लकडाउनले औषधिको माग ५० प्रतिशतले घट्यो



पोखरा

मुलुकमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको लकडाउनपछि औषधिको माग घटेको छ ।

सरकारले गरेको लकडाउनपछि औषधिको माग ५० प्रतिशतले घटेको औषधि उत्पादकहरुले बताएका छन् ।

लकडाउनका कारण घरभित्रै बस्ने परिपाटी र यातायातका साधन नचलेका कारण औषधि सेवन गर्ने क्रम घटेको नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष तथा औषधि व्यवसायी दीपकप्रसाद दाहालले बताए।

दाहालका अनुसार बाहिरी वातावरणमा जान नपरेका कारण, प्रदूषण घटेका कारण र रोग नलागेका कारण पनि औषधि सेवन गर्नुपर्ने बाध्यता नभएकाले पनि माग घटेको हुन सक्छ ।

अस्पतालको बहिरंग सेवा बन्द भएका कारण औषधी माग कम भएको हुन सक्ने आंकलन छ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको ।

लकडाउनका कारण अस्पताल जाने बिरामीहरुको संख्या ७५ प्रतिशतले घटेको जानकारी दिँदै नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा. कृष्ण अधिकारिले सेवा लिने २५ प्रतिशतमा अधिकांश स्त्री तथा प्रसुती रोग र आपत्कालिन शल्यक्रिया गर्नेहरू रहेको बताए ।

भारतमा हालसालै भएको एक अनुसन्धानले लकडाउनका कारण अघिल्लो वर्षको अप्रिल महिनाको तुलनामा औषधीको बिक्रि घटेको देखाएको छ ।

सो अनुसन्धानका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको अप्रिल महिनामा एन्टीबायोटिक औषधिको बिक्रि ३८ प्रतिशतले घटेको छ ।

स्त्री तथा प्रसूती रोगसम्बन्धी २५.५, छालासम्बन्धी रोगका २३, पेटसम्बन्धी रोगका १५.८, दुखाई कम गर्ने, २१.६ प्रतिशत औषधीको बिक्रि घटेको अनुसन्धानले देखाएको छ ।

तर नेपालमा लकडाउनपछि पहिलेको तुलनामा यो भन्दा पनि कम औषधीको बिक्रि भएको औषधी व्यावसायी दाहाल बताउँछन् । उनका अनुसार मुटु र मधुमेह जस्ता दीर्घ रोगका औषधी अरु औषधीको तुलनामा केही बढी बिक्रि भइरहेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार माग कम भए पनि औषधी आयातमा भने कमी आएको देखिदैन । १ साउन २०७६ देखि गएको बैशासम्मको १० महिनाको अवधीमा विदेशबाट २३ अर्ब ९६ करोड मुल्य बराबरका औषधीजन्य पदार्थ नेपाल आएको भएको विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको १० महिनाको अवधीमा २५ अर्ब ३१ करोडको औषधी आयात भएको थियो ।

भारतीय भन्सार कार्यालयको तथ्यांक अनुसार गएको मार्च महिनामा भारतबाट ८९ करोड र अप्रिल महिनामा ७६ करोड भारतीय रुपैँयाका तयारी औषधी नोपल आयात भएको थियो ।

विदेशबाट औषधी बनाउन चाहिने कच्चा पदार्थ पर्याप्त आयातमा खासै कमी नदेखिए पनि नेपाली बजारमा माग कम भएका कारण उत्पादन घटेको छ ।

नेपाल औषधी व्यावसायी संघको तथ्यांक अनुसार लकडाउन शुरु भएपछि अन्य समयको तुलनामा २५ देखि ३० प्रतिशत औषधी मात्र उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja