिएको भन्दै यो सामुदायिकस्तरमा पुगिसकेको बताए ।
‘डब्लूएचओले हैजाका एक जना रोगी भेटियो भने पनि त्यसलाई स्थानीयस्तरमा फैलिएको महामारी भन्ने गरेको छ । काठमाडौं उपत्यकामा ३४ जना भेटिसक्यो यो समुदायमा फैलिएसकेको देखिन्छ,’ भट्टराईले भने, ‘हैजा महामारीका रूपमा लिने सम्भावना छ । यसको नियन्त्रणका लागि सरकारले केही गरेको छैन । यस विषयमा सरकारले संसद्लाई जानकारी गराउनुपर्यो।’