अवकाशकोषमा समेत सम्पत्ति शुद्धीकरणको कडाइ



अवकाशकोष सञ्चालन गर्ने सबै निकायले अब अनिवार्य रुपमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रावधान लागू गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो ।

निर्देशन अनुसार, १ पुसबाट अवकाशकोष संचालन गर्ने सबै संस्था तथा कम्पनीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानहरुलाई कडा बनाउनु पर्नेछ । सन् २०२० मा सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा नेपालको अवस्थाका बारेमा अडिट हुँदैछ । अडिटका दौरान नेपालले अपनाएका कानूनी प्रावधान र त्यसको कार्यान्वयनसम्बन्धमा सुक्ष्म रूपमा हेरिने भएकाले अहिले हरेक निकायले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानमा कडाइ गरिरहेका छन् । अवकाशकोषको नियामक निकाय आन्तरिक राजस्व विभाग हो ।

सरकारले २५ कात्तिक ०७५ मा विभागलाई अवकाशकोषको नियामक निकायको जिम्मेवारी दिएको थियो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले यसमा सबैभन्दा ठूलो हिस्सा ओगटेका छन् । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरुले समेत सरकारी निकायको नियमनमा अवकाशकोष सञ्चालनमा ल्याएका हुन्छन् ।

अनिवार्य नीति बनाउनु पर्ने

अब अवकाशकोष सञ्चालन गर्ने निकायहरुले अनिवार्य नीति तथा कार्यविधि बनाएर लागू गर्नुपर्ने छ । त्यस्तो नीतिमा जोखिम मूल्यांकन प्रणालीको आधार र पद्धति, जोखिममा आधारित कर्मचारी तथा लगानीको पहिचान, सोको अध्यावधिक व्यवस्था र अनुगमन प्रणालीका सम्बन्धमा उल्लेख गर्नुपर्ने भएको छ ।

अवकाशकोषमा समावेश हुने कर्मचारीको पहिचानलाई प्रभावकारी बनाउने, वास्तविक धनीबाहेक अन्यले प्रवेश नपाउनेगरी प्रावधान कडा बनाउनुपर्ने निर्देशनसमेत विभागले कोष सञ्चालकहरुलाई दिएको छ ।

जोखिमपूर्ण ग्राहकमा निगरानी

कोषले जोखिमपूर्ण ग्राहक पहिचान गरी उनीहरुमाथि बढी निगरानी राख्नुपर्ने भएको छ । सम्पत्ति शु्द्धीकरणका दृष्टिकोणबाट उच्चपदस्थ व्यक्ति, उनीहरुका कर्मचारी र आफन्त बढी जोखिमपूर्ण मानिन्छन् ।

कोषले उच्चपदस्थ व्यक्तिको विवरण नियमित अध्यावधिक गर्ने, व्यक्ति हेरफेर भएमा तत्काल पहिचान गर्ने, उनीहरुको परिवार र सम्बद्ध व्यक्तिको पहिचान गर्ने र उक्तपदस्थ व्यक्तिको पदीय हैसियत र संलग्नता बमोजिमको जोखिम पहिचान गर्ने काम पनि अब कडाइका साथ गर्नुपर्ने छ ।

अवकाश कोषहरुले लगानी गर्दासमेत जोखिमको उचित व्यवस्थापन गर्नुपर्ने भएको छ । अवकाशकोषको रकम नागरिक लगानी कोष, सरकारी ऋणपत्र, बैंकजस्ता क्षेत्रमा लगानी गर्नसक्ने प्रावधान छ ।

शंकास्पद कारोबारको प्रतिवेदन दिनुपर्ने

कोषमा शंकास्पद कारोबार भएको पाइएमा त्यसको तीन दिनभित्र नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईमा प्रतिवेदन पेस गर्नुपर्छ । यसलाई कडाइका साथ पालना गर्नसमेत विभागले कोषलाई निर्देशन जारी गरेको छ । यस्तो प्रतिवेदन तयार पार्दा इकाईले जारी गरेको मापदण्डलाई आधार मान्नुपर्ने भएको छ ।

सूचनाको गोपनीयता कायम गर्नुपर्ने

कोष, कोषका पदाधिकारी, कर्मचारी तथा अन्य सम्बद्ध व्यक्तिले प्रतिवेदन, कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी गोप्य राख्नु पर्नेछ । यस्तो जानकारी राष्ट्र बैंक मातहतको वित्तीय जानकारी इकाईबाहेक अन्य कसैलाई पनि गराउन नहुने प्रावधान राखिएको छ ।

दर्ता खारेजीसम्म कारबाही

विभागले जारी गरेको निर्देशिका अनुसार कोषले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानलाई कडाइसाथ पालना नगरे स्वयं कोष कारबाहीको भागिदार हुनुपर्ने छ । आन्तरिक राजस्व विभागका अनुसार नीति र कार्यविधि नबनाए अधिकतम ५० लाख र दर्ता खारेजीसम्मको कारबाही गर्नसक्ने प्रावधान राखिएको छ ।

उच्चपदस्थ अधिकारीको पहिचान गर्ने व्यवस्था नभए सोही बराबरको कारबाही हुने प्रावधान राखिएको छ । जोखिम व्यवस्थापन नभएमा भने अधिकतम ५ करोड रुपैयाँसम्मको जरिवाना र कोषको दर्ता नै खारेजसम्म हुनसक्छ ।अनलाइनखबर बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja