पोखरामा पिको स्याटेलाइट निर्माणसम्बन्धी प्रशिक्षण हुने
पोखरा
पोखराको पश्चिमाञ्चल क्षेत्रीय क्याम्पसमा पिको स्याटेलाइट निर्माणसम्बन्धी प्रशिक्षण हुने भएको छ । काठमाडौँको ओरियन स्पेसले आयोजना गर्ने उक्त ट्रेनिङ कार्यक्रममा इन्जिनियरका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् ।
आउँदो जनवरीको १० र ११ मा हुने दुई दिने प्रशिक्षणमा भाग लिन २०-२५ जनाको टोलीलाई ३० हजार रुपैयाँ लाग्ने ओरियन स्पेसका संस्थापक तथा सिइओ राकेश चन्द्र प्रजापतिले जानकारी दिए । प्रशिक्षणमा पिको स्याटेलाइटको निर्माणलगायत कृत्रिम भु-उपग्रह प्रविधिसम्बन्धी जानकारीहरु दिइने पनि उनले जनाए ।
प्रशिक्षण पछि विद्यार्थीहरु आफैले पिको स्याटेलाइट निर्माण गर्न सक्ने पनि प्रजापतिले बताए । ओरियन स्पेसले यस अघि काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसमा पनि सोही किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।
एक किलोग्राम भन्दा कम तौल हुने पिको स्याटेलाइटहरु सुरक्षाका क्षेत्रमा, खोजी तथा उद्धार कार्यमा, डाटा सङ्कलन लगायतका कार्यमा प्रयोगमा ल्याउन सकिनेछ । ५० डलर स्याटेलाइट पनि भनिने यस्ता स्याटेलाइट निर्माण तथा प्रक्षेपण गर्न कम खर्चिलो तर निकै प्रभावकारी हुने गर्दछ । नेपालले केही समय अघि जापानमा निर्मित आफ्नो पहिलो न्यानो स्याटेलाइट प्रक्षेपण गरेको थियो ।
ओरियन स्पेसले २०२० भित्र नेपाल मै निर्माण गरेको पिको स्याटेलाइट प्रक्षेपण गर्ने उद्देश्य राखेको छ ।
Pokharanews बाट साभार