कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न सरकारलाई निर्देशन
पोखरा
मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गरी कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै गराउन सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति जयपुरी घर्तीले अन्य कक्षा तथा विश्वविद्यालय स्तरका परीक्षाहरु सञ्चालन भइरहेको जनाउँदै कक्षा १२ को परीक्षा पनि गराउन निर्देशन दिएकी हुन् ।
समितिका सदस्य डा.सुरेन्द्र यादवले विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने सुझाब दिए ।
त्यस्तै समितिकी अर्की अन्जना विशन्खेले परीक्षा स्थगीत गरेर शैक्षिक सत्र बिथोल्न नहुने बताइन् । स्वास्थ्य सुरक्षा अपनाएर परीक्षा लिनुपर्ने उनको भनाइ छ ।
बोर्डले यस अघि जारी गरेको परीक्षा तालिका अनुसार साउन ३१ गतेबाट परीक्षा सञ्चालन गरेको भए बुधबार(भोलि) परीक्षा सकिन्थ्यो । परीक्षा स्थगित गर्दाको समयको कोरोना संक्रमण दर र अहिलेको कोरोना संक्रमणदरमा खासै परिवर्तन देखिएको छैन ।