महामन्त्री थापा द्वारा इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग
पोखरा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इम्बोस्ड प्लेट जडानमा जबरजस्ती नगर्न माग गरेका छन् ।
उनले पूर्वाधार तयार नगरी नागरिकलाई धम्कीको भाषामा जारी गरिएको सूचना खारेज गर्न माग गरेका हुन् ।संसदमा विशेष समयमा बोल्दै थापाले इम्बोस्ड नम्बर प्लेटबारेका व्यवस्थाहरु सच्याउनुपर्नेमा सरकारले सजिलो तर, गलत बाटो लिएको टिप्पणी गरे । गण्डकी र बाग्मती प्रदेशमा साउन १ दखि इम्बोस्ड नम्बर प्लेट नलगाए कारवाही हुने भन्दै शुक्रबार यातायात व्यवस्था विभागले सूचना जारी गरेको थियो ।
मन्त्री थापाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर मंसिरबाटै इम्बोस्ड नम्बर प्लेट जडानको लागि तालिका बनाए पनि अहिलेसम्म सबै यातायात कार्यालयमा काम नै सुरु नभएको बताए । ‘प्लेट जडानको काम सुरु नभएकोमा ताकेता कार्यालयमा गर्ने कि नागरिकलाई तर्साउने ?’ थापाले प्रश्न गरे ।
ठेकदार कम्पनीसँगको सम्झौताअनुसार १६ महनाभित्रै यो जडानको काम टुंग्याइनुपर्ने अवस्था रहेको भन्दै उनले प्लेट जडानको काम नसकिए सरकारले आर्थिक दायित्व बेहोर्नुपर्ने अवस्था रहेको स्मरण गराए ।
‘सरकारले भनेको काम भनेको समयमा नगर्ने, अनि आफूले कमी कमजोरी गरेर नागरिकलाई दुःख सजाय दिने ? थापाले प्रश्न गरे,’अबको १५ महिनामा २५ लाख सवारीमा इम्बोस्ड जोड्ने भनिएको छ, दिनको ५ हजारमा इम्बोस्ड जोड्नुपर्छ, कसरी सम्भव छ, २-३ वटा कार्यालयबाट ?’