देशभर ४१ जिल्लामा बाढीको जोखिम, कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा खतराको संकेत



पोखरा

मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ ।

ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबाट जोगिन आह्वान गरेको छ ।

कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएपछि साइरन बजाइएको महाशाखाले जनाएको छ ।

महाशाखाले विहान जारी गरेको सूचनामा विभिन्न प्रदेशका ४१ जिल्लाका नदी तथा खोला एवं तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च छ ।

बिहीबारसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । ती नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

कहाँ-कहाँ छ जोखिम ?

महाशखाका अनुसार बारा, पर्सा, रौतहट, काठमाडौँ, रसुवा, सिन्धुपाल्चोक, चितवन, नुवाकोट, मकवापुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा,  नवलपरासी, पाल्पा, कपिलवस्तु, सुर्खेत, सल्यान, दार्चुला, अछामसहितका विभिन्न ४१ जिल्लामा बाढी पहिरोको खतरा रहेको छ ।

पहिरोले सडक अवरुद्ध

लगातारको वर्षापछि झरेको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड सोमबार रातिदेखि अवरुद्ध बनेको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने उनले बताए ।

यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ । जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिए ।

उनका अनुसार गए रातिदेखि नै सडक अवरुद्ध भए पनि वर्षा निरन्तर जारी रहेको र पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन ।

वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ । अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए ।

सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन् ।

यसैगरी दक्षिण पर्वतको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन ।

जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरो खस्दा जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ ।

बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । बझाङबाट  धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन्  ।

गए रातिदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

“राजमार्ग खुलाउने विषयमा स्थानीय तह,सडक कार्यालयसंग समन्वय भइरहेको छ”, उनले भने ।

लगातारको वर्षाले सडक पुनः सञ्चालनमा भने समस्या भइरहेको जनाइएको छ । सो स्थानमा यसअघि पनि बेलाबेला खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja