समस्या जनसंख्याको होईन, समस्या जनसंख्यालाई जनशक्तिमा रुपान्तरण गर्न नसक्नु हो



कल्याण कुमार गुरुङ

पोखरा

नेपालमा प्रति वर्ष ५ लाख व्यक्ति श्रम बजारमा थपिने अनुमान छ । श्रम बजारमा आउने व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउन सक्नु अझैपनि ठूलो चुनौती छ । यो चुनौतीको सामना गर्न पनि धेरै समस्या छन् ।

कृषि क्षेत्रमा भएको अनुत्पादक अधिक श्रमशक्तिलाई उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा, सिंचाई, वन, बिज्ञान तथा प्रविधि र ब्यवस्थापन जस्ता क्षेत्रमा स्थानान्तरण गर्न सक्नु अर्को चुनौतीको रुप हो ।

कुनैपनि देश उसको भूगोल र जनसंख्याको संयुक्त बैधानिक स्वरुप हो । देशको जनसंख्यालाई जनशक्तिमा रुपान्तरण गर्नु महत्वपुर्ण चुनौतीको रुपमा देखिन्छ । मानिसमा श्रम गर्न सक्ने शक्ति प्राकृतिकरुपमा बिद्यमान हुन्छ । श्रम शक्ति मात्र भएको जनसंख्यालाई उचित बैज्ञानिक तथा प्रविधिक शिक्षा दिएर र समयानुकुल बिभिन्न सीपमुलक तालिमहरु सिकाएर दक्ष जनशक्तिमा विकसित गर्न सकिन्छ ।

नेपालमा रोजगारीको पर्याप्त अवसर नभएको कारणले वैदेशिक रोजगारीको आकर्षण उच्च छ । हाल करिब ४४ लाख युवा वैदेशिक रोजगारीमा गएको देखिन्छ । वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष कामदार १.५ प्रतिशत, अर्धदक्ष २४.० प्रतिशत र अदक्ष ७४.५ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

गरीबी निवारण र आर्थिक असमानता न्यूनीकरणका लागि रोजगारीको आवश्यकता हुन्छ । नेपालमा बहुआयामिक गरीब जनसंख्या २८.६ प्रतिशत छन् । मानव विकास सूचकाङ्क ०.५७४ ले आर्थिक असमानता ब्यापकरुपमा रहेको प्रष्ट पार्दछ ।

अदक्ष कामदारको आय अत्यन्त कम हुने र दिनानुदिन महंगी बढिरहेका कारणले दैनिक अत्यावश्यक वस्तुहरु पनि खरीद गर्न नसक्ने अवस्था उनीहरुको छ । अझ नेपालको कुल जनसंख्याको १८.७ प्रतिशत जनसंख्या कहाली लाग्दो गरीबीको रेखामुनि छन् । जसको आय दैनिक ११२ रुपैया भन्दा पनि कम छ ।

अर्थ मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपालीको प्रति व्यक्ति आय वार्षीक १ लाख १७ हजार ४ सय ५५ रुपैया छ अर्थात् १,०३४ अमेरिकी डलर बराबर छ । नेपालीको औसत मासिक आय ९,७८७ रुपैया बराबर रहेको तथ्याङ्क छ । दैनिक आम्दानी लगभग ३२२ रुपैयाँ छ ।

के यति नै प्रति व्यक्ति आयको आधारमा नेपालले सन् २०२२ सम्ममा ‘अल्प विकसित मुलुक’बाट स्तरोन्नति हुँदै ‘विकासशील मुलुक’मा र सन् २०३० सम्ममा ‘मध्यम आय भएको मुलुक’मा रुपान्तरण हुने लक्ष्य हासिल गर्न सम्भव हुन सक्छ र ? के नेपालीले देखेको नयाँ नेपालको सपना वा समृद्धिको आकांक्षा अहिले कै आर्थिक आयको निरन्तरतामा यथार्थमा परिणत गर्न सकिएला र ? अवश्य पनि सकिन्दैन । शिक्षा नीतिमा आमुल परिवर्तन आवश्यकता छ ।

नेपालसँग जनसंख्या अर्थात् श्रम शक्ति र प्राकृतिक सम्पदाहरु जस्तै हिमाल, पहाड, नदीनाला, वन, तराईको उर्वर फाँट र सुन्दर प्राकृतिक मनोरम दृश्यहरु छन्, जसको पुर्ण सदुपयोग हुन सकेको छैन । अदक्ष श्रम शक्ति र सदुपयोग नभएका प्राकृतिक सम्पदाहरुमा बिशेष ध्यान दिएर स्वदेश तथा विदेश अर्थात् विश्व भरीको प्रतिस्पर्धामा सफल हुन सक्ने सीप मुलक दक्ष विज्ञ तथा जनशक्ति सिर्जना गर्न सक्नु पर्दछ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५/७६ को आठ महिनामा नेपालमा भित्रिएको रेमिट्यान्स (विप्रेषण) ९ खर्ब ८ अर्ब ९४ करोड रुपैयाँको छ । जुन कुल ग्रार्हस्थ्य उत्पादनको २६.२४ प्रतिशत हो ।

लगभग १.५ प्रतिशत दक्ष, २४.० प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष कामदारले वैदेशिक रोजगारीबाट वार्षीक लगभग १२ खर्बको हाराहारीमा आम्दानी नेपालले गरिरहेका छ । जुन विश्वको १९ औं र दक्षिण एशियाको चौथो ठुलो देशमा पर्दछ । यदि यसमा हामीले वैज्ञानिक तथा प्राविधिक शिक्षा पढाएर र समयानुकुल सीप सिकाएर दक्ष बनाउन सक्यौ र १.५ प्रतिशत दक्ष कामदारबाट बढाएर १०० प्रतिशत दक्ष कामदार पुर्‍याउन सक्यौ भने अहिले वैदेशिक रोजगारबाट प्राप्त गरेको रेमिट्यान्सलाई पाँच देखि दश गुणासम्म बढाउन सकिन्छ ।

साथै नेपालमा १०० प्रतिशत दक्ष जनशक्ति तयार गर्ने हो भने नेपाल भित्रपनि प्रति व्यक्ति आय ५ देखि १० गुणाले बढाउन सकिन्छ । अहिलेको नेपालीको प्रति व्यक्ति आय बार्षीक १ लाख १७ हजार रुपैयाँबाट बढाएर लगभग वार्षीक ७ लाखदेखि ११ लाख रुपैया सम्म पुर्‍याउन सकिन्छ । अदक्ष कामदारको आय भन्दा दक्ष कामदारको आयमा सरदर ५ देखि २५ गुणासम्म बढी हुन सक्दछ ।

उदाहरणको लागि नेपालको कुनै कम्पनीमा सम्मानपुर्वक झाडु लगाउने कुनै अदक्ष कामदारले महिनाको औसत १५ हजार रुपैयाँ कमाउछ भने एउटा दक्ष डाक्टरले नेपालमा महिनाको एक लाखदेखि पाँच लाख कमाउन सक्दछ । सुचना प्रविधिमा काम गर्ने एउटा दक्ष ईन्जिनियरले वा एक जना दक्ष डाक्टरले कम्तिमा अमेरिकामा महिनाको १५ लाख सम्म कमाउन सक्दछ । एउटा दक्ष कामदार र एउटा अदक्ष कामदारको आयमा यति धेरैसम्म फरक पर्न सक्ने सम्भावना हुन सक्दछ । मानिसको बिद्वता, ज्ञान, दक्षता, सेवा प्रवाह, ब्यवस्थापन कौशल र सीपले उसको सम्पुर्ण आर्थिक आयमा प्रभाव पार्दछ ।

नेपालको जनसंख्या बृद्धिदर १.३५ प्रतिशत छ । केवल ४ प्रतिशत वा सो भन्दा पनि कम ६५ वर्ष उमेर समुहको जनसंख्या रहेको छ । नेपालीहरुको मध्यम उमेर २१.६ वर्ष जसमा पुरुषको २०.७ वषै र महिलाको २२.५ वर्ष रहेको छ । नेपालमा काम गर्ने उमेर क्षमता भएको जनसंख्या धेरै छ । देशको लागि यो सौभाग्यको सत्य तथ्य हो । यो जनसंख्यालाई बैज्ञानिक तथा प्रविधिक शिक्षा प्रदान गरेर र समयानुकुल सीप मुलक तालिम दिई प्रशिक्षित गरेर दक्ष जनशक्ति बनाउन सकिन्छ । अदक्ष जनसंख्याले बेरोजगारी बढाउछ भने दक्ष जनशक्तिले रोजगारी सिर्जना गरी व्यक्ति र देशको आम्दानी बढाउछ ।

नेपालको शिक्षा प्रणाली नै अप्राविधिक, अव्यवहारिक र अदक्ष जनशक्ति उत्पादन गर्ने किसिमको छ । यस प्रकारको शिक्षाले दिनानुदिन बेरोजगारीहरुको संख्या बढाउदछ । नेपालको शिक्षा पद्धति कम मात्रामा ब्यवहारिक र सीपमुलक तथा बढी मात्रामा सैद्धान्तिक ज्ञानमा आधारित देखिन्छ ।

नेपाल सरकारले शिक्षामा कम मात्रामा लगानी गरिरहेको अर्थ मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कले देखाउछ । आर्थिक वर्ष २०७५/७६ को फागुन महिनासम्ममा शिक्षा क्षेत्रमा संघीय सरकारले विनियोजन गरेको बजेट मध्ये चालु खर्च ४.७६ प्रतिशत र पूँजीगत खर्च सबैभन्दा कम ०.०३ प्रतिशत मात्र खर्च भएको छ ।

नेपालमा धेरै क्षेत्रहरुमा विज्ञहरुको अभाव छ । नेपालका शिक्षाविदहरुमा पनि दुरदृष्टिको अभाव देखिएको छ । कुन कुन क्षेत्रका कति जना दक्ष र विज्ञ जनशक्तिको अभाव छ र हुन सक्दछ भन्ने अनुसन्धान गरिएको छैन ।

पाठ्य पुस्तक र पाठयक्रम तयार गर्ने शिक्षा विदहरुमा पनि दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्नु पर्दछ तथा समयानुकुल सीपमुलक दक्ष जनशक्ति उत्पादन गर्नु पर्दछ भन्ने हेक्का नभएको वा दुर दृष्टि नभएको प्रष्ट देखिन्छ । जसको प्रत्यक्ष असर देशको आय र बेरोजगारीे समस्यामा परिरहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क अनुसार नेपालको काम गर्न सक्ने उमेर समुहका १५–२४ बर्ष र २५–३४ बर्षका मानिसहरुमा बेरोजगार दर सबै भन्दा बढी छ अर्थात् सो उमेर समुहका ६९.१ प्रतिशत मानिसहरु बेरोजगार छन् । १५–२४ बर्ष उमेर समुहमा ३८.१ प्रतिशत र २५–३४ बर्ष उमेर समुहका ३१.१ प्रतिशत मानिसहरु बेरोजगार छन् । सबै भन्दा बढि २०.१ प्रतिशत बेरोजगार प्रदेश नं. २ मा र सबै भन्दा कम ७.० प्रतिशत बेरोजगार प्रदेश नं. ३ मा रहेको छ ।

बेरोजगार, गरीबी, आर्थिक असमानता र निम्न स्तरको जिवन शैलीको दीर्घ रोगबाट देशले मुक्ति खोजी रहेको छ । यसको मुख्य औषधी नै बैज्ञानिक र प्राविधिक शिक्षा तथा समयानुकुलको सीपमुलक तालिम दिएर दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्नु नै हो ।

बजेटमा चालु खर्चमा बढी रकम विनियोजन गर्ने परम्परालाई अन्त्य गरी पूँजीगत खर्चमा बढी रकम बिनियोजन गर्न सक्नु पर्दछ । शिक्षा, बैज्ञानिक खोज तथा अनुसन्धान र सीपमुलक तालिममा बढी बजेट बिनियोजन गरेर हरेक क्षेत्रको लागि आवश्यक दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्नको लागि विश्वविधालय, क्याम्पस, विधालय र तालिम केन्द्रहरुको पाठ्यक्रम र पाठ्यपुस्तकहरु तयार गर्नु पर्दछ ।

शिक्षा क्षेत्रमा शैक्षिक क्रेडिट प्रणाली लागु गर्न सक्नु पर्दछ र सबै विश्वविद्यालयमा सो क्रेडिट अनुसार अध्ययन गर्न पाउने ब्यवस्था हुनु पर्दछ । मानिसले अहिले गरिरहेको कामको अनुभवलाई पनि निश्चित अंक दिएर उसको शैक्षिक क्रेडिटमा जोडन सकिने शिक्षा ऐन ल्याउनु पर्दछ । यसले मानिसलाई काम गरेर पढने जाँगर चल्छ । काम गर्ने र कामको सम्मान गर्ने सकारात्मक वातावरण निर्माण गर्दछ, जसले दक्ष विज्ञ र जनशक्ति उत्पादन गर्न प्रचुर सहयोग गर्दछ ।

सामाजिक न्याय, सामाजिक सुरक्षा, बहुआयामिक प्रगति र समावेशी विकासलाई ध्यानमा राखेर उत्पादनमुलक क्षेत्र र पुर्बाधार निर्माण क्षेत्र लगायतका पूँजीगत खर्चमा बजेटले प्रमुख ध्यान दिन सक्नु पर्दछ । यसले देश भित्र उत्पादन बढाउन र माग बढाउन मद्दत गर्दछ तथा रोजगारी सिर्जना गर्न गुणात्मक सकारात्मक असर गर्दछ । देशको मुख्य समस्याको रुपमा रहेको ब्यापार घाटा कम गर्न मद्दत गर्दछ ।

देशको जनसंख्यालाई एक्काईसौं शताब्दि सुहाउँदो गुणस्तरिय वैज्ञानिक र प्राबिधिक शिक्षा दिने, आधुनिक सीप सिकाउने र असल संस्कार दिने हो भने देशको जनसंख्या समस्या होईन, देश द्रुततर विकासको लागि वरदान साबित हुन सक्दछ ।

यसर्थ देशको ‘जनसंख्या’लाई ‘जनशक्ति’मा बदल्न सकिन्छ । ‘जनसंख्या’लाई ‘जनशक्ति’मा बदल्ने दृढ संकल्प सहितको प्राविधिक, विज्ञ, ब्यबस्थापकिय, सेवामुलक तथा सीपमुलक दक्ष जनशक्ति निर्माण गर्ने निश्चित ठोस योजनाहरु तथा प्रष्ट अल्पकालीन र दीर्घकालीन कार्यक्रमहरुको आवश्यकता छ । साथै ती कार्यक्रमहरु शाहसका साथ कार्यान्वयन हुनु र यथार्थमा देखिनु अत्यन्त महत्वपुर्ण हुन्छ । नेपालमा कागजमा सबै राम्रा नीतिहरु हुन्छन् तर व्यवहार र यथार्थमा ति नीतिहरुको कार्यान्वयन भएको पाईदैन । यो प्रवृति नेपालको सबैभन्दा गम्भीर र जटिल समस्या हो ।

समस्या जनसंख्याको होईन, समस्या जनसंख्यालाई जनशक्तिमा रुपान्तरण गर्न नसक्नु नै हो । दक्ष जनशक्तिमा रुपान्तरण हुन सकेका थोरै जनसंख्या भएका देशहरु पनि धनि र सुखी छन् । दक्ष जनशक्तिमा रुपान्तरण हुन नसकेका धेरै जनसंख्या भएका देशहरु पनि गरिब र दुःखी छन् । देशमा हाल भएको र भविष्यमा बढन सक्ने जनसंख्यालाई दक्ष जनशक्तिमा रुपान्तरण गर्ने ठोस नीति तथा कार्यक्रम, वैधानिक कानून र आबश्यक बजेटको साथै दृढ संकल्प, प्रतिज्ञा र अठोटको अहिले आबश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja