के हुवावेलाई टक्कर दिन अमेरिकाले नोकिया खरिद गर्दैछ ?



पोखरा

चिनियाँ कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण लामो समयदेखि अमेरिका र चीनबीच व्यापार युद्ध जारी छ । फाइभ जी प्रविधिमा विश्वको अग्रणी कम्पनी हुवावेलाई अमेरिकाले आफनो देशमा मात्र प्रतिबन्ध लगाएको छैन, युरोपेली लगायतका आफ्नो पक्षका मुलुकहरूलाई समेत हुवावेमाथि बन्देज लगाउन दबाब दिँदै आएको छ ।

तर फाइभ जी प्रविधिको उपयोगका लागि धेरै मुलुकहरूसँग हुवावेको विकल्प नभएका कारण अमेरिकाले चाहेजस्तो भैरहेको छैन । युरोपेली कम्पनीहरू नोकिया तथा इरिक्सनले समेत फाइभ जी प्रविधिमा हात हालेका भएपनि हुवावेको तुलनामा पछाडि छन् । तथापि यी कम्पनीहरू आफुले खरीद गरी भारी लगानी गरेर फाइभ जी प्रविधिमा हुवावेलाई टक्कर दिने योजना अमेरिकाको रहेको कतिपयको विश्लेषण छ ।

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले समेत सरकारलाई यहीँ सुझाव दिएका छन् । तथापि अमेरिकी सरकारका उपराष्ट्रपति माइक पेन्स र ह्वाइट हाउसका आर्थिक सल्लाहाकारले चाहीँ नोकिया र इरिक्सन कम्पनी खरीद गर्ने महान्यायाधिवक्ताको सुझाव अस्विकार गरेका छन् ।

अमेरिकी टेलिकम कम्पनी भेरिजोन कम्युनिकेसनका पूर्व जेनेरल काउन्सिल समेत रहेका बारले नयाँ पुस्ताको फाइभ जी वायरलेस प्रविधिको क्षेत्रमा हुवावेको प्रभुत्वलाई चुनौति दिनका लागि अमेरिका र यसका सहयोगी मुलुकहरूले फिनिस कम्पनी नोकिया र स्विडिस कम्पनी इरिक्सन खरीद गर्नुपर्ने बताएका थिए ।

ह्वाइटहाउसका आर्थिक सल्लाहाकार ल्यारी कुडलोले नोकिया र इरिक्सनसँग अमेरिकाले निकट भएर काम गरिरहेको र यी कम्पनीका उपकरणहरू फाइभ जी संरचना निर्माणका लागि अत्यावश्यक रहेको बताएका छन् । तर अमेरिका सरकारले कुनै घरेलु वा अन्तराष्ट्रिय कम्पनीहरू खरीद गर्ने व्यवसायिक कारोबार भने नगर्ने उनको भनाइ थियो । नोकिया तथा इरिक्सन जस्ता कम्पनीलाई कुनै अमेरिकी कम्पनीले खरीद गर्न चाहेमा चाहीँ अमेरिका सरकारले नरोक्ने उनको भनाई छ ।

त्यस्तै उपराष्ट्रपति पेन्सले भनेका छन्, ‘महान्यायाधिवक्ताको विचार प्रति सम्मान छ । तर पछिल्ला केही हप्तादेखि अजित पाइले घोषणा गरेका कार्यहरू नै अहिलेका लागि सबैभन्दा उत्तम विकल्प हुन् भन्ने हाम्रो विश्वास छ ।’ फाइभ जी वायरलेसको प्रयोगलाई बढाउनका लागि थप क्षेत्रहरू खुल्ला गर्ने अमेरिकाको संघीय सञ्चार आयोगका अध्यक्ष अजित पाइको कदमप्रति उनको संकेत थियो ।

अमेरिकाले अमेरिकी कम्पनी तथा स्वतन्त्र बजारको क्षमताको उपयोग गरेरै फाइभ जी प्रविधि विस्तार गर्ने उनको भनाइ छ ।

उता अमेरिकाले खरीद गर्ने हल्ला चलेसँगै नोकिया र इरिक्सन कम्पनीको शेयर मूल्यमा बढोत्तरी भएको छ ।

नोकिया र इरिक्सन कम्पनीको कूल बजार मूल्य अहिले ५३ अर्ब डलर रहेको छ ।

अमेरिकी महान्यायाधिवक्ता बारले चाहीँ हुवावेलाई टक्कर दिनका लागि अमेरिका सरकारले आफै वा अमेरिकी वा अन्य साझेदार कम्पनीहरू मार्फत नोकिया र इरिक्सन कम्पनीको शेयरको ठूलो हिस्सा किनेर कम्पनीमा पकड जमाउन सक्ने सम्भावना रहेको बताएका थिए ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja