अनमोलजी, बडिगार्ड सो-अप कि आवश्यकता ?



पोखरा, १८ मंसिर ।

कसैलाई बडिगार्डको आवश्यकता किन पर्छ ? पक्कै पनि सुरक्षाका लागि । सुरक्षा चुनौती भएका व्यक्तिहरु नै प्रायः बडिगार्ड साथमा लिएर हिँड्ने गर्दछन् । विशेषगरि उद्योगपति तथा प्रख्यात व्यक्तिहरुलाई बडिगार्डको विचमा देख्ने गरिन्छ । यो भीडमा सेलिब्रेटी पनि अट्छन् । संसारमा धेरै यस्ता सेलिब्रेटी छन्, जसले पर्सनल बडिगार्ड राखेका छन् । 

हलिउड-बलिउडमा नाम चलेका अधिकांश सेलिब्रेटीले आफ्नो अगाडि-पछाडि दर्जन बढी बडिगार्ड लिएर हिँड्ने गर्दछन् । कहिले फ्यानको भीडबाट जोगिन त कहिले धम्कीका कारण पनि । बलिउडकै कुरा गर्ने हो भने सलमान खान, शाहरुख खान र आमिर खानले बडिगार्डका लागि मात्र महिनामा करोडौं पारिश्रमिक छुट्याउने गरेका छन् । सुरक्षाको दृष्टिकोणले उनीहरुलाई बडिगार्ड आवश्यकता पनि छ । 

नेपालमा शिर्ष नेताबाहेक अरुले बडिगार्ड लिएर हिँड्ने गरेको खासै सुन्न पाइँदैन । तर, सेलिब्रेटीले भने बडिगार्ड लिएर हिँड्न थालिसकेका छन् । यसको सुरुवात अभिनेता अनमोल केसीले गरेका थिए । ‘ड्रिम्स’ रिलिजको बेला दर्शक भेट्न हलमा बडिगार्ड लिएर पुगेपछि धेरैलाई यो अनौठो लाग्यो । नलागोस् पनि कसरी ? यसअघि कुनै कलाकारले बडिगार्ड लिएर हिँडेका थिएनन् । 

पाएको पारिश्रमिकले महिना धान्न गाह्रो हुन्छ बडिगार्ड पाल्न कलाकारले कसरी सकुँन ! दर्शकको भीडमा जाँदा मात्र बडिगार्डको आवश्यकता महशुस हुने हो, त्यो पनि चलेका कलाकारलाई । नभए अहिलेको अवस्थामा कुनै नेपाली कलाकारलाई सुरक्षाकै लागि बडिगार्ड लिएर हिँड्नु पर्ने देखिएको छैन । फ्यानको भीडमा जाँदा आवश्यकता हुनसक्छ तर अन्य बेला सो-अप भन्दा बढी होला र ?

अभिनेता प्रदीप खड्काले फिल्म ‘लिलिबिली’ को घोषणा सभामा बडिगार्ड लिएर ईन्ट्री गरेपछि चर्को आलोचना भएको थियो । यसपछि उनी बडिगार्डको नाम पनि सुन्न चाहँदैनन् । अनमोलले लिएर हिँड्दा आलोचना नहुने तर मैले लिँएर हिँड्दा किन ? सायद प्रदीप यही सोच्दा हुन् । तर, अब अनमोलको पनि आलोचन हुन थालेको छ । उनी हलमा जाँदा मात्र होइन अब पत्रकार सम्मेलनमा पुग्दा पनि बडिगार्डसँग पुग्ने गर्छन् । 

केही महिना अगाडि राजधानीमा आयोजित ‘अनमोल इभ’ को पत्रकार सम्मेलनमा उनी अगाडि-पछाडि बडिगार्डको साथमा पुगेका थिए । पत्रकारसँग उनलाई असुरक्षा महशुस भएको हो ? बहस पत्रकारविच नै भएको थियो । शनिबार राजधानीमा भएको ‘कामना अवार्ड’ मा पनि उनी बडिगार्डको घेरामा देखिए । तर, त्यहाँ उनलाई हेर्नकै लागि पुगेका फ्यानको थेगिनसक्नु भीड थिएन, अधिकांश त सेलिब्रेटी नै थिए । 

बरु, उनका प्रतिस्पर्धी अभिनेता मानिने प्रदीप लुखुर-लुखुर एक्लै पुगेका थिए । बडिगार्डको सुरक्षाका विच रातो कारबाट गजबको हेयर स्टाइलमा अनमोलले गरेको ईन्ट्री धमाकेदार थियो तर बडिगार्ड अगाडि-पछाडि दौडाएर पुग्नुको कारण भने कसैले बुझ्न सकेनन् । न त त्यहाँ उनीसँग फोटो खिच्न मरिहत्ते नै गर्ने खासै देखिएका थिए, जसरी हलमा देख्ने गरिन्छ । अहिले उनले बडिगार्ड मात्र होइन साथमा म्यानेजर समेत लिएर हिँड्ने गरेका छन् । अनमोल अहिलेका चलेका अभिनेता हुन् । उनको लोभलाग्दो क्रेज छ । उनलाई फिल्ममा लिन निर्माता/निर्देशकविच तँछाड-मछाड चल्ने गर्छ । शहरिया युवापुस्तामा उनी राम्रोसँग परिचित छन् । तर, पत्रकार सम्मेलन र अवार्ड कार्यक्रममा बडिगार्ड लिएर हिँड्नु आवश्यकता कम, सो-अप बढी देखिन्छ । कतै अनमोल अभिनयमा कम, बडिगार्ड लिएर हिँड्ने मामलामा सबैभन्दा अगाडि हुन खोजेका त होइनन् ? 

अभिनय गरेका पाँच फिल्म प्रदर्शनमा आइसक्दा उनको स्टारडम बलियो भएको छ । तर, अभिनय ? डाइहार्ट फ्यानबाहेक अन्य दर्शक तथा समीक्षकले उनको अभिनय कमजोर रहेको औंल्याउँदै आएका छन् । ‘कृ’ मा वर्षदिन मिहिनेत गरेर कसिलो शरीर बनाए तर अभिनयबाट ‘जस’ पाएनन् । लुक्स र स्टारडमको वाहवाहीमा रमाइरहेका अनमोललाई बडिगार्ड लिएर हिँड्ने सौख अभिनयमा निखारता ल्याउन देखिए सुनमा सुगन्ध हुने थियो कि ? 

गए अवार्ड नभए छैन !

नेपाली फिल्म अवार्डमाथि एउटा आरोप छ, ‘जो गयो, उसैले अवार्ड पायो ।’ हरेक अवार्डमा देखिएको चित्र यही हो । स्टल नै राखेर अवार्ड बिक्री वितरण हुने गरेको आरोपबाट पनि टाढा छैन नेपाली फिल्म अवार्ड । यसले अवार्डको गरिमा त गुमेको छ नै चलचित्रकर्मी र दर्शकमा चासो पनि शुन्य छ । अहिले हरेक वर्ष निजी कम्पनीले दर्जनको आसपासमा अवार्ड गर्ने गरेका छन् । 

तर, कुनै अवार्ड विवादरहित हुन सकेका छैनन् । अचेल अवार्ड समारोहमा पुराना चलचित्रकर्मीहरुको मात्र बढी जमघट हुने गर्दछ । पछिल्ला छिमलका कलाकारहरु अवार्ड पाउने कन्फर्म भएपछि मात्र टुप्लुक्क देखा पर्छन् । अभिनेता अनमोल केसी यसका एक उदाहरण हुन् । 

यस वर्षको पहिलो अवार्ड उनले एनएफडिसीमा ‘कृ’ बाट उचाले । किनकि, कार्यक्रममा उनी उपस्थित थिए । अर्को अवार्ड एलजीमा उनी उपस्थित भएनन् र अवार्ड पनि पाएनन् । शनिबार राजधानीमा आयोजित कामना अवार्डमा उनी पुगे र अवार्ड पनि चुमे । कार्यक्रममा पुग्नु र अवार्ड पाउनु संयोग मात्र हो वा उनलाई अगाडि नै थाहा हुन्छ ? त्यो त रामजाने !

filmykhabar

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja