व्यास नगरपालिकाको पर्यटन प्रवर्धनमा १२ करोडको योजना



पोखरा

व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि रु १२ करोडको योजना प्रस्ताव गरिएको छ ।

आगामी आव २०७६/७७ को बजेट निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि गठित समितिले रु १२ करोड २९ लाखको योजना प्रस्ताव गरेको हो । पर्यटन प्रवद्र्धन समितिका सल्लाहकार हरिसिं गुरुङले पर्यटनमार्फत नगरलाई समृद्ध बनाउन सकिने भएकाले विभिन्न योजना समेटेर प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन नीति तथा कानूनअनुरुप रणनीति तथा नियमन गर्ने संयन्त्रको विकासका लागि दुई लाख, ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदा संरक्षण र विकासका लागि तीन करोड १९ लाख, पर्यटन सेवा तथा पूर्वाधार विकासका लागि तीन करोड ५० लाख, पर्यटन जनशक्ति विकासका लागि ४७ लाख ५० हजार र पर्यटन तथा वातावरण सचेतना कार्यक्रमका लागि दश लाख प्रस्ताव गरिएको छ ।

पर्यटन विकासका लागि नमूना परियोजना तर्जुमा तथा सञ्चालनका लागि तीन करोड ४५ लाख, संस्थागत विकासका लागि सात लाख, पर्यटन गुणस्तरमा अभिवृद्धिका लागि सात लाख, पर्यटकीय गन्तव्यको प्रवद्र्धन तथा बजारीकरणका लागि ६१ लाख पस्ताव गरिएको छ । पर्यटन विविधिकरणका लागि पाँच लाख, समृद्धिका लागि पर्यटन, पर्यटनका लागि पूर्ण सरसफाइ अभियानका लागि २० लाख, अभिलेखीकरण तथा प्रकाशनका लागि चार लाख, नेपाल भ्रमण वर्ष सन् २०२० लक्षित कार्यक्रमका लागि ७१ लाख ५० हजार र अनुगमन तथा मूल्याङ्कनका लागि रु सात लाख बजेट प्रस्ताव गरिएको छ । समितिले नगरपालिकाका ऐतिहासिक, धार्मिक एवं पुरातात्विक सम्पदाको संरक्षण तथा विकासका लागि पर्यटकीय गन्तव्य पहिचान गरेको छ । सो अन्तर्गत तनहुँसुर दरवार क्षेत्र संरक्षण एवं विकास, व्यास परासर क्षेत्र विकास, छाब्दीवाराही क्षेत्र विकास, क्यामिन कालिका मन्दिर क्षेत्र, गलेखामकोट भैरवी मन्दिर क्षेत्र विकास र शहीद पार्क पुलिमराङ विकास कार्यक्रमलाई पर्यटन योजनामा समेट्नुपर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै सांस्कृतिक सम्पदा संरक्षण एवं विकास कार्यक्रमअन्तर्गत विभिन्न मठमन्दिर, गुम्बा, क्होइबो, चर्च, नगरपालिकास्थित लोपोन्मुख एवं जीवन्त अर्मूत सांस्कृतिक सम्पदाको संरक्षण एवं विकासलाई जोड दिइएको छ । पर्यटकीयस्थलहरुमा सहज पहुँचका लागि पर्यटन मोटरमार्गको विकास तथा स्तरोन्नतिमा जोड दिँदै कलेस्ती–छापथोक–कात्तिकेचौर–दलभञ्ज्याङ–पोखरीछाप–पुलिमराङ मोटर मार्ग, छाब्दी–कुलुङ–बन्दीपुर पर्यटन मार्ग, तनहुँसुर , बुद्धसिं, केशवटार र लालध्वज मोटरमार्ग स्तरोन्नतिका लागि नगरपालिकाले प्राथमिकता दिनुपर्ने प्रस्ताव गरिएको गुरुङले जानकारी दिनुभयो । दिगो पर्यटन विकासका लागि मौजुदा पदमार्गहरुको व्यवस्थापन कार्यक्रमअन्तर्गत क्यासमिरी पदमार्ग, मानहुँकोट पदमार्ग, दमौली–बन्दीपुर पदमार्ग, बुद्धशान्ति पदमार्गको मर्मत सम्भारमा जोड दिइएको छ । पर्यटन जनशक्ति विकासका लागि अतिथि सत्कार तथा होमस्टे, साना होटल तथा लज व्यवस्थापन, हस्तकला उत्पादन तथा गुणस्तर तालीममा जोड दिइएको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० लक्षित कार्यक्रमअन्तर्गत पृथ्वीराजमार्गका होटल तथा रेष्टुरेन्ट क्षमता विकास तथा स्तरोन्नति कार्यक्रम, विश्व पर्यटन दिवस तथा नगरपालिकाका उत्कृष्ट पर्यटन व्यवसायी एवम पर्यटनकर्मी सम्मान, नगरपालिकाको पर्यटकीय वृत्तचित्र निर्माणलाई नगरपालिकाले प्राथमिकता दिनुपर्ने प्रस्ताव छ । नगरपालिकाको एकल प्रयासले मात्रै यी सबै कार्यक्रम सञ्चालन गर्न कठिन रहेकाले सङ्घीय, प्रदेश सरकार, छिमेकी पालिका, पर्यटन विभाग, निजी क्षेत्रलगायतसँग सहकार्य गर्नुपर्ने पर्यटनविज्ञ गुरुङले बताउनुभयो । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कृषि, पर्यटन र शिक्षालाई अग्रणी भागमा राखेर नगरपालिकाले आगामी वर्षको योजना तर्जुमा गर्न लागेको बताउनुभयो । उहाँले धार्मिक, ऐतिहासिक, प्राकृतिक सम्पदा र विविध सांस्कृतिक पक्षलाई पर्यटनसँग जोडेर कार्यक्रम बनाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja