गगनगौडा र भरतपोखरी जोड्ने मोटरेबल पुल १७ महिनादेखि अलपत्र



 

पोखरा

पोखरा महानगरपालिका–३२ गगनगौडा र वडा–३३ भरतपोखरी जोड्ने लामगादीस्थित सेती नदीमा निर्माण गरिएको मोटरेबल पुल लच्किएको १७ महिना बितिसक्दा पनि पुनःनिर्माण सुरु भएको छैन ।

६० टन भार क्षमताको उक्त पुल निर्माण सम्पन्न भई परीक्षणका लागि टेको निकाल्ने क्रममा २०७८ माघमा लच्किएको थियो । पूर्वाधार विकास विभाग (डोली) ले ७ करोड लागतमा पुल निर्माण गरेको थियो । पुल तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि तत्कालीन समय कोरोनाको बहाना बनाउँदै दुई पटकसम्म म्याद थपिएको थियो । प्रयोगमा नआउँदै लच्किएको उक्त पुल अलपत्र बनेको छ ।

पोखरा–३२ का ६० वर्षीय इन्द्रबहादुर महत क्षेत्रीले गुणस्तरहीन सामान प्रयोग हुँदा पुल लच्किएर अलपत्र परेको बताए । ‘ढलान भइसकेर अब दुई/चार दिनभित्र गाडी चल्छ भन्ने लागेको थियो,’ उनी भन्छन्, ‘अहिले त पुलको ढलानसमेत भत्किएको छ ।’ पुल निर्माणकै बेला बांगो देखिएको र पुलमा प्रयोग गरिने सामान गुणस्तर नभएकोबारे आवाज उठाए पनि सुनुवाइ नभएको उनले बताए ।

पोखरा–३१, ३२ र ३३ वडाका बासिन्दाले प्रत्यक्ष रूपमा सेवा लिने यो पुल पोखरा बाइपासका रूपमा लिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । अलपत्र बनेको यो पुलले अब काम नदिने उनको भनाइ छ । ‘यसको विकल्पमा अर्को पुल निर्माण गर्नुपर्ने आवाज उठाइरहेका छौं,’ उनी भन्छन्, ‘तर, १७ महिना बित्यो के गर्ने भन्ने विभागले निर्क्योल गर्न सकेको छैन ।’ पुल निर्माणको जिम्मा इलाइट कन्स्ट्रक्सन प्रालिले पाएको थियो । स्रोतका अनुसार निर्माण कम्पनीले विभागबाट सम्झौता रकमको ६० प्रतिशत भुक्तानी पाइसकेको छ ।

विभागको स्थानीय सडक पुल कार्यक्रममार्फत २०७५ पुस २२ मा पुल निर्माण १८ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ६१ मिटर लम्बाइको पुलको डिजाइन स्वीस सरकारले सहयोग गरेको प्राविधिक टोलीले गरेको थियो । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा स्याङ्जा र पोखरालाई जोड्ने यो पुल अलपत्र परेपछि यस क्षेत्रका स्थानीय विकल्पको पर्खाइमा छन् ।

पुल निर्माणको प्रत्यक्ष निगरानी गरेका विभागका पुल शाखा प्रमुख कृष्ण कटुवालले यो पुललाई पुनर्निर्माण गर्ने प्रयास जारी राखेको बताए । पहिले नै डिजाइन गरेको कम्पनीले पुनः डिजाइन गरी फाइनल प्रति विभागमा बुझाएको उनले बताए । पुल लच्किएपछि ७ दिनको म्याद राखेर कटुवालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले पनि पुल लच्किनुको यथार्थ कारण पत्ता लगाउन नसकेको उनले स्वीकार गरे । ‘पुल समस्या समाधानका लागि पुनः सुधार गरेर सञ्चालनमा ल्याउन प्रयासरत छौं,’ कटुवालले भने, ‘विकल्प परीक्षण गरिरहेका छौं । पुलको ढलान भत्केको छ । अन्य परीक्षण जारी छ ।’

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja