श्रीमान सुशीला कार्कीको पुस्तक ”न्याय”




  • श्रीमान सुशीला कार्कीको पुस्तक “न्याय“को पुस्तक समीक्षा नेपाली कांग्रेस कास्की नेता अमृत श्रेष्ठद्धारा समीक्षा गरिएको सार यहाँ समावेश गरिएको छ


श्रीमान सुशीला कार्कीको पुस्तक “न्याय“ केवल कानुनी यात्राको अनुभब मात्र नभई राजनीति र साहित्यीक ज्ञानको भण्डार सहितको आत्म कथाको दस्ताबेज हो । बिद्यार्थी काल जहाज देखि नै राजनीति मार्फत समाज सेवामा समर्पित हुने त्यो संकल्प, प्रतिबन्धित अवस्थामा हरेक आन्दोलन र मोर्चाहरुमा प्रजातान्त्रको लागि समर्पित ति क्षणहरु अनुज पुस्ताको लागि प्रेरणादायी छ। कोईराला परिवार वाट पाएको छोरीको उपमा, बीपी ले माया गर्ने सानी सुशीला कांग्रेसका निर्वासित नेता देखि पुस्पलाल सम्म को भेटघाट र संगतले झनै उर्जासिल भएको देखिन्छ।

समाजसेवाको माध्ययम राजनीति भन्दा अरुपनि हुनसक्छ भन्ने चेत त्यति बेला खुल्यो जतिबेला उहाँलाई बीपी कोईराला स्वयंले पञ्चायत निकट देख्नुभयो र पुरै निषेध गर्नुभयो। तर यो आरोप सत्य थिएन, त्यसो त पुस्तक मै पनि उल्लेख छ कि उतिबेलाका उदयीमान युवा नेता राम र लक्ष्मण (बिराटनगर जेल तोडेर बनारस आए) लाई पनि सोहि आरोपमा शंका गरियो। आफु प्रजातान्त्रवादी नै भएको पुष्ठि गर्न कांग्रेसले थालनी गरेको (२०३० ( २०३१) शसस्त्र बिद्रोह जसलाई क्याप्टेन यज्ञबहादुर थापाले नेतृत्व गर्नुभएको थियो सोहि बिद्रोहमा होमिदै सोलुखुम्बुको टिमुरबोटे काण्डमा राम र लक्षमण सहित १३ जनाले सहादत प्राप्त गर्न पर्याे, भने क्याप्टेन यज्ञबहादर थापालाई गिरफ्तार पछि हत्या गरियो। यि सबै परिघटनाले के बताउछ भने जति सुकै ठुला राजनेता भएपनि कतिपय अवस्थामा गलत मान्छे र गलत सुचनाबाट प्रभावित हुन्छन्।

पंञ्चायत बिरुद्धमा चक्र बांस्तोला, बसन्त भट्टराई र महेश कर्मचा संगै जहाज अपहरणको ईतिहास बनाएका दुर्गा सुबेदीसंग बिबाह हुनु, बिबाह लगत्तै २०४६ सालको आन्दोलनमा आफु जेल पर्नु र खसम परवासमा बेखबर हुनुले सामाजिक र राजनीतिक जिवनको कठिनाई बुझ्न सकिन्छ।

वकालत जिवनमै रमाउनु भएकी उच्च महत्वाकांक्षा नराख्दा नरख्दै पनि न्यायधीश हुंदै नेपालकै पहिलो महिला प्रधान न्यायाधीश हुँदा सम्मको यात्रा भने निकै संघर्षपुर्ण र रोमाञ्चक पनि लाग्दछ। आफु न्यायाधीश र प्रधान न्यायाधीश हुदा देशै भरि चर्चामा आएका महत्वपुर्ण फैसलाहरु लिपिवद्ध गरि पाठक समक्ष प्रस्तुत गर्नुभएको छ। जस्तै सर्वाेच्चमा ११ जना न्यायाधीशहरुको नियुक्ति, गुप्ताको भ्रस्टाचारको मुद्दा, सुडान घोटाला काण्ड, लोकमान कार्कीको मुद्दा, आई जि पी नियुक्तिमा सिलवालको मुद्दा, पुर्ब राजा ज्ञानेन्द्र शाहको छोरीको दाईजो सम्वन्धी मुद्दा र आफै बिरुद्ध दर्ताभएको महाअभियोग आदि।

सर्वाेच्चमा न्यायाधीश भएकै बेला एकदिन लेखिकाको कोट डेरामै छुट्यो, अर्का न्यायाधीश रणबहादुर बमको कोट एक दिनलाई सापटी मिल्यो भोलि पल्ट बिदा पर्याे पर्सि त न्यायाधीश रणबहादुर बमको गोली हानि हत्या गरियो। कोट फिर्ता गर्ने अब्सर नै मिलेन “ छुटेको कोट “ उप शिर्षकले पाठकलाई भाबुक बनाउछ।

न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले सर्वाेच्च अदालतमा ११ जना योग्य र काविल न्यायाधीशहरु नियुक्ति गरेको उल्लेख गरिएको छ तर पनि तत्कालिन समयमा राजनीतिक भाग बण्डाको आधारमा न्यायाधीशहरु नियुक्ति भएको भनेर निकै नै बिवाद भएको थियो। केहि न्यायाधीशहरु नियुक्ति पाएको भोलिपल्ट एमाले पार्टी कार्यालय बल्खु पुगेर अबिर लगाएको घटनालाई पुस्तकमा कतै उल्लेख नै नगरी दरपीठ गरिएको छ। एमालेको तर्फबाट संबिधानसभा सदस्य बन्नुभएकी सपना मल्ल प्रधान पनि तिनै ११ जना भित्र सर्वाेच्चको न्यायधीश नियुक्त हुनुभएको थियो। जुन धेरैनै बिवादास्पद पनि बन्यो। एमाले जस्तो कन्जर्भेटिप पार्टी जसले सामान्य सेवा र सहयोगमा पनि आफ्नो पार्टीको सदस्यता लिन लगाउदछ, बिवाद हुनु स्वभाबिकै थियो भलै सपना मल्ल प्रधान योग्यता र क्षमताले पुर्ण हुनुहुन्छ र सम्मानको लायक पनि।

त्यस्तै अर्काे पेचिलो बिषय सुडान घोटाला काण्ड पनि सबिस्तार ब्याख्या गर्नुभएको छ तर अचम्म लाग्ने बिषय ३ जना पुर्ब आई जि पी हरु दोशी ठहर हुदै जेल पर्दा यतिठुलो घोटालामा तत्कालिन गृहमन्त्रीहरु भिम रावल (एमाले), कृष्ण प्रसाद सिटौला (कांग्रेस) र कृष्ण बहादुर महरा (माओवादी) सहित गृह सचिबहरु बेखबर नै थिए त? राजनीतिक संरक्षण बिना यो सम्भब भयो होला? हुनत लेखिकाले घुमाउरो भाषामा राजनीतिक दलका नेताहरुमाथी छानबिन नै नभएको उल्लेख गर्नुभएको छ। तर पनि यस मुद्दामा श्रीमानको बेन्च राजनीतिक प्रभावमा परेको आशंका हुन्छ।

जयबहादुर चन्दको आई जि पी मा नियुक्ति पछि नवराज सिलवालले गरेको बिद्रोहका सम्बन्धमा कानुनत जसरी ब्याख्या गरिए पनि प्रहरी नियमावलीमा प्रष्ट भनिएको छ कि एआइजी मध्यबाट “ नेपाल सरकारले उपर्युक्त देखेको “ उम्मेदवारलाई प्रहरी महानिरिक्षक (आइजिपी)मा बढुवा गर्न सक्ने छ। यस मुद्दामा शेर बहादुर देउवा र प्रचण्ड संग श्रीमानको जुंगाको लडाई प्रकट भएको आभास हुन्छ। न्यायपालिका माथि कार्यपालिकाको हस्तक्षेपको कोसिस धेरै हुने अनुभब गर्नुभएकी लेखिकाले यो मुद्दामा कार्यपालिकाको अधिकारमाथि अंकुश त लगाउनुभयो नै सिलवालको अराजक र उदण्ड प्रवृत्ति बदर नगर्दा गलत नजिर बसेको आभास हुन्छ।

यस्तै अर्काे मुद्दा पुर्ब राजा ज्ञानेन्द्र शाहको छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले दाईजो बापत पाएको काठमाण्डौ(१५, ताहचल स्थित १५ रोपनी १ आना क्षेत्रफल भित्रको घर जग्गा सम्बन्धि मुद्दामा तत्कालीन प्रधान न्यायाधिष राम कुमार प्रसाद शाह र न्यायाधिष चोलेन्द्र शम्शेर जबराको संयुक्त ईजालसले उक्त जग्गा नेपाल ट्रस्टलाई दिन नमिल्ने निर्णय गर्दै दाईजो कायम गरेको थियो। तर पुनराबलोकन निबेदनको आधारमा उक्त निर्णय उल्ट्याउदै लेखिकाको ईजालसले उक्त घर जग्गा नेपाल ट्रस्टको हकाधिकार र भोगाधिकार कायम हुने आदेश गरेको उल्लेख छ। नेपाल ट्रस्टको सम्पत्ति माथि राजनीतिक दल र सिमित नेताहरुले गरेको अनियमितता र भ्रस्टाचार हेर्दा उक्त आदेश दिक्क लाग्दो देखिन्छ ।
मान्छेलाई जस्तै प्राकृतिक बातावरणलाई पनि न्याय चाहिन्छ -Justice for environment_ भन्ने मान्यतालाई गोदावरी मार्वलको मुद्दामा स्थापित गर्नुभएछ। यसले प्राकृतिक बातावरण संरक्षणमा महत्वपुर्ण नजिर कायम रहने छ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको आड भरोसामा असनको सांडे जस्तो भएर आफ्नो कार्यक्षेत्र भन्दा बाहिर पनि आतंक मच्चाउने लोकमान कार्कीको मुद्दामा स्वयं प्रधानमन्त्रीको प्रत्येक्ष आग्रहलाई पनि बेवास्ता गर्दै सत्य तथ्य र न्यायको पक्षमा उभिने साहस सबैकालागि प्रेरणादायी छ। शासकहरुको आदेश भन्दा संबिधान र कानुनको आवाज सुन्दा फर्जि हस्ताक्षरको प्रयोग गर्दै संसदमा लेखिकाको बिरुद्ध महाअभियोग दर्ता भएको घटनाले पाठकलाई दुखी तुल्याउछ।

पुस्तक अध्ययन पश्चात समग्रमा एउटा बिम्ब भेटिन्छ। नेपालको राजनीतिक क्षेत्रमा कृष्ण प्रसाद भट्टराईको जुन सादगी र निश्कलंक छबिको बिम्ब छ, त्यस्तै न्यायिक क्षेत्रमा सुशीला कार्कीको साधारण जीवन शैली र पारदर्शिताको बिम्ब भेटिन्छ। बिद्यार्थी कालमा सारनाथ बनारसमा प्रदिप गिरीले दिएको उपनाम “हिम्मतवाली“ अबकाश प्राप्त हुदा सम्ममा पनि कायम देखिन्छ। ब्यक्तिका लागि पद अस्थायी हुन्छ किनकि त्यहाँ पात्रहरु फेरिने गर्छन। अनन्तकाल सम्म कायम रहने भनेको ब्यक्तिको छबि र सामाजिक योगदान नै हो। यस पुस्तकले दिएको ज्ञान र सन्देश।

पुस्तक समीक्षाः अमृतश्रेष्ठ नेपाली कांग्रेस कास्की नेता ,………

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja