बन्दीपुरमा निर्माणाधीन केबलकार अन्तिम चरणमा



पोखरा

बन्दीपुरलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसाथ निर्माणाधीन केबलकार परीक्षण अन्तिम चरणमा पुगेको छ ।

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले अत्याधुनिक होटलसहितको केबलकार निर्माण गरिरहेको हो ।यसले बन्दीपुरको पर्यटन विकासमा थप टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन् । केबलकारमा आवश्यक सम्पूर्ण मेकानिकल सामग्री जडान गरिसकिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जनाए । मेकानिकल सामग्री जडानसँगै पहिलो चरणमा रोपको परीक्षण र दोस्रो चरणमा गोन्डोला (केबलकारको डिब्बा) मार्फत सामान बोकेर लोड परीक्षण गरिसकिएको छ ।

आइतबारदेखि मानिस बोकेर तेस्रो चरणको परीक्षण गरिने उनले बताए । ‘परीक्षणका क्रममा देखिएका समस्या समाधान गर्दै लगेका छौं,’ शर्माले भने, ‘यो अन्तिम चरणको परीक्षणपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, टीयूभी प्रमाणपत्र र अन्य सबै खालका सुरक्षा एवं सम्पन्नतासम्बन्धी प्रमाणपत्र प्राप्त भएसँगै केबलकारलाई व्यावसायिक रूपमा सञ्चालन गर्नेछौं ।एकदेखि डेढ महिनाभित्र व्यावसायिक रूपमा केबलकार सञ्चालन गर्ने कम्पनीको तयारी छ ।

पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रमाणपत्र प्राप्त भएपछि औपचारिक रूपमा केबलकार सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीका गुणस्तर एवं प्रविधि इन्स्पेक्सन डाइरेक्टर सुप्रियो मण्डलले जनाए । कम्पनीले केबलकारमा ३१ वटा डिब्बा सञ्चालनमा ल्याउने भएको छ । यसमा २१ वटा डिब्बा मानिस बोक्न, २ वटा सामग्री ओसार्न, ६ वटा रेस्टुरेन्ट सञ्चालन गर्न र २ वटा एड्भेन्चरका लागि प्रयोग गरिने उनले बताए । एड्भेन्चरका लागि प्रयोग गरिएका डिब्बामा बस्न सिट नहुने र रेस्टुरेन्ट डिब्बामा साँझ ५ देखि राति ११ बजेसम्म रेस्ट्रो सञ्चालन गरिनेछ ।

प्रतिघण्टा ५ सय यात्रु बोक्ने क्षमता रहेको केबलकार बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालनमा ल्याउने बताइएको छ । पृथ्वी राजमार्गको केबलकार चोकदेखि बन्दीपुरसम्मको दूरी १ हजार ७ सय मिटर छ । ‘बटमस्टेसन ठूलो ढुंगाबाट चढेका मानिस बरालथोकस्थित ५ तारे होटलको १७ औं तलामा उत्रिन्छन् । होटलमै सुविधासम्पन्न रेस्टुराँ र सानदार, आरामदायी कोठाको पनि व्यवस्था छ,’ कम्पनीका कार्यकारी निर्देशक किरण पोख्रेलले भने । होटलको काम ९५ प्रतिशत सकिएको र मंसिरबाट सञ्चालनमा ल्याउने तयारी रहेको उनले जनाए । पाँचतारे होटलमा ८२ वटा कोठा छन् । केबलकारको बटम स्टेसनमा आकर्षक बगैंचा र टुरिस्ट कोर्ट रेस्टुरेन्ट (ड्राइभ इन) ब्रान्ड सञ्चालनमा ल्याउने तयारीमा कम्पनी छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja