खुला दिसामुक्त क्षेत्र घोषणा भएकै बस्तीमा ८ सय परिवार शौचालयविहीन



 

पोखरा

बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको १० वर्ष पूरा भइसक्दा पनि व्यवहारमा भने यसले पूर्णता पाउन सकेको छैन ।

खुला दिसामुक्त क्षेत्र घोषणा भएकै बस्तीमा शौचालयविहीन परिवार रहेको भेटिएको छ ।वि. सं २०७० मा सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ घोषणा गरिएको थियो । तर अझै ८ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले जनाएको छ ।

जिल्लामा रहेका ६४ हजार एक सय ५३ घरपरिवारमध्ये ८ सय ६५ घरमा अझै शौचालय नभएको पाइएको तथ्याङ्क कार्यालय बागलुङका प्रमुख चन्द्रकान्त सुवेदीले जानकारी दिए । उनले जिल्लाको तथ्याङ्क सार्वजनिक गर्दै अझै पनि ८ सय ६५ घरपरिवारमा शौचालय नभएको, कुवा तथा खुला इनारको पानी प्रयोग गर्ने पाँच सय ३१ परिवार र नदी तथा खोलाको पानी प्रयोग गर्ने तीन सय १६ परिवार रहेको जानकारी दिए ।

सुवेदीका अनुसार जिल्लामा एक सय ६७ सार्वजनिक शौचालय छन् भने सार्वजनिक ढलमा मिसिने शौचालय एक हजार ८ सय ६५, सेफ्टी ट्याङ्की भएका ४७ हजार दुई सय ६४ परिवार र साधारण खाल्टे शौचालय भएका १३ हजार नौ सय ४२ घरपरिवार छन् । बाढीपहिरोको जोखिम भएका स्थानमा कतिपयले खाल्टे शौचालय प्रयोग गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख तुल्सी बस्नेतले बताए । छिट्टै भत्किने, पहिरोले बगाउने, बाढीले पुर्नेलगायत समस्याका कारण कतिपय घरमा शौचालय नभएको उनको भनाइ थियो ।

‘१० वर्षअघि खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो । उक्त समयमा सबैको घरमा अस्थायीसम्मका शौचालय थिए । १० वर्षको अवधिमा बढी मात्रामा परिवार छुट्टिँदा, बाढीपहिरोका कारण शौचालय नभएका घरको सङ्ख्या बढे्को हो,’ प्रमुख बस्नेतले भने । अहिलेको सरसफाइको जिम्मेवारी स्थानीय तहलाई दिइएको भन्दै उनले जिल्लामा खानेपानी आयोजना सञ्चालन नभएका, अझै खोला र खुला कुवाको पानी पिइरहेका परिवार धेरै रहेको बताए ।घरमा शौचालय नभए पनि सार्वजनिक तथा संयुक्त रुपमा रहेका शौचालय प्रयोग गर्ने परिवार रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । तथ्याङ्क कार्यालयका प्रमुख सुवेदीका अनुसार जिल्लामा रहेको ६४ हजार एक सय ५३ घरपरिवारमध्ये तीन प्रतिशत परिवारमा शौचालय नभएको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ को नतिजाले देखाएको हो ।

जिल्लाका तत्कालीन सबै गाविसमा घर–घरमा चर्पी निर्माण सम्पन्न भइसकेको भन्दै नेपालको ८औं खुला दिसामुक्त जिल्लाको रुपमा वि सं २०७० माघ १६ गते घोषणा गरिएको थियो । खुला दिसामुक्त जिल्ला घोषणा भएको १० वर्षपछि ८ सय ६५ घरमा शौचालय नभएको पाइनु दुःखद् रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । सार्वजनिक तथ्याङ्कका आधारमा जिल्लामा सरसफाइको अवस्था नाजुक रहेको देखाएको उनको भनाइ छ । शौचालयको अभावले खुला स्थानमा दिसा, पिसाब गर्दा आउँ, हैजा, झाडापखलालगायत रोगको सङ्क्रमण फैलिने भएकाले सबैले शौचालय बनाउनुपर्नेमा बरालले जोड दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja