हामीले भौतिक मात्र नभई सबै पक्षको विकास गरेका छौँः वडाध्यक्ष आचार्य



(पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यसँग पोखरा आजले लिएको अन्तरवार्ता)

पोखरा

तपाईँले निर्वाचनपछि जनतासामु गर्नुभएको प्रतिबद्धता कत्तिको पुरा गर्नुभयो?
निर्वाचनपछि २०७४ जेठ १४ मा हामीले शपथ ग्रहण गरेर आफ्नो भार ग्रहण गर्यौँ । त्यसपछि अहिलेसम्म हाम्रो २ वर्ष पुगेर तेस्रो वर्षमा छौँ । यस अवधिमा हामीले धेरै कामहरु गरेका छौँ र ती कामहरु गर्दा धेरै किसिमका अनुभवहरु पनि प्राप्त भएका छन् । चुनावको समयमा हरेक पार्टीले आफ्नो घोषणापत्रअन्तर्गत रहेर धेरै प्रतिबद्धता जाहेर गरेका थिए । हाम्रो सन्दर्भमा भन्दा १६ नं. वडा ग्रामिण बेल्टसमेत रहेको वडा हो । यहाँ दुई किसिमको बेल्ट छ, एउटा ग्रामीण बेल्ट छ अर्को समतल बेल्ट । पछि यस वडामा अर्मला थपिएर बृहत वडा बनेको छ । दुबै बेल्टका क्षेत्रहरुका विकासका लागि हामीले प्रतिबद्धता गरेका थियौँ र ती प्रतिबद्धताहरुलाई हामीले एकपछि अर्को गर्दै पुरा गरेको अवस्था छ । भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर हामीले काम गरेका छौँ ।

भौतिक पूर्वाधारमा के के निर्माण गर्नुभयो तपाईँहरुले?
भौतिक पूर्वाधारमा हामीले केही बाटाहरु चक्ल्याउने काम गरेका छौँ, जस्तो कि सुन्दरफिटमा बाटो साँघुरो थियो, त्यसलाई चक्ल्याउने काम गरेका छौँ । त्यस्तै लामाचौरमा ठुलो पानी आउँदा मानिस नै पर्ने, मोटरसाइकल बगाउने समस्या थियो, त्यहाँ हामीले स्ल्याब राखेका छौँ । त्यसैगरी हामीले लामाचौर र बाटुलेचौरका धेरै भित्री बाटाहरु बनाएका छौँ । महेन्द्रगुफाको ओरालोनेर अर्मला जान एकदम समस्या थियो । गाडिहरु, स्कुटर/मोटरसाइकल जान पनि समस्या थियो ।त्यस बाटोलाई हामीले ढलन गरेर राम्रो बनाएका छौँ । घार्मीखोलामा पल्भर्ट हालेका छौँ । सानाठुला गरेर २०७४/२०७५ मा हामीले ८० वटा बढि विकासका कामहरु गर्यौँ र ०७५/०७६ को बजेटबाट पनि हामीले ती बाटाहरुलाई स्तरोन्नती गर्ने काम गरेका छौँ । हाम्रोमा दुई वटा कनेक्टिङ रोड छन्, जस्तो घार्मीखोला–अर्मलाकोट–आँटिघर–मौजा र अर्को घार्मीखोला–जुम्लेटि–ढिकिडाँडा–सुनाकुमी–तितेपानी । यी बाटाहरु बनाउने काम तीब्र रुपमा भइरहेको छ । यस्तै ‘पी १’ प्रोजेक्टअन्तर्गत अर्मलाकोट जाने बाटो छ । त्यहाँ महानगरले अहिले ७ करोडको टेण्डर निकालेको छ र त्यो काम अहिले हुँदैछ र सडक विभागबाट समेत यो बर्ष तीन करोड रुपैँया आएर अहिले सडक विभागको काम भइरहेको छ ।
त्यस्तै ‘पी २’ अन्तर्गतको टेण्डर घार्मीखोला–जुम्लेटिको बाटोमा डेढ करोडको काम भइरहेको छ । अघिल्लो बर्ष पनि डेढ करोडको काम भएको थियो र यस वर्ष पनि डेढ करोडको काम भइरहेको छ ।
खानेपानीको सन्दर्भमा कुरा गर्दा अर्मलाको हरिपाउ, छहरेपानी र जुम्लेटिमा प्रदेश सरकारबाट ४ करोड ६५ लाखको खानेपानीको डिपिआर बनेको छ । त्यो डिपिआरबाट बजेट छुट्टिएर अहिले काम हुँदैछ । त्यस्तै अर्मलाकोट, र्याले, दाद्रे र कुरको खानेपानीको लागी प्रदेश सरकारबाट ३५ लाख छुट्टिएको छ र त्यसको डिपिआर भएर अगाडि बढ्ने चरणमा छ । अर्मलातिर हामीले एक घर एक धारा निती ल्याउँदैछौँ ।

यसैमा मैले प्रश्न थपेँ, खानेपानी र बिजुलीको तारहरुको समस्याले काठमाण्डौँदेखी पोखरासम्मै बनाएका बाटाहरु पनि भत्काउनुपर्ने अवस्था छ । सम्बन्धित विभागहरुसँग समन्वय नगरिकनै आफ्नै तरिकाले काम गर्दा यस्तो अवस्था आएको हो । तपाईँहरुले कसरी आफ्ना योजनाहरु अगाडि बढाउनुभएको छ ?
तपाईँले भनेको कुरा सहि हो । हाम्रोमा खानेपानी र विद्युतको समन्वय नै छैन । मुख्य सडकहरु सडक विभागअन्तर्गत छन् र ती महानगरपालिका अन्तर्गत आउँदैछन् । अब महानगरपालिका, विद्युत र खानेपानी तीन वटै निकाय मिलेर, समन्वय गरेर परिणाम दिनुपर्यो र त्यो समन्वय अहिले महानगरपालिकाले गरेको छ । बिजुलीका पोलहरु र खानेपानीलाई समन्वय गरेर व्यवस्थित गर्ने भनेर अहिलेको नगर सभाले हामीलाई ३ करोडको बजेट राखेको छ । तसर्थ समन्वय नगरी हामी एक्लाएक्लै दौडियौँ भने केहि पनि हुँदैन । राज्यका हरेक निकायबिच समन्वय भएर एकिकृत विकास हुनुपर्यो ।

तपाईँले आफ्नो क्षेत्रमा बाटोहरु बनाउँदा कत्तिको समन्वय गर्नुभएको छ?
हाम्रोमा समन्वय नै छ । केन्द्र सरकार, महानगरपालिका, प्रदेश सरकार तथा सडकविभागबाट छुट्टिएका योजनाहरुमा एकदमै हाम्रो समन्वय छ र हाम्रोमा अहिले २ वटा मुख्य बाटाहरु छन्: के.आई.सिंह पुलदेखी महेन्द्रपुलसम्म र केआई सिंह पुलदेखी लामाचौरसम्म । यो वर्ष हामीले घार्मीखोलादेखी जोगीमणी थुम्केसम्म बाटो चक्ल्याउन १ करोड छुट्याएका छौँ । यस्तै के.आई.सिंह पुलदेखी महेन्द्रगुफासम्म अपांगमैत्री हुने गरी बाटो सौन्दर्यकरण गर्न डेढ करोड छुट्टिएको छ र लामाचौर साइडमा भएको ढलको समस्या हल गर्नको लागि महानगरले यस वर्ष डिपिआर गर्दै छ र साथसाथै हामीले त्यो ढलको व्यवस्थापन गर्न महानगरबाट ४० लाखको व्यवस्थापन गरेका छौँ र डिपिआर पछि करोडौँ लागे पनि ढलको हल गर्न महानगरपालिका लाग्ने महानगरपालिकाले जनाएको छ ।

नयाँ बनाउँदै गरेका बाटो चाँहि तपाईँहरुले पिच पनि गर्नुभएको छ कि के छ अवस्था?
बाटोमा अहिले नाला बनाएर लेबल मिलाउने काम भएको छ । हामी आइसकेपछि ३० भन्दा बढि बाटाहरु ढलन गरिसकेका छौँ ।

ढलान गर्नुको कारण पिच गर्ने अवस्था नभएर हो?
ढलान गर्नुको कारण के रहेछ भन्दा मुख्य सडकमा पिच गर्नु उपयुक्त रहेछ र भित्री बाटामा ढलान उपयुक्त देख्यौँ हामीले । किनभने ढलन गर्दा बिग्रियो भने पनि हामीले यहिँ बनाउन सकिने र पिच गर्न बाहिरबाट केमिकल मगाउनुपर्ने र सामान्य मान्छेले पिचको काम गर्नै नसक्ने हुन्छ । ढलन लामो समयसम्म टिक्ने हुँदा पनि साँघुरा बाटामा हामीले ढलनको निति अगाडि बढाएका छौँ ।

शिक्षाको क्षेत्रमा कत्तिको सुधार गर्नुभएको छ तपाईँ आएपछि?
शिक्षाको क्षेत्रमा हाम्रोमा १४ वटा सामुदायिक विद्यालयहरु छन्ः ५ वटा माध्यमिक र ९ वटा आधारभूत विद्यालय । यस्तै ७ वटा बोर्डिङ स्कुल छन् , विन्ध्यवासिनी क्याम्पस, मनिपाल कलेज, पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान पनि यहिँ छन् । शिक्षाको हकमा हाम्रो वडा एकदमै महत्वपूर्ण क्षेत्र बोकेको वडा हो । तसर्थ वडा शिक्षा समिति बनाएर शिक्षाका विभिन्न गतिविधिहरुमा समन्वय गरेका छौँ ।

कस्तो प्रकारका गतिविधि गर्नुभएको छ?
एउटा कुरा परिक्षा प्रणाली अर्थात् परिक्षाको तालिका एउटै बनाउने गरेका छौँ, गरिब र जेहेन्दार विद्यार्थीले छात्रवृद्धि पाउन भन्ने उद्देश्यले कोअर्डिनेसन गरेका छौँ । वडाका उमेर पुगेका सबै बालकहरुलाई विद्यालयहरुसँग कोअर्डिनेसन गरेर विद्यालय जाने व्यवस्था गरेका छौँ र अहिले वडाका सबै बच्चाहरु विद्यालय जान्छन् ।

यहाँका सामुदायिक विद्यालयहरुको कस्तो छ अवस्था?
शिक्षाका क्षेत्रमा यहाँका विद्यालयहरु सन्तोषजनक छन् । हाम्रोमा भएको विन्ध्यवासिनी स्कुल कास्कीको टप ५ राम्रो विद्यालयमा परेको छ । त्यस्तै इन्द्रराज्य स्कुलको परिणाम पनि सन्तोषजनक नै छ र अन्य वोर्डिङ स्कुलहरुपनि राम्रा छन् ।

निजी स्कुलको कुरा निकाल्नुभयो, अहिले देशभरी निजी स्कुलहरुले मनपरि फी उठाउने गरेको पाइएको छ । तपाईँको वडामा के छ अवस्था?
हाम्रोमा त्यस्तो मनोमानी ढङ्गले फिस उठाउने कुरा भएको जस्तो लाग्दैन हामीलाई । तैपनि त्यसलाई विद्यालयहरुबिच एउटा अस्वभाविक, अस्वस्थकर प्रतिस्पर्धा नहोस् भनेर हामीले हाम्रो बैठकमा बोर्डिङ स्कुलका प्रिन्सिपलहरुलाई बोलाएर समन्वय गरेर अगाडि बढेका छौँ ।

अनि स्वास्थ्यको क्षेत्रमा तपाईँहरुले के के सुधार गर्नुभएको छ?
स्वास्थ्यको क्षेत्रमा हामीले स्वास्थ्य स्वयं सेविकाहरुसँग कोअर्डिनेसन गरेर अगाडि बढेका छौँ । हाम्रोमा मातृशिशु मितेरी अस्पताल र अर्मला प्राथमिक स्वास्थ्य केन्द्र छ । यी दुई संस्थालाई कसरी अगाडि बढाउने भनेर हामी लागेका छौँ र त्यहाँका समितिसँग समन्वय गरेर अगाडि बढेका छौँ । राज्यबाट हुने कार्यक्रमहरु त हुन्छन् नै, त्यसबाहेक अहिले हामीले टोलटोलमा गएर स्वास्थ्यप्रति सचेतना गराउन जनता भेला पनि गर्यौँ । हाम्रो वडामा अस्वस्थ भएर अकालमै मर्नुपरेका कोहि व्यक्ति छन् जस्तो लाग्दैन र घरमै सुत्केरी भएको अवस्था पनि हाम्रोमा छैन ।

महिला तथा बालबालिकाको क्षेत्रमा सामाजिक सुधारहरु कत्तिको भएको छ?
राम्रो सुधार भएको छ । हामीले विभिन्न सचेतना कार्यक्रमहरु गरेका छौँ । दलितहरुको क्षेत्रमा पनि गरेका छौँ । अपांगहरुलाई आयआर्जनको क्षेत्रमा कसरी लगाउने भन्ने सोचेका छौँ । महिलाहरुलाई क्षमता अभिवृद्धि हुने कार्यक्रम गरेका छौँ, जस्तो कि गुडिया बनाउने, झोला बनाउने, सिलाइबुनाईका तालिमहरु, मौरीपालन तालिम, बुटिक तालिम, क्रिष्टलका गहनाहरु बनाउने तालिमहरु यो वर्ष र अघिल्लो वर्ष दिएका छौँ । यसबाट महिला दिदीबहिनीहरुमा अब केहि गर्न सकिन्छ कि भन्ने हौसला बढेको छ । त्यस्तै हामीले हाम्रा वडाका ५ जना पुरुषहरुलाई कपाल काट्ने तालिम दिइरहेका छौँ ।

यसबाहेक अरु केके क्षेत्रमा सुधारहरु गर्नुभएको छ?
हामीले किसानहरुको लागि माटो परिक्षणदेखी लिएर टनेल र आलु खेतीको लागि अनुदान दिएका छौँ । पशुपालन गर्ने किसानहरुलाई पशुहरुलाई लाग्ने माटे जुकाको औषधिदेखी लिएर अन्य विभिन्न औषधिहरु निशुल्क गरेका छौँ, गोबर परिक्षण गरेका छौँ । वृद्धवृद्धा, बालबालिकाको क्षेत्रमा कसरी अगाडि बढाउने भन्ने कुरामा सोचेका छौँ । बालक्लब बनाएर कार्यक्रम गरेका छौँ । दलित,महिलाहरुको क्षेत्रमा राम्रो काम गरेका छौँ । १० जना दलितहरुलाई वडाको बजेटबाट ड्राइभिङ सिकाएका छौँ । त्यस्तै गरी यहाँको परियार समुदायलाई पञ्चेबाजा वितरण गरेका छौँ । घरेलु औजारहरु बनाउनेहरुका लागि आरन समेत वितरण गर्दै छौँ । तसर्थ हामीले बजेट दुरुपयोग नहोस् र सानो बजेटले पनि ठुलो परिणाम देखियोस् भन्ने सोचेका छौँ । यस्तै महिलाहरुका पाठेघरका क्यान्सरसम्बन्धि तालिमहरु पनि सञ्चालन गरेका छौँ । यहाँका क्लब, आमासमूह सबैसँग समन्वय गरेर हामीले काम गरेका छौँ । समग्रहमा भन्दा हामीले भौतिक कुराहरुमा मात्र नभई सामाजिक तथा सबै क्षेत्रमा विकास होस् भन्ने तरिकाले काम गरेका छौँ ।

अनि प्रतिपक्षको कत्तिको प्रभावकारी भूमिका छ? काम गर्न अवरोध छ कि के छ अवस्था?
मेरो नेचर के छ भने म प्रतिपक्षका साथीहरुसँग भेट्दा पनि हार्दिकतापूर्ण व्यवहार गर्छु, विभिन्न सर्वदलिय वैठकहरुमा पनि हामी बसीरहेकै छौँ । त्यस्तै यहाँका माननीयहरुसँग पनि २/३ वटा बैठक बसीसकेका छौँ । विकासका कुरामा हामी यो पार्टी त्यो पाटी भन्दैनौँ किनभने हामी जनप्रतिनिधि र सबैका साझा हौँ । यहाँ हामी सबैसँग सहकार्य गरेर जान चाहन्छौँ र सहकार्य गरिरहेकै छौँ । प्रतिपक्षका साथीहरुसँग हाम्रो नियमित बसाईँ छ र प्रत्यक वर्ष हामीले अनुगमन गराएका छौँ । हामीमा भएका विकासका योजनाहरु सबै पार्टीले अनुगमन गर्छन् । हाम्रोमा प्रतिपक्षबाट चुनावमा पनि तिक्तता थिएन र पछि पनि भएन ।

अन्त्यमा, प्रमुख प्रतिपक्ष काँग्रेसका वडाध्यक्षहरुले मेयर साबले पूर्वाग्राही भएर वजेट वितरण गर्नुभएको आरोप लगाएर आन्दोलन गर्नुभएको थियो, त्यसको विषयमा तपाईँको धारणा के छ?
मैले भन्नुपर्दा जे हो त्यहि भन्नुपर्छ । यो दुई वर्षमा मेयरसाबसँग सबैभन्दा नजिक काँग्रेसका वडाध्यक्षहरु छन् र अर्को कुरा मेयरसाबले बजेट कुन पार्टीले जितेको भन्ने नभनी त्यहाँको आवश्यकता के हो भन्ने बुझेर दिनुभएको छ । तपाईँले हेर्न सक्नुहुन्छ नेपाली काँग्रेसबाट विजय भएका ११ वटा वडाहरु छन्, ती वडाहरुमा पनि विकास भएको छ । अझ ठुलठुला बजेट त तिनै वडामा परेका छन् । त्यसकारण मेयरसाबले पूर्वाग्राही भएर बजेट वितरण गर्नुभएको कुरामा म कुनै हालतमा सहमत छैन । विरोध त साथीहरुले गर्न पाउनुहुन्छ र त्यहाँ पार्टीका कुराहरु पनि होलान्, त्यसमा मलाई केही भन्नुछैन र मेयर साबले कुनै विभेद गर्नुभएको छैन । यत्ति कुरा म ढुक्क भएर भन्न सक्छु ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja