दयाहाङ भन्छन्, ‘मैले सक्ने कथा भेटे फिल्म निर्देशन गर्छु’



पोखरा, ४ पौष ।

अभिनेता दयाहाङ राई गत वर्षसम्म महिनैपिच्छे पर्दामा देखिरहे । केही फिल्म राम्रै पनि चले भने केहीले निर्माताको विल्लीबाठ बनायो । हातमा आएका फिल्म कुनै नछोड्दा उनी पैसामुखी भएको आरोपबाट पनि खेदिरहेका छन् । यसबाट अझै उनले छुटकारा पाउने छाँटकाट देखिएको छैन । 

भूमिका दमदार भन्दा पनि हातमा आएका फिल्म छाडे पाप लाग्ने सोचाइले उनको करिअर अहिले न यता न उताको स्थितिमा छ । यही कारण उनको स्टारडम विस्तारै कमजोर हुँदै गएको छ । उनले यस वर्षबाट फिल्मको संख्यामा कमी गर्ने पटक-पटक बोलेका थिए । तर, त्यो उनको बोलीमा मात्रै सीमित देखिएको छ ।

 

‘साइँली’, ‘जात्रै जात्रा’, ‘आप्पा’, ‘दयारानी’, ‘निरफूल’ उनका प्रदर्शनमा आउन बाँकी फिल्म हुन् भने उनले नयाँ चार फिल्म साइन गरिसकेका छन् । यसरी हेर्दा यस वर्ष र अर्को वर्ष उनका फिल्म हलमा लगातार आइरहनेछन् । पछिल्लो फिल्म ‘भैर’ पछि उनका कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । यस वर्ष उनको ‘साइँली’ र ‘जात्रै जात्रा’ रिलिज हुँदैछ । 

दर्जन बढी नाटक निर्देशन गरिसकेका उनले फिल्म निर्देशन गर्ने कुरा चल्न थालेको पनि लामै समय भइसकेको छ । तर, उनले सही समय र सोचे जस्तो कथा भेटेपछि मात्र फिल्म निर्देशन गर्ने बताउँदै आएका छन् । अब भने उनी आफैंले लेखेको कथामा फिल्म निर्देशन गर्ने तयारीमा रहेको बताइएको छ । 

 

फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, निर्माता राजकुमार राईसँग सहकार्य गरेर उनले फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । यस विषयमा फिल्म ‘दयारानी’ को कार्यक्रममा दयाहाङले भने, ‘फिल्म निर्देशन त गर्छु तर कहिले गर्छु मलाई नै थाहा छैन ।’ उनले राजकुमार राईसँग मिलेर फिल्म बनाउन लागेको कुरा भने खोल्न चाहेनन् । 

उनी आफूलाई पहिलादेखि नै कलाकारभन्दा निर्देशक बन्ने सोच रहेको बताउँछन् । उनी थप्छन्, ‘सायद ममा निर्देशकभन्दा कलाकार बन्ने क्षमता रहेछ कि भन्ने लाग्छ । तर, मलाई बेला बेलामा निर्देशन गर्छु भन्ने मनमा हुटहुटी भइरहन्छ । मैले निर्देशन गर्न सक्ने कथा भेटेँ भने पक्कै गर्छु ।’

 

filmykhabar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja