भन्दा भन्दा थाकिसक्यौ, अब सडक संघर्षको विकल्प छैन् – डा. महत



पोखरा

नेपाली कांग्रेसले तपाईको नेतृत्वमा कोरोना भाइरस सम्बन्धी अनुगमन समिति गठन गरेको छ । तपाईको दृष्टिमा सरकारले कसरी काम गरिरहेको पाउँनु भएको छ ?

– सरकार कसरी प्रस्तुत भइरहेको छ भनेर सम्पूर्ण जनताले देखेकै छन् । प्रधानमन्त्रीले संसदमा जसरी अभिव्यक्ति दिनु भयो, त्यसैले स्पष्ट हुन्छ कि, यो सरकार कति जिम्मेवार छ भन्ने कुरा । हाच्छिउ गरेर, बेसार खाएर कोरोना जान्छ भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीले संसदमै दिनु दुर्भाग्यपूर्ण छ । अहिलेसम्म कोभिड – १९ को उपचार छैन । प्रधानमन्त्रीको अभिव्यक्तिले संक्रमण भोलीका दिनमा अझ बढेर जाने र नेपाली जनताले थप कष्ट भोग्नु पर्ने स्पष्टै देखियो ।

सरकारले कोभिड – १९ को महामारी नियन्त्रणका लागि गरेको प्रयास सन्तोषजनक छैन् ?

– हामीले यसलाई निहालेर हेर्ने हो भने सरकारी प्रयास दयनिय छ । समितिले देशव्यापी रुपमा बुझ्ने र अन्तक्रिया गर्ने काम गरेको छ । कोभिडि १९ को कारण जनता अत्यन्त आतंकित छन् । कुन बेला के हुने हो भन्ने त्रास छ । उपचार र रोकथामको कुनै व्यवस्था छैन् । भगवान भरोसाको अवस्था छ । झण्डै तिन महिनाको लकडाउनमा सरकारले कुनै तयारी गरेको देखिएन । समय जति आन्तरिक सत्ता संघर्षमा बितायो । जनताको समस्या कम्युनिष्ट पार्टीका लागि कुनै मुद्धा नै रहेन । नेकपा भित्रको अन्य नेताहरुमा पनि सत्ता संघर्षको मोह मात्रै देखियो । जनताको पिरमर्का र समस्या प्रति नेकपाका नेताहरु गम्भिर देखिएनन । सरकारका गलत क्रियाकलाप र कमजोरी विरुद्ध सत्तारुढ दलका नेताहरु पनि बोलेनन् । भ्रष्टाचार विरुद्ध पनि पार्टी बोलेन । सरकारले त जनतालाई निराश बनायो नै समग्र कम्युनिष्ट पार्टीले नै जनतालाई निराश बनायो ।

सरकार र नेकपाको यो व्यवहारले त जनता झनै समस्यामा पर्ने भए नि ?

– सरकार पाँच वर्षका लागि निर्वाचित भएको छ । समय अझै बाँकी छ । तर सरकारले खासै आफ्नो समस्या समाधान गर्ने चासो पनि देखाएको छैन । चासो नदिएपछि निराशा छाउने नै भयो । भारत र अन्य मुलुकबाट लाखौं मानिसहरु फर्किएका छन् । रोजगारी गुमेको छ । उनीहरुले कमाएर बचाएको थोरै रकमबाट गाउँमा मानिसहरुको जीवन धानिएको अवस्था थियो । अब उनीहरु पनि घर फर्किएका छन् । आम्दानीको स्रोत पनि बन्द भएको अवस्था छ । यसले खाद्यान्न र आर्थिक संकट ठुलो चुनौति खडा भएको छ । वर्ष दिनलाई खान पुग्ने खाद्यान्न दुई महिनामा नै सकिने अवस्था छ । गाउँमा मात्र नभएर शहर बजारमा पनि अवस्था गम्भिर बन्दै गइरहेको छ । तर सरकार भने अर्कै दुनियाँमा छ । प्रधानमन्त्री संसदमा जसरी प्रस्तुत हुनु भयो, त्यसैबाट सरकारको अवस्था थाहा हुन्छ । जनताप्रति सरकारको चासो, चिन्ता, सम्बेदनशिलता पटक्कै देखिएको छैन् ।

यहि विचमा बजेट प्रस्तुत भयो । बजेटमा त अनेक विकासका कुराहरु आएका छन् नि ?

– अर्थमन्त्रीले साधारण खर्च धान्न सक्ने पनि राजश्व छैन भनेर सार्वजनिक रुपमै भन्नु भएको छ । उहाँले कुन पैसाले पानी जहाज र रेलको कुरा गर्नु भएको हो, मैले बुझ्न सकेको छै्रन । अहिलेको प्राथमिकतामा नै नपरेको कुराहरु बजेट विनियोजन गर्नु भनेको आफ्नो पार्टी पंक्तिलाई रिझाउन मात्रै हो भन्ने प्रष्ट देखिन्छ । विभिन्न नियुक्ति र सुविधा बढाइएको छ । सांसद विकास कोष यथावत राखिएको छ । अनावश्यक संरचनाहरु कटौति गरिएको छैन् । प्रजातान्त्रिक पद्धतिबाट आएका सरकारहरु मध्ये सात सालको परिर्वतन पछि पञ्चायतलाई छाड्ने हो भने इतिहासकै असम्बेदनशिल सरकारका रुपमा यो सरकार देखा परेको छ ।

विपक्षी दल नेपाली कांग्रेसले विभिन्न समयमा सरकारलाई सुझावहरु दिएको छ । सरकारले विपक्षी दलको सुझाव सुनेन ?

– पटक्कै सुनेन । हामीले भारतबाट नेपाल आउने नागरिकलाई सुरक्षित ढंगबाट प्रवेश दिउ भन्यौ । तर सरकारले सुनेन । सुरुमा भारतबाट आएकाहरु संक्रमित भएका थिएनन । भारतमा नै त्यतिबेला संक्रमण फैलिएको थिएन । उनीहरुलाई छेक्दा संक्रमण फैलिन पुग्यो । नेपाल आइसकेपछि पनि उनीहरुलाई छुट्याएर परिक्षण गर्ने र मापदण्ड अनुसारको क्वारेन्टीनमा राख्ने काम भएन । संक्रमणका कारण आर्थिक र सामाजिक क्षेत्रमा परेको असरको सामना गर्ने र संक्रमण नै नियन्त्रण गर्ने दुई वटै काममा सरकार असफल भएको छ । अझ भनौं प्रयास नै गरेको छैन् ।

स्वास्थ्य सामग्री लगायतका खरिदमा पनि भ्रष्टाचारका काण्डहरु भए । यसलाई कसरी लिनु भएको छ ?

– पहिलो चरणमा स्वास्थ्य सामग्री लगायतका खरिदमा भएको भ्रष्टाचारलाई टालटुल गरियो । भ्रष्टाचारमा संलग्नहरुलाई कुनै छानविन र कारबाही नै भएन । पछिल्लो पटक सेनालाई ढाल बनाएरु जी टु जी को नाममा रक्षा मन्त्रालयले ताण्डव देखायो । त्यसको आसय पनि भ्रष्टाचार गर्नु नै हो ।

स्वास्थ्य क्षेत्रमा अनुभव र विज्ञता भएकालाई दिइएन । अर्थतन्त्र अर्थ हेर्ने विज्ञले हेर्नु पर्ने, स्वास्थ्य क्षेत्र स्वास्थ्य क्षेत्रका विज्ञले हेर्नु पर्नेमा त्यसो गरिएन । यसको मतलव संकटको महामारीमा पनि सरकारको ध्यान भ्रष्टाचार गर्नमा नै केन्द्रीत भएको देखिन्छ ।

यी सारा समस्या र वेथिति प्रति कांग्रेसको दृष्टिकोण र भूमिका कस्तो रह्यो ?

– सुरुमा सरकारले एकद्धार प्रणालीबाट गर्छु भन्यो, हामीले ठिकै छ गर्नुस भन्यौ । हामीले सरकारी कोषमा ५० लाख जम्मा पनि ग¥यौं । कुनै कम्युनिष्ट पार्टीले कोषमा रकम जम्मा गरेनन । उहाँहरु पार्टी भनेको सरकार र सरकार भनेको पार्टी भने जस्तो गरी अघि बढ्नु भयो । कांग्रेसका साथीहरुले देशभरी सहयोग गर्न खोज्दा पनि अवरोध गरियो ।

दश अर्व खर्च भएको भनियो, त्यसमा पनि व्यापक अनियमितता भयो । सरकारमा इमान र सर्मपण देखिएन । काम गर्ने तरिका त झनै भएन । हामी अझै पनि सरकार सुध्रियोस र ठिक बाटोमा हिडोस् भन्ने चाहन्छौं ।

अब कांग्रेस प्रतिपक्षि दलका रुपमा के गर्छ ?

– हामी सरकारलाई भन्दा भन्दा थाकि सक्यौ । संसद र बाहिर पनि निरन्तर खवरदारी गरेका छौं । जिल्लाबाट र केन्द्रमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका छौं । अब सरकार सुध्रिने सम्भावना देखिदैन । अब यी कुराहरु लिएर संसदमा मात्र होइन सडकमा पनि उत्रिनु पर्ने अवस्था आएको छ । संक्रमणको जोखिमलाई ख्याल गरेर सामाजिक दुरी र सुरक्षा अवलम्बन गरेर सडकमै जानु पर्ने परिस्थिती निर्माण भएको छ । संक्रमणको बहानामा जनताको आवाजलाई थुनेर राख्न मिल्दैन ।

संक्रमण नियन्त्रणमा कांग्रेसको भूमिका के हुन्छ ?

– हामी सत्तामा छैनौ । त्यस हिसावले हामीसंग बजेट हुने कुरा भएन । तर पनि पार्टीका साथीहरुबाट जे सम्भव हुन्छ, आफुले भ्याएसम्म गरिरहेका छौं । संकटमा भएकाहरुलाई राहत दिएका छौं । संक्रमण विरुद्ध सचेतना फैलाउन पनि पार्टी सक्रिय भएर लागेको छ । केन्द्रदेखी स्थानिय तहका पार्टीका नेता , कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु सबै कोरोना नियन्त्रणको अभियानमा लागि रहेका छन् । हाम्रा साथीहरुले जनमुखी भएर भेदभाव नगरी सबैलाई सहयोग पु¥याइरहेका छन् ।

संक्रमण नियन्त्रण गर्न सरकारले के काम गर्नु पर्ने देख्नु हुन्छ ?

– हामीले बुदाँगत रुपमा नै सरकारलाई सुझाव दिएका छौं । परिक्षणको संख्या बढाउनु प¥यो, क्वारेन्टीनलाई व्यवस्थीत गर्नु प¥यो । जनताको आर्थिक संकट प्रति गम्भिर हुन प¥यो । पानी जहाज र रेलका कुरा छाडेर बजेटको मोडालिटि परिर्वतन गर्नुपर्छ । संसारभरीका बजेटका मोडालिटि फेरिएका छन् । जीवन नै संकटमा भएको बेला हाम्रो ध्यान स्वास्थ्य र जीवनयापनमा केन्द्रीत हुनुपर्छ ।

कोहि पनि भोकै मर्ने अवस्था बनाउनु भएन । विदेशमा अलपत्र परेकाहरु जिम्मेवार बन्नु प¥यो । उनीहरुलाई बैदेशिक रोजगार कोष प्रयोग गरेर स्वदेश ल्याउनु प¥यो । कामका लागि खाद्यान्न जस्ता कार्यक्रम ल्याउनु प¥यो । लकडाउन आवश्यक नभएका ठाउँमा साना तथा मझौला उद्योग खोल्न दिएर रोजगारी बढाउनु प¥यो । त्यस्ता उद्योगलाई राहतको आर्थिक प्याकेज उपलब्ध गराउनु पर्छ ।

कृषि क्षेत्रलाई विकास गर्नु पर्दछ । कृषि उत्पादन बढाउनु पर्दछ । रेमिटेन्स पच्चिस प्रतिशतले घटेको छ । पर्यटन व्यवसाय २०२३ सम्म सामान्य अवस्थामा नफर्किने भनेर अन्तराष्ट्रिय अध्ययनले नै भनेको छ । विदेशी मुद्राको अभाव हुने पक्का छ । त्यसको क्षतिपूर्ति गर्न आयात घटाउनु पर्दछ । कृषि उत्पादन बढाउने, पेट्रोलियम पदार्थको खपत घटाएर विद्युत उपभोगमा प्रोत्साहन गर्ने जस्ता कार्यक्रम ल्याउनु पर्दछ । ग्रिन इकोनोमीलाई बढाउनु पर्दछ ।

एउटा फरक प्रशंग, अहिले कोभिड– १९ को महामारी छ । पार्टीको महाधिवेशन कहिले र कसरी होला ?

– यो विषय पार्टीका नेताहरु विच पनि बैठकमा उठेको थियो । पार्टी सभापति शेरबहादुर देउवा कुनै पनि हिसावले कार्यकाल लम्बाउने विचारमा हुनुहुन्न । उहाँले यो कुरा स्पष्ट भन्नु पनि भएको छ । सम्भव छ भने उहाँ फागुन मै महाधिवेशन गर्न तयार हुनुहुन्छ । तर कार्य तालिका प्रभावित भएको छ । संक्रमण नाटकिय ढंगबाट घट्ने अवस्था देखिदैन । पार्टी नेतृत्व बसेर समग्र मुल्यांकन गरेर निष्कर्षको आधारमा महाधिवेशन हुन्छ । जहाँसम्म पार्टी सभापति र अन्य पदाधिकारीको कुरा छ, कार्यकाल बढाउ भन्ने मनसाय छैन् । सामुहिक निष्र्कषबाट अघि बढ्ने हो ।

Rastrapukar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja