जो अब ६ हजार ८ सय वर्षका लागि हामीसँग छुट्टिने
पोखरा
केही दिनयता देशभरि झरी परिरहेको छ। आकाशतिर हेर्यो भने बादलैबादल मात्र देखिन्छ। बादलमाथि भने एउटा नयाँ चिज आएको छ। जुन हजारौं वर्ष पहिला आएको थियो र अब ६ हजार ८ सय वर्षपछि मात्र आउने छ।
अचेल पृथ्वीको उत्तरी गोलार्द्धबाट आकाशमा सूर्यास्तपछि प्रकाशका दुइटा पुच्छर भएको एउटा तारा देखिन्छ। खगोलशास्त्रीहरूले निओवाइज नाम दिएको यो पुच्छ्रेतारा जुलाई महिनाभरि पृथ्वीबाट देखिनेछ।
नासाका अनुसार ५ किलोमिटर व्यास भएको यो पुच्छ्रेतारा प्रतिसेकेन्ड ४० माइलको गतिमा चलिरहेको छ। जुलाई २३ मा यो पृथ्वीको सबैभन्दा नजिक आइपुग्नेछ। तर यसले पृथ्वीलाई केही असर गर्ने भने देखिँदैन।
मौसम सफा रहे जुलाई महिनाभर नेपालबाट पनि यो पुच्छ्रेतारा नांगो आँखाले देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।
यो पुच्छ्रेतारा पहिलो पटक गत मार्च २७ मा देखिएको थियो। यसको वैज्ञानिक नाम भने सी/२०२० एफ३ हो। पृथ्वीको नजिक आएको यो पुच्छ्रेतारा अन्तरिक्षमा रहेको स्याटेलाइटबाट पत्ता लागेको र लामो समयसम्म पृथ्वीनजिक नआउने भएकोले अहिले चर्चामा छ।
सन् २००९ को डिसेम्बरमा नासाले निओवाइज स्पेस मिसनअन्तर्गत स्याटेलाइट पठाएको थियो। जसले अन्तरिक्षमा रही क्षुद्रग्रहसम्बन्धी अध्ययन, अनुसन्धान तथा निगरानी गर्ने गरेको छ। त्यसै निगरानीमार्फत यसले यो पुच्छ्रेतारा पत्ता लागेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
‘यो स्पेस टेलिस्कोप विषेशगरी पृथ्वीलाई छुद्रग्रहबाट जोगाउन वा त्यसमा निगरानी राख्न पठाइएको थियो,’ भट्टराईले भने।
भट्टराईका अनुसार मार्च ३१ मा अष्ट्रेलियाका वैज्ञानिकहरूले पुच्छ्रेताराको अवलोकन गरेका थिए। त्यसलगत्तै अर्जेन्टिनाका वैज्ञानिकले गरे भने अन्यत्रबाट पनि यसको अवलोकन गरिएको थियो।
‘मार्च २७ देखि जुलाई १३ सम्म ३८३ पटक वैज्ञानिकहरूले यो पुच्छ्रेतारा अवलोकन गरिसकेका छन्। जति पटक धेरै हेर्यो त्यत्ति नै धेरै कुरा यसबारेमा थाहा पाइन्छ,’ भट्टराईले भने।
यो पुच्छ्रेतारा त्यसैले पनि वैज्ञानिकहरूका लागि धेरै महत्वपूर्ण रहेको उनको भनाइ छ। पुच्छ्रेताराहरूको आयु करिब साढे चार अर्ब वर्ष हुने मानिन्छ।
‘पुच्छ्रेताराहरू हाम्रो सौर्यमण्डलका हुन् र सौर्यमण्डलको अवशेषको रूपमा हेरिन्छन्। यसबारे अध्ययन गर्न हाम्रो लागि धेरै राम्रो मौका हो किनभने अब फेरि सात हजार वर्षपछि मात्रै देखिन्छ,’ उनले भने,’नेपालबाट पनि अध्ययन गर्न सकिन्थ्यो तर मौसमको खराबीका कारण देख्न सकिरहेको छैन।’
उनका अनुसार बादल नलागे भने सूर्य अस्ताएको करिब एकदेखि डेढ घन्टासम्म आकाशको उत्तर पश्चिमी क्षेत्रमा देखिन्छ।
‘सिधै माथि होइन क्षितिजभन्दा अलि माथि उत्तर पश्चिम क्षेत्रतिर हेरे देख्न सक्छौं,’ भट्टराईले भने,’यसलाई नाङ्गो आँखाले हेर्दा पनि देखिन्छ दुरबिन वा टेलिस्कोपबाट हेर्दा अझ राम्ररी देखिन्छ।’
अहिले साँझपख देखिए पनि जुलाई १४ तारिख अघि यो पुच्छ्रेतारा बिहानपख देखिएको थियो।
अहिले यो पुच्छ्रेतारा सूर्यलाई परिक्रमा गरी पुनः आफ्नो उदगमस्थलतिर फर्किँदैछ। यसरी फर्कने क्रममा जुलाई २३ तारिखका दिन यो पृथ्वीको सबैभन्दा नजिक रहनेछ। अहिले यो पुच्छ्रेतारा पृथ्वीबाट ११ करोड १० लाख किलोमिटर टाढा छ।
पुच्छ्रेताराहरूमा धुलो, पानी र बरफ हुन्छ। सूर्यको नजिक पुग्दा यसको सतहमा भएका ती वस्तुहरू तात्छन् र पुच्छरजस्तो बन्छन्। यसरी पुच्छर बन्दा धुलोबाट एउटा र ग्यासबाट अर्को बन्छन्।
Setopati बाट साभार