मुग्लिन–पोखरा सडक : कालोपत्रको कामलाई तीव्रता



पोखरा

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।

चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, “बरादीबाट डुम्रेतर्फको भागमा कालोपत्रको काम भइरहेको छ, यो आवमा सात किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य हो ।”उनका अनुसार उक्त खण्डमा यसअघि कालोपत्रका लागि परीक्षण गरिएकामा परीक्षण सफल भएपछि अहिले कालोपत्र नै गरिएको हो । अहिले दुई लेनमा मात्रै सडक कालोपत्र गर्ने काम भइरहेको पाण्डेले बताए ।

“सवारी साधनलाई आगमन सहज बनाउन एकातर्फमात्रै सडक कालोपत्र भइरहेको छ”, उनले भने । वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उक्त खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको सुवेदीको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डको कामको गति भने सुस्त छ । निर्माण कम्पनीका कारणका यो खण्डमा काम सुस्त रहेको बताइएको छ ।

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । इन्जिनियर पाण्डेका अनुसार घरटहरा भत्काउन ८३ जनालाई पहिलो किस्ता बापतको रकम भुक्तानी गरिएको छ ।  घरटहरा हटाउनका लागि रु २२ करोड ४५ लाख मुआब्जा आवश्यक पर्नेमा रु १४ करोड ५० लाख भुक्तानी भइसकेको पाण्डेले बताए । पाण्डेका अनुसार हालसम्म चार सय ७२ घरटहरा भत्काइएको छ । त्रियासी जना लाभग्राहीले पहिलो किस्ता लगेर संरचना भत्काउन सुरु गरेका छन् । त्यस्तै पहिलो किस्ताका लागि रु दुई करोड रकम माग गर्दै निवेदन आएको छ ।

“निवेदन आए पनि अहिले भुक्तानीका लागि रकम नभएकाले केही समय भुक्तानी दिन सक्ने अवस्था छैन, रकम आउनेबित्तिकै उनीहरुलाई पनि भुक्तानी हुन्छ”, पाण्डेले भने । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकतालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja