‘पर्यटक तान्दैछ पोखराको काहूँ डाँडा’



पोखरा

न भीडभाडमा जान मिल्ने । न त साथीभाई भेट्न नै मिल्ने । जहाँ गए पनि डराउनुपर्ने अवस्था बनेको छ पोखरामा । केही दिनदेखि दिनहूँ सयौंको संख्यामा संक्रमित थपिएको विवरण पनि आइरहेको छ ।  यसै संक्रमित, उसै संक्रमित ! मन बहलाउनकै लागि काहूँडाँडा उक्लेका मनोजले लामो श्वास फेरे । घरभित्रै गुम्सिएर बस्नुपर्दा उकुसमुकुस भएका मनोज परिवार बोकेर मंगलबार काहूँ डाँडा उक्लिएका थिए । ‘घरदेखि नजिक पनि पर्यो । घरभित्रै बस्दाबस्दा अलि फ्रेस भइन्छ कि भनेर परिवार सबैलाई लिएर आएको,’ मनोजले सुनाए । 

मनोज जस्तै काहूँ पुगेर रिफ्रेस हुन चाउथेकी अमृता रेगामी पनि साथीहरुसँगै काहूँ पुगेकी थिइन् । नजिकै भएर पनि वर्षदिन पछि बल्ल आएकी हुन् रे, उनी । अघिल्लो पटक आउनुभन्दा यो पटक आउँदा काहूँ विशेष लागेको उनले सुनाइन् ।  सिंगै पोखरालाई नजिकबाट हेर्न पनि पाइने । केही वर्ष अघिसम्म राम्रो सम्भाव्यता भए पनि उपेक्षामा परेको गुनासो यहाँका स्थानीयको सुनिन्थ्यो ।

रिफ्रेस हुनकै लागि काहूँ उक्लिनेको अहिले घुँईचो नै छ । काहूँ डाँडामै अवस्थित ‘काहूँ धरहरा’ चैतमा लकडाउन जारी भएसँगै बन्द छ । धरहरा चढेर पोखरा नियाल्न नपाए पनि यहाँ पुग्नेहरुको संख्यामा कमी आएको छैन ।  ‘चैतमा लकडाउन भएपछि प्रहरीहरु नै आएर धरहरामा प्रवेश निषेध गरेका छौं,’ काहूँकोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले सुनाए, ‘पोहोर साल त २५ हजार बढी टिकट बेचेका थियौं । अहिले त कमाई नै छैन । चैतदेखि धरहरा बन्द छ ।’ धरहरा बन्द रहे पनि चैत यता १० हजार बढी पर्यटक काहूँ पुगेको हुन सक्ने उनको अनुमान छ । ‘पहिला पहिला टिकट बेचेको आधारमा कति गए भन्ने थाहा हुन्थ्यो । अहिले सबै बन्द छ, अहिले कति गए भन्ने केही तथ्यांक पनि राखेका छैनौं,’ उनले भने, ‘८, १० हजार त लकडाउनपछि आएका होलान् ।’

लकडाउनअघि दिउँसोमा मात्र पर्यटक पुग्ने गरे पनि अहिले रातको समयमा पनि पर्यटक पुग्ने गरेको उनले सुनाए । अनुमानभन्दा यो आँकडा बढ्न सक्ने उनको अनुमान छ ।  ०६२ मा पूनर्निर्माणपछि काहूँ घोताने परिवारले संरक्षण गर्दै आएकोमा ०७१ सालमा समिति गठन गरेर संरक्षण हुँदै आएको छ । अहिले काहूँमा शौचालय निर्माण र थप व्यवस्थापनका काम हुँदैछ । लकडाउनका कारण काम केहीपछि धकेलिए पनि अन्तिम चरणमा पुगेको अध्यक्ष गुरुङले सुनाए । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको २५ लाख रुपैयाँ र ४ लाख ४० हजार जन श्रमदानबाट अहिले मन्दिर र धरहरा व्यवस्थित पार्ने काम भई रहेको छ । 

काहूँमा विशाल बुद्ध मण्डला बन्दै 

काहूँ डाडाँमा थप अर्को पर्यटकीय गन्तव्य पनि थपिँदै छ । ५ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको भिमकाय बुद्ध मण्डला काहूँ डाँडामा बन्ने छ ।  योसँगै काहूँमा पर्यटकको आकर्षण बढ्ने अनुमान गरिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका साथै विभिन्न दातृ निकायबाट प्राप्त सहयोगबाट उक्त बुद्ध मण्डला बन्दै छ । 

काहँमा बन्दै गरेको यो विशाल बुद्ध मण्डला पञ्चवर्षीय योजना हो । प्रदेश सरकारले गएका दुई आर्थिक वर्षमा २०, २० लाखका दरले ४० लाख रुपैयाँ अनुदान दिइसकेको छ । ‘२० प्रतिशत आयोजना सञ्चालन गर्ने संस्थाको अरु बाँकी २० लाख प्रदेश सरकारबाट अनुदानबाट रिटेनिङ वालको काम भएको छ,’ धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका सदस्य प्रेम लामाले भने, ‘२५ लाख रुपैयाँको अघिल्लो वर्ष काम भएको थियो ।’ यो वर्ष प्रदेश सरकारबाट २५ लाख र पोखरा महानगरपालिकाबाट साझेदारीमा ३२ लाख रुपैयाँ विनियोजन भएको उनले सुनाए ।

लुम्बिनीपछि बौद्ध धर्मावलम्बीको मुख्य आकर्षणको केन्द्रबिन्दु नेपालमा नभएको हुनाले पनि थप अर्को गन्तव्य विस्तार गर्ने योजनाअनुसार यो काम अघि सारिएको उनले सुनाए । मण्डलामा ५६ फिट अग्लो बुद्धको मूर्ति स्थापना गर्ने गुरुयोजना निर्माण समितिको छ । यद्यपि, निमार्णाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कारणले सो मूर्तिको उचाई कम पनि हुन सक्ने छ । ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एउटा वे यहिबाट पनि पर्ने भएको हुनाले के गर्ने भन्ने विषयमा विमानस्थलसँग समन्वय हुँदै छ,’ उनले भने, ‘मूर्तिको उचाईले केही बाधा नपुर्यायो भने ५६ फिट अग्लो नै मूर्ति स्थापना गरिएला । अहिले छलफल भई रहेको छ । त्यसैले गर्दा पनि काममा ढिलाई भएको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja