बाहिरी तडकभडकले मात्रै सफल होला भ्रमण वर्ष ?



पोखरा

बुधवारबाट नेपाल भ्रमण वर्ष २०२० सुरु भयो, जसको लक्ष्य छ २० लाख विदेशी पर्यटक भित्र्याउने । यो लक्ष्य पुरा गर्ने हो भने दैनिक औसत ५ हजार ४ सय ८० पर्यटक आउनुपर्छ । अहिले औसत ३ हजार १३ जना विदेशी पर्यटक आइरहेका छन् ।

विश्वमा धेरै देशहरुले सहजै वर्षेनी करोडौं विदेशी पर्यटक भित्र्याउँछन् । यी देशमध्ये केही भौगोलिक दृष्टिकोणले नेपालभन्दा साना छन् । सबैभन्दा बढी पर्यटक भित्र्याउने देश फ्रान्स हो । त्यहाँ एक वर्षमा झण्डै ९ करोड पर्यटक आउने गरेका छन् ।

पर्यकीय सम्पदाको प्रचुरता भएको नेपालले भने २० लाख पर्यटक भित्र्याउन पनि यति ठूलो कसरत गर्नु परेको छ । अझै पनि शंका छ, आउलान् र २० लाख पर्यटक ? यसको कारण हो, देशका पर्यटकीय पूर्वाधारहरुको अभाव र गन्तव्यहरुको उचित प्रचारप्रसार हुन नसक्नु ।

भ्रमण वर्ष मनाउने क्रममा पनि सरकारको ध्यान पूर्वाधार निर्माण र सुधार भन्दा बाहिरी तडकभडकै केन्द्रित देखिएको छ । करोडौं खर्चेर भड्किलो उद्घाटन कार्यक्रम गरिएको छ । यसरी उद्घाटनमा गरिने खर्च बरु विदेशी अतिथिहरुलाई पर्यटकीयस्थल घुमाउनमा सदुपयोग गरेको भए हुन्थ्यो भन्ने तर्कहरु सामाजिक सञ्जालमा आइरहेका छन् । जे होस, सरकारको अभियानमा आम नागरिकको साथ त छँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयदेखि पर्यटन बोर्ड र पर्यटन वर्षको सचिवालय सबैले भ्रमण वर्षलाई ‘महाअभियान’ बनाएर लागेका छन् । सार्वजनिक बसमा भ्रमण वर्षको स्टिकर टाँस्नेदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालको प्रबर्द्धन गर्नेसम्मका योजना बनेका छन् । विदेश जाने युवालाई भ्रमण वर्षको लोगो भएको टिर्सट र क्याप लगाउन भनिएको छ । निजी क्षेत्रसहित विभिन्न सरोकारवालासँग दिनहुँजसो नै छलफल र अन्तरक्रिया पनि भइरहेकै हुन्छ ।

भ्रमण वर्षलाई सफल बनाउनको लागि यही शैली पर्याप्त छ त ? यसको जवाफ सन् २०२१ जनवरी १ मा तथ्यांकसहित प्राप्त हुनेछ । विगतलाई हेर्ने हो भने सरकारले भ्रमण वर्षको लक्ष्य पुरा गर्न सकेको देखिँदैन । पछिल्लो पटक सन् २०११ मा पर्यटन वर्ष मनाउँदा १० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । तर, त्यो लक्ष्य ७ वर्षपछि सन् २०१८ मा मात्रै भेटियो ।

पर्यटन वर्षका लागि करिब ५ वर्ष पूर्वतयारी गर्‍यो । तर अन्तिम समयमा पनि चटारो सकिएको छैन । भ्रमण वर्ष सुरु हुनुभन्दा १४ महिनाअघि बल्ल भ्रमण वर्ष सचिवालय बनाइयो र उद्योगी तथा व्यवसायी सुरज वैद्यलाई संयोजक तोकियो । ७ महिनासम्म त सचिवालयले सरकारबाट बजेट नै पाएन । गठन हुनासाथ सचिवालयका लागि कर्मचारी त परै जाओस् कार्यालय पनि नदिएपछि संयोजक वैद्यले आफ्नै गोजीबाट पैसा निकालेर कार्यालय तयार गर्नुपर्‍यो । पछि सार्वजनिक खरिद प्रक्रिया नपुर्‍याई कार्यालय बनाइएका कारण त्यही खर्चको पनि भुक्तानीमा समस्या भयो ।

त्यसबीचमा तत्कालीन पर्यटनमनत्री रवीन्द्र अधिकारीको दुखद निधन भयो । तत्काल नयाँ मन्त्री ल्याउन त पहल भएन नै, राज्य मन्त्रीलाई पनि विभागीय अधिकार नदिइएपछि केही महिना पर्यटन मन्त्रालय निदाएजत्तिकै भयो ।

पहिले नेपाल आइसकेका पर्यटकलाई सरकारले कुनै नयाँ गन्तब्य देखाउन सक्दैन । पुराना र चीरपरिचित गन्तब्य नै भ्रमण वर्षको आकर्षणको सूचीमा छन्

पछिल्लो ७ महिना चाँही भ्रमण वर्षको सचिवालयले आधारभूतस्तरको तयारीहरु गरेको छ । त्यसकै भरमा बुधवारबाट भ्रमण वर्ष मनाउन थालिएको छ । यसलाई सफल बनाउन चुनौतिहरुका फेहरिस्त भने लामो नै छ । के-के छन् त भ्रमण वर्षका चुनौति ?

छैन नयाँ प्याकेज

विश्वको अधिकतम् हिस्साले नेपाललाई हिमालको देश भनेर चिन्छ । हिमाल मात्रै हैन, प्राकृतिकदेखि सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको भण्डारका रुपमा रहेको नेपालमा धेरै सम्भावना भएका पर्यटकीय गन्तब्य ओझेलमा छन् ।

सरकारले भ्रमण वर्षलाई लक्षित गरेर त्यस्ता गन्तब्यको प्रवर्द्धनमा काम गर्नुपर्ने थियो । तर, गरेन । नयाँ गन्तब्य प्रवर्द्धन नगरिँदा भ्रमण वर्षलाई बाधा पुग्ने अवस्था छ । पहिले नेपाल आइसकेका पर्यटकलाई सरकारले कुनै नयाँ गन्तब्य देखाउन सक्दैन । पुराना र चीरपरिचित गन्तब्य नै भ्रमण वर्षको आकर्षणको सूचीमा छन् ।

पर्यटन व्यवसायीहरुले आरोहणका लागि सम्भाब्य थप हिमालहरुमा अनुमति खुलाउन पहल गरेको वर्षौं भयो । हाल मुस्किलले ६० वटा हिमाल मात्रै आरोहणका लागि खुला छन् । अध्ययनसहित बाँकी हिमालहरुमा पनि आरोहण पनि खोल्न सकिने भए पनि सरकारको त्यता ध्यान नै पुगेन ।

भ्रमण वर्षका लागि सरकारले नयाँ गन्तब्य मात्रै हैन, पर्यटकका लागि कुनै विशेष अफर पनि गरेन । बरु भ्रमण वर्षको सेरोफेरोमै आएर भीसा शुल्क बढाइएको छ । नयाँ टुरिजम प्रोडक्ट तथा स्किम तयार गर्न न निजी क्षेत्रले चासो दियो न सरकार नै अघि सर्‍यो । त्यसैले भ्रमण वर्ष एक हिसाबले ‘नयाँ बोतलमा पुरानो रक्सी’ झैं बनेको छ ।

कमजोर सडक पूर्वाधार र धुँवाधुलो

काठमाडौंसहित देशका धेरै सडकमार्गको अवस्था दयनीय छ । यस्ता सडकमा यात्रा गर्दा विदेशी पर्यटकलाई मस्ती होला कि सास्ती ? अनि उनीहरूले नेपालको बारेमा कस्तो सन्देश लैजालान् ? यो पक्ष पनि सरकारले नजरअन्दाज गर्दै आएको छ । राजधानीसहित मुख्य शहरमा बढ्दो धुँवा-धुलो र वातावरणीय प्रदुषण पनि पर्यटकको आँखा बिझाउँदैछन् ।

होटल एशोसियसनका पूर्वअध्यक्ष अमरमान शाक्यको भनाइमा पर्यटकको लागि होटल राम्रा भएर मात्रै पुग्दैन, सडक यातायात पनि सुविधाजनक हुनु उत्तिकै महत्वपूर्ण छ । पूर्वाधारहरूको यस्तै हविगत र धूलोमैलोमा सुधार नआउने हो भने आएका पर्यटक पनि बिच्किने उनको भनाइ छ ।

त्रिभुवन विमानस्थलमा ओर्लिएका यात्रु बस्ने होटलसम्म पुग्ने धेरै सडकहरू गतिला छैनन् । नेपाल प्रवेश गर्नासाथै सडकको दूरावस्था देखेका पर्यटकले आफ्नो बसाइ अवधि लम्ब्याउनेमा आशंका छ ।

धेरै पर्यटकीय स्थलसम्म पुग्ने सडकहरुको अवस्था बिजोक छ । काठमाडौंबाहिरका पर्यटकीय स्थलका कुरा छाडौं, विश्वसम्पदा सूचीमा रहेको बौद्ध पुग्ने सडकले नै यो समस्याको सफा चित्र देखाउँछ । विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने भक्तपुरको नगरकोट पुग्ने सडक ७ वर्षदेखि धुलो रहिलोको चपेटामा छ ।

सडकको खाल्डाखुल्डी मात्रै होइन, काठमाडौंमा जामको समस्या पनि भयावह छ । काठमाडौंका मुख्य सडकका चोकमा लाग्ने जामले पर्यटकहरू वाक्क-दिक्क हुने गरेका छन् । यसलाई न्यूनीकरण गर्न पनि सरकारले कुनै योजना बनाएको छैन ।

काठमाडौंमा मात्रै होइन, समस्या नेपाल भित्रिने नाका र त्यहाँबाट काठमाडौं, पोखरा, चितवन र बर्दियासम्म आउने राजमार्गहरुमा पनि छ । भारत र चीनका नेपालसँग जोडिएका नाकाका सडकको हालत नै जीर्ण छ । काठमाडौं भित्रिने नाकाहरूका सडकको पनि हालत खराब छ ।

महंगो हवाई सेवा र कालोसूची

पर्यटन वर्षको अर्को चुनौती हो, हवाई पूर्वाधार । नेपालमा अहिले राष्ट्रिय ध्वाजाबहाक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न देशका हवाई कम्पनीले सेवा दिँदै आएका छन् । यी कम्पनीको सेवा निकै महंगो छ । नेपाल आउने पर्यटकको पहिलो चिन्ता नै हवाई यात्राको चर्को भाडा हुन्छ ।

नेपालसँग हालसम्म एउटै मात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ । जुन, सेवा प्रवाहका हिसावले विश्वकै कमजोर विमानस्थलभित्र पर्छ । पर्यटन वर्ष मनाउँदै गर्दा लक्ष्यअनुसार पर्यटक आए भने यो विमानस्थलमा अझै यात्रुको चाप थपिनेछ । त्यो थपिएको चाप थेग्न सकिने गरी विमानस्थल तयार छ त ? अहिलेको व्यवस्थापनको हालत हेरेरै यसको उत्तर प्राप्त हुन्छ ।

सरकारले यसअघि पटक-पटक भ्रमण वर्ष सुरु हुनु अगावै भैरहवामा निर्माणाधीन गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिसक्ने बताएको थियो । तर, यति महत्वपूर्ण पूर्वाधार बनाउन यति ढिलाइ भयो कि पर्यटन वर्ष सकिँदा पनि यो विमानस्थल बनेर सञ्चालनमा आउला/नआउला भन्न सकिने अवस्था छैन ।

एउटै मात्रै रन-वे रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक हवाई सेवा पनि दिइन्छ । यसैकारण यो विमानस्थलमा हरेकजसो सयममा एयर ट्राफिकको समस्यामा रुमल्लिछ । अवतरणका लागि घण्टौं आकाशमा विमानहरु चक्कर लगाउँछन् । एयर ट्राफिककै कारण उडान तालिकाकरु समेत प्रभावित हुन्छन् ।

हवाई पूर्वाधार र विमान कम्पनीको कमजोर सेवा प्रवाहका कारण नेपाल आउने पर्यटकहरुले अनेकन सास्ती भोग्नुपर्छ । अधिक चाप रहेको विमानस्थलभित्रको अध्यागमन र सुरक्षा लगायतका आन्तरिक व्यवस्थापनका पक्षमा पनि बारम्बार प्रशनहरु उठिरहन्छन् ।

अर्कोतर्फ लामो समयदेखि नेपाली विमान यूरोपेली आकाशमा प्रतिबन्धित छ । नेपालको हवाई सुरक्षामाथि प्रश्न उठाएर ईयूले नेपाललाई कालोसूचीमा राखेको छ । यसले गर्दा यूरोपबाट  सम्भावना अनुसार  पर्यटक भित्र्याउन सकिएको छैन भने  प्रतिस्पर्धा सीमित हुँदा हवाइ भाडा घट्न सकेको छैन ।

होटलको सेवा प्रवाह

पर्यटन व्यवसायीहरुको भनाइ मान्ने हो भने नेपालका होटलहरु वर्षमा २० लाख पर्यटक थेग्न सक्षम छन् । पछिल्लो समय पर्यटन क्षेत्रमा बढेको लगानीले होटल तथा बेड संख्यामा अधिकतम् वृद्धि भएको छ । होमस्टेहरु पनि विकल्पमा छन् ।

तर, सुत्नका लागि ‘बेड’ पाउनु नै पर्यटकका लागि पर्याप्त हो ? पक्कै होइन । पर्यटकहरु आफू बसेको होटलको सेवा प्रवाहलाई पनि उत्तिकै महत्वका साथ हेर्छन् । जसरी होटल र तिनमा बेड संख्या बढेका छन्, त्यसअनुपातमै सेवाको गुणस्तर बढेको पाइँदैन ।

अहिले पनि धेरै पर्यटकहरु नेपालको होटलहरुले दिने सेवा प्रवाहमा खुसी हुँदैनन् । विनम्र र स्तरीय सेवा, मीठो खाना, स्वस्थ तथा सुरक्षित वातावरण, खुला स्थान, सेवा अनुसारको उचित मूल्य र स्पा, स्विमिङपुल, जिम हाउस लगायतका आधुनिक सुविधा खोज्ने प्रवृत्तिका पर्यटकहरु बढ्दै छन् ।

नेपाल आएर कतिले यहाँको मौलिक परिकार चाख्न खोज्छन् भने कतिले आफ्नो नियमित परिकार नै खोज्छन् । पर्यटकले चाहे अनुरुपका खानासहितको सेवा प्रवाहमा अझै पनि नेपालका अधिकतम होटलहरु सक्षम छैनन् ।

तारे होटलहरुकै सेवामा पर्यटकको गुनासो सुनिन्छ । कतिपय पर्यटकले ठगिएको नै अनुभव गर्ने अवस्था समेत छ । प्याकेज दिएर पर्यटक ल्याएका ट्राभल व्यवसायी पनि यस्ता विषयमा जिम्मेवार छैनन् । बढी पैसा बचाउने होडबाजीले सेवा प्रवाहमा परेको असरलाई पूर्ण रुपमा सबै पक्षले बेवास्ता गरिरहेका छन् ।

खप्तड, रारा लगायतका कर्णाली तथा सुदूरपश्चिमका कैयन पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकलाई त न्युनतम् गाँस र बासको पनि सुविधा दिने होटलहरु छैनन् । त्यसैले बेड संख्याका आधारमा ‘होटल पूर्वाधार तयार छ’ भनिए पनि सुविधा र सेवा प्रवाहको स्तर बढाउन भ्रमण वर्ष पनि चुकेको छ ।

बाह्य प्रचार फितलो

पर्यटन वर्षमा विदेशी पर्यटकको संख्या बढाउने हो भने विदेशमा नै पर्यटकीय गन्तब्यको प्रचार ब्यापक रुपमा गर्नुपर्छ । तर, पर्यटन बोर्डले पर्यटन प्रचारका लागि विनियोजन गरेको बजेट आन्तरिक रुपमा हुने मेला-महोत्सवमै खर्च गरेरै सकाउँछ । यसले आन्तरिक पर्यटनमा केही हदसम्म लाभ दिएको छ, तर विदेशी पर्यटक लक्षित प्रचार खै त ?

विदेशका ख्यातिप्राप्त सञ्चारमाध्याममा प्रचार सामग्री बजाउने योजना नबनेको होइन । तर, योजनाको कार्यान्वयन गर्न लगातार पर्यटन बोर्ड चुक्दै आएको छ । यसका लागि खरिद नियम बाधक भएको तर्क बोर्डको छ ।

‘नेपालमा पर्यटन वर्ष चलिरहेको छ’ भन्ने जानकारी अन्तर्राष्ट्रिय समुदायमा दिन कुनै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सरकारी तवरबाट गतिलो प्रचार सामग्री बजाइएको छैन । जानकारी पाउनुपर्ने र आकर्षित हुनपर्ने वर्गलाई लक्षित गरी भारत, चीन, बेलायत, अमेरिका लगायत देशमा नेपालको प्रचार गर्ने सरकारको योजना आधा अधुरै छ ।

आक्कल झुक्कल विदेशका मेलामा पुगेर छापिएका प्रचार सामग्री बाँड्नमै पर्यटन बोर्ड केन्दि्रत छ । यति फितलो प्रचारले कसरी विदेशी पर्यटकले नेपाल बारे थाहा पाउलान् ? के का आधारमा घुम्न आउलान् ?

संख्या महत्वपूर्ण कि स्तर ?

अहिले सरकारको ध्यान एउटै छ, ‘जसरी पनि पर्यटन वर्षमा २० पर्यटक ल्याउनुपर्छ ।’ तर, पर्यटकले नेपालमा आएर बस्ने र खर्च गर्ने दर भने घट्दै गएको तथ्यलाई नजरअन्दाज गरिएको छ ।

यसले गर्दा संख्या बढे पनि पर्यटन क्षेत्रबाट प्राप्त हुन सक्ने लाभ गुम्दैछ । पर्यटकको घट्दो बसाइ अवधि र खर्चले कुल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको हिस्सा कमजोर बन्दैछ । पर्यटन बोर्डकै निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी पनि संख्याभन्दा पनि पर्यटकले गर्ने खर्च बढाउनेतर्फ सोच्नुपर्नेमा सहमत छन् । तर, उनकै कार्यकालमा पनि यो पक्षमा बोर्ड चुकेको छ ।

गत आर्थिक वर्षमा नेपाल भ्रमण गर्ने पर्यटक संख्यामा उल्लेख्य वृद्धि हुँदा पनि उनीहरुको नेपाल बस्ने अवधि र गर्ने खर्चमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा ह्रास आएको थियो । अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७४/७५ मा १२.६ दिन नेपाल बस्ने गरी आएका पर्यटकले प्रतिदिन ५४ डलर खर्च गर्ने गरेका थिए । तर, गत आर्थिक वर्षको तथ्याङ्क अवधिमा पर्यटकले प्रतिदिन ४४ डलर मात्र खर्च गरे । उनीहरुले खर्च मात्रै घटाएनन्, औसत बसाइँका दिन पनि छोट्याएर १२.४ दिनमा झरेको/झारेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा पर्यटक आगमन २४.७७ प्रतिशतले बढ्दा पनि पर्यटकको बसाइ तथा खर्च भने उल्लेख्य रुपमा बढ्न नसकेको तथ्यांकले देखाउँछ । यसप्रकार सरकारका लागि पर्यटन वर्षमा संख्या बढाउने त छँदैछ, त्यो भन्दा बढी पर्यटकको खर्च र बसाइँ बढाउने चुनौती पनि छ ।

अन्य समस्या

विदेशी पर्यटकमाथि पर्यटकीय स्थलमा भ्रमण क्रममा सर्वसाधारण र झोले व्यापारीबाट हुने व्यवहारलाई सुधार्न सकिएको छैन । पर्यटकलाई विभिन्न बहानामा पर्यटकीयस्थलमा सास्ती दिने प्रवृत्ति हटिसकेको छैन ।

त्यस्तै पर्यटकीय स्थलमा न्युनतम् मानवीय पूर्वाधारहरु उपलब्ध गराइएको छैन । मुख्य पर्यटकीय स्थलमा नै खानेपानीसहित पर्याप्त र सफा शौचालयसम्म छैनन् । पर्यटकलाई हरेक स्थानमा सुरक्षाको प्रत्याभुति गर्नेदेखि दक्ष टुर गाइडहरुमार्फत सेवा दिने पाटोबाट प्रयास नै भएको छैन ।

पर्यटकलाई जवरजस्ती र प्रलोभनमा परेर सामान भिडाउनेदेखि डरधम्की र अनावश्यक तवरले दुःख देखाएर मागीखानेहरु सम्मलाई नियन्त्रण गर्न सरकारले कदम चालेको छैन ।

हिमाल तथा हिमाली क्षेत्रबाट हुने फर्जी उद्धारलाई रोकेर विदेशी बिमा कम्पनीलाई नेपाल आउने पर्यटकसँग उठाइने पि्रमियम रकम सुलभ बनाउन अत्यावश्यक छ । निजी तवरबाट बिदेशमा बेचिने भ्रमणका प्याकेजहरुलाई आकर्षक बनाउन पनि प्रयत्न भएको छैन ।

पर्यटकसँग लिइने चर्को हवाई भाडा र पर्यटकीय स्थलको प्रवेशमा उठाइने चर्को शुल्क पनि सम्बोधन गरिहाल्नुपर्ने विषय हुन् । यसमा निजी क्षेत्र र सरकारले सँगसँगै मिलेर गर्नु वाञ्छनीय हुन्छ ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja