बागलुङका किसानलाई आलु भित्र्याउन चटारो



पोखरा

बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ ।

ताराखोलाको मुख्य बालीको रूपमा रहेको आलु नियमित वर्षाले बारीमै कुहिने भएकाले किसानलाई भित्र्याउन भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । असारको पहिलो सातादेखिनै ताराखोलाका किसानले आलु भित्र्यउन थालेको गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी किसान दिलकुमारी पुनले बताइन् ।

यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । “अर्मपर्म गरेर आलु खन्ने काम भइरहेको छ, एक दिनमा एउटा मात्रै बारीको पाटो खनेर सकिन्छ,” उनले भनिन्, “यस वर्ष आलु राम्रो फलेको छ ।” आलुको फसल लिँदै गरेका किसान खुसी छन् । यहाँ उत्पादन भएको आलु देशका अधिकांश सहरमा पुगे पनि किसानको हातमा भने मूल्य कम आउने गरेको पुनको गुनासो छ ।

ताराखोलाको आलुको अहिले गण्डकी प्रदेश मात्रै होइन्, देशको ठूलो सहर काठमाडौँमासमेत चर्चित छ । किसानको मुख्य आम्दानीको रूपमा रहेको आलुको माग बढेसँगै आलुखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । यस गाउँपालिकामा गत वर्ष मात्र रु सात लाख १२ हजार पाँच सय ६८ किलो आलु उत्पादन भएको कृषि शाखाको तथ्याङ्क छ । यो वर्ष उत्पादन अझै बढ्ने अपेक्षा छ । आलुका लागि बजार सजिलै पाइने भएकोले किसानले हरेक वर्ष आलु उत्पादन बढाउने प्रयास गरेको ताराखोला–५ वडाध्यक्ष मनबहादुर रोकाले बताए ।

यहाँका किसानले घरमा आएका पाहुनालाई आलु खुवाउनेदेखि कोसेली पठाउनेसमेत गर्छन् । पछिल्लो समय किसानले आलुको बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । खाद्यान्नबाली कम फल्ने भएकाले यहाँका किसानले आलुको बिक्रीबाट आएको पैसाले खाद्यान्न खरिद गरेर गर्जो टार्नाका साथै बँचेको पैसाले घरखर्च पनि चलाउँछन् ।

आलुबाट चिप्स बनाउने उद्योग पनि ताराखोलामा केही वर्ष अघिदेखि सञ्चालनमा छ । उक्त उद्योगलाई व्यवस्थित गरेर लैजान र किसानलाई व्यावसायिक बनाउने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए । ढोरपाटन नगरपालिकाको ढोर, काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनीको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रिवन पनि आलुका लागि प्रख्यात ठाउँ हुन् । ताराखोलाको आलु प्रतिकिलो रु ४० र एक पाथीको रु दुई सयमा बिक्री हुँदै आएको स्थानीय किसान शर्मिला रोका मगरले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja