‘क्याप्टेन’ लाई बदनाम गर्ने तत्व सक्रिय : भुवन केसी
पोखरा, २१ माघ ।
फागुन १७ गते दर्शक भेट्न तमतयार रहेको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ फ्लोरमा निस्कनुभन्दा अगावैदेखि चर्चामा थियो । निर्माण टिमले चयन गरेको विषयवस्तु, अनमोलले निभाउन लागेको फुटबल खेलाडीको भूमिका, दुई नयाँ हिरोइन र नाम चलेका कलाकारहरुको अभिनय रहने कुराले छायांकन सुरु नहुँदै फिल्मलाई प्रतिक्षीत बनाएको थियो ।
अब प्रदर्शनमा लागि तयार रहेको फिल्मको गीतसंगीतले यतिबेला लोभलाग्दो हाइप निर्माण गरेको छ । शुक्रवार रिलिज भएको धमाकेदार ट्रेलरले दर्शकमा फिल्मप्रति उत्सुकता र कौतुहलता झनै बढाएको छ । ट्रेलरमा अनमोलको रोमान्टिक र खेलाडी अवतारलाई दर्शकले निकै रुचाएका छन् । युट्युबमा अहिले ट्रेलरले लाखौं भ्यूअर्स बटुलिरहेको छ ।
फिल्मको चर्चा दिनप्रतिदिन चुलिँदै गर्दा केही दिन अगाडि निर्माता भुवन केसीमाथि बरिष्ठ कलाकार राजाराम पौडेलले फिल्म ‘क्याप्टेन’ मा काम गरेको पारिश्रमिक नपाएको गुनासो पोखेका थिए । फिल्मको पहिलो गीत सार्वजनिक कार्यक्रममा भुवनबाट पत्रकारले यस विषयमा यथार्थ जान्न खोजेका पनि थिए तर राजारामको कुरा सुन्न नचाहने भन्दै उनी तर्किए ।
राजाराम भने पारिश्रमिक नदिए मुद्धा हाल्ने भन्दै हिँडिरहेका छन् । फिल्मका लागि दिनरात खट्ने कलाकारलाई पारिश्रमिक नदिएको भन्दै अहिले निर्माता भुवनको चर्को आलोचना भइरहेको छ । यसले फिल्मलाई समेत असर पुग्ने बुझेपछि उनले शुक्रवार ‘क्याप्टेन’ को ट्रेलर रिलिज कार्यक्रममा आक्रोशित हुँदै राजारामको स्क्यान्डल नभइ फिल्मलाई बदनाम गर्न चाहनेहरुको हर्कत रहेको बताए ।
‘क्याप्टेन’ लाई बदनाम गर्ने तत्व सक्रिय रहेको बताउँदै उनले भने, ‘केही दिन अगाडि राजाराम दाईसँग मेरो भेट भएको थियो । मैले उहाँलाई बाहिर यस्तो कुरा आएको छ के हो भनेर सोधेको थिएँ तर उहाँले आफूले पारिश्रमिक नपाएको कुरा नभनेको बताउनुभयो । मलाई के लाग्छ भने यो सबै ‘क्याप्टेन’ लाई बदनाम गर्न चाहनेहरुको चाल हो ।’
उनी आफ्नो फिल्ममा कसैलाई पक्षपात नगर्ने बताउँछन् । ‘म जुनियरदेखि सिनियर सबैलाई माया र सम्मान गर्छु’, उनले अगाडि भने, ‘काम गर्नेलाई पारिश्रमिक नदिने त कुरै हुँदैन । जसले मिहिनेत गर्नुहुन्छ उसको पूरा पारिश्रमिक दिन्छौं ।’ उनी बदनाम गर्न सक्रिय तत्वहरुको ‘क्याप्टेन’ को सफलताले मुख बन्द गर्ने दाबी गर्छन् ।
उनले ‘क्याप्टेन’ सँग जुध्न लागेको फिल्म ‘द ब्रेकअप’ लाई पनि सफलताको शुभकामना दिए । आफ्नो फिल्मको प्रतिस्पर्धा नेपाली फिल्मसँग नभइ हलिउड र बलिउडसँग मात्र रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो प्रतिस्पर्धा सँधै विदेशी फिल्मसँग हुनुपर्छ । यो कुरा मनमा राखेर अगाडि बढ्ने हो भने एकदिन हामीले अवश्य विदेशी फिल्मलाई जित्छौं ।’
फुटबलको कथामा आधारित भएर निर्माण भएको फिल्म ‘क्याप्टेन’ ले देशका फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने निर्माता भुवनको भनाइ छ । ‘३ करोड नेपालीलाई नेपालले विश्वकप जितेको हेर्ने चाहना छ । तर, त्यो सपना पूरा भएको छैन तर एकदिन पुग्छ । त्यसका लागि हामीले हाम्रा खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ’, उनी सुनिए ।
भुवन आफू निर्मित फिल्म ‘क्याप्टेन’ सुपरहिट भए पनि दोस्रो पार्ट बनाउन आँट जुटाउन भने नसक्ने बताउँछन् । नेपालमा स्पोट्स जनरामा फिल्म बनाउन निकै गाह्रो रहेको उनको अनुभव छ । ‘फुटबलको विषयमा फिल्म बनाउन निकै गाह्रो हुँदो रहेछ’, उनले अगाडि भने, ‘यो फिल्म सुपरडुपर हिट भए पनि मलाई ‘क्याप्टेन २’ बनाउन आँट भने आउँदैन होला ।’
filmykhabar