झापामा यो पटक ‘सताक्षी गोल्डकप’ नहुने



पोखरा

कोभिड-१९ को त्रासका कारण झापाको शिवसताक्षीमा हुने ‘सताक्षी गोल्डकप’ यो सिजनमा नहुने भएको छ।

कोभिड र बजेट दुइटै कारण देखाउँदै आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबले चौंथो संस्करणको सताक्षी गोल्डकप यो सिजनमा नहुने जानकारी दिएको हो।

स्थानीय सरकार गठन भएपछि आयोजकको आर्थिक संकट शिवसताक्षी नगरपालिकाले टारिदिने मात्र होइन प्रतियोगिताको अभिभावकत्व पनि ग्रहण गर्ने गरेको थियो।

आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङ भन्छन्, ‘बजेट त जसरी पनि पुग्थ्यो होला तर, कोभिडको त्रासले यो सिजनमा सताक्षी गोल्डकप आयोजना गर्न सकिँदैन।’

प्रत्येक सिजनमा आयोजकले कम्तिमा ६० लाख रुपैयाँको आयव्यय सार्वजनिक गर्दै आएको थियो।

आयोजकलाई राष्ट्रिय खेलकुद परिषदले पनि चिढ्याएको छ। गोल्डकपका लागि दिन्छु भनेको पैसा चन्दा माग्न गएजस्तो गरेर दु:ख दिने गरेको आयोजकको आरोप छ।

‘झापा काठमाडौं पटक पटक धाउँदा पनि राष्ट्रिय खेलकुद परिषदले मोफसलका गोल्डकपलाई लोभ देखाएर दु:ख दिने गरेको छ,’ आयोजक समितिका एक सदस्यले भने, ‘बाख्राका पाठालाई घाँस दिएझैं गरेर राखेपले मोफसलका गोल्डकपलाई लोभ्याउने तर पैसा नदिने गरेको छ। सताक्षी गोल्डकपको तेस्रो संस्करणमा राखेपले दिन्छु भनेको ३ लाख पनि आयोजकले हालसम्म पाएको छैन।’

गोल्डकप नहुने भएपछि आयोजकले बेलैमा तयारी पनि गरेन।

विगत तीन वर्षदेखि बर्सेनि झिलझिले उत्तरको गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा गोल्डकपको तामझाम हुने गरेको थियो।

स्थानीय खेलप्रेमी भन्छन्, ‘कोरोनाले यो वर्ष शून्यमात्र होइन सताक्षी गोल्डकपको न्यास्रो भयो।’

सताक्षी गोल्डकपको पहिलो संस्करणमा नेपाल पुलिसले उपाधि उचालेको थियो। दोस्रो संस्करणमा भने त्रिभुवन आर्मी च्याम्पियन बनेको थियो। तेस्रो संस्करणमा मच्छिन्द्र क्लब काठमाडौंले उपाधि पोल्टामा पारेको थियो।

यस्तै, झापामा हुने अर्को सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप पनि नहुने भएको छ।

झापा गोल्डकपको आयोजकले पनि गोल्डकप नहुनुको मुख्य कारण आर्थिक स्रोतमात्र नभएर कोभिडलाई पनि देखाएका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja