प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकलाई सहयात्री बन्न मुख्यमन्त्री पोखरेलको आग्रह
पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच सोमबार मुख्यमन्त्री कार्यालयमा भेटघाट भएको छ ।
भेटवार्तामा मुख्यमन्त्री पोखरेलले विश्व बैकले नेपालको समग्र विकासमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंकलाई सहयात्री बन्नका लागि आग्रह गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले गरिबीको अन्त्य र समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै प्रदेशको विकासमा पनि योगदान गरेकोमा धन्यवाद ब्यक्त गरे । ‘गण्डकी प्रदेश विकासका प्राथमिकता र सम्भावनाका सवालमा यहाँहरुसँग हातेमालो गर्न इच्छुक छ’ उनले बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको बताउदै यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा ८ प्रतिशत योगदान गर्ने बताए ।
सीमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकताहरु निर्धारण गरी अगाडि बढेको अवस्थामा आकस्मिक रुपमा आएको कोभिड महामारीले आर्थिक सामाजिक अवस्थालाई क्षत विक्षत पारेको मुख्यमन्त्री पोखरेलले बताए ।
उनले कोभिड विरुद्धको खोपको प्रभावकारिता बढिरहे भएपनि नेपालमा खोप खरिद प्रक्रियामा भएको ढिलासुस्तीबारे असन्तुष्टि जनाए । उनले स्कुले बालबालिकालाई छिटोभन्दा छिटो खोप लगाएर विद्यालय खोल्ने वातावरण सिर्जना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए ।
उनले प्रदेश सरकारले कोभिड महामारीले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गर्नुपरेको बताए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशले निर्धारित गरेको लक्ष्य हासिल गर्न १० खर्ब १२ अर्ब लगानी आवश्यक रहेको बताउँदै त्यसका लागि पर्याप्त लगानी नभएको बताए । उनले लगानीको लक्ष्य भेटाउन प्रदेश सरकारले विश्व बैँकजस्ता संस्थासँग सहयोगको अपेक्षा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
पोखरेलले आधुनिक यातायात सञ्जालले समृद्धिको मार्ग प्रशस्त गर्ने बताउदै प्रदेश राजधानी पोखराबाट बागमती र लुम्बिनी लगायतका प्रदेश भएर मात्र गण्डकी प्रदेशको नवलपुर पुग्नुपर्ने वाध्यता रहेको जानकारी गराए । मुस्ताङको कोरला नाकादेखि पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा २ लेनको डेडिकेटेड सडकका रुपमा विकास गर्न सके यस प्रदेशको स्वरुप नै फेरिने मुख्यमन्त्री पोखरेलले बताए ।