राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पोखरा आउने
पोखरा
४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आयोजना गरेको प्रवचन कार्यक्रममा सहभागी हुन काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पोखरा आउने भएका छन् । यहि पुस १६ गते कास्की काँग्रेसको प्रांगणमा प्रवचन कार्यक्रम हुँदैछ ।
शर्मा महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक पोखरा अउान लागेका हुन् । उनको साथमा केही केन्द्रीय नेताहरु पनि आउने बताइएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस
पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रुपमा मनाउँदै आएको छ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत नेताहरु मेलमिलापको नीति लिएर वि.सं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता बीपी कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ गरी सुन्दरीजल जेलमा बन्दी बनाइएको थियो ।
नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।