म्याग्दीको स्वादिलो रातो च्याउ कोसेलीका रुपमा पुग्योे विदेशसम्म



पोखरा

म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ ।

रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले रातो च्याउलाई कोसेलीका रुपमा लैजाने गरेका छन् । मालिका गाउँपालिका २ रुमकीबेलकुमारी सुनारले अमेरिका, जापान बेलायत, हङकङलगायत देशमा रहेका आफन्तलाई कोसेली पठाउन जङ्गली रातो च्याउ खरिद गर्न टाढा–टाढाबाट मानिस गाउँमा नै आउने गरेको बताउनुभयो ।

“विदेशमा रहेका आफन्तलाई कोसेली पठाउनका लागि दरवाङ बजारबाट २० किलो रातो च्याउको माग आएको छ, त्यसैका लागि तीन जनालाई दैनिक ज्याला दिएर लेकतिर च्याउ खोज्न पठाएकी छु”, सुनारले भन्नुभयो । उहाँले जङ्गलबाट खोजेर ल्याएको रातो च्याउलाई घाममा सुकाएर सुकुटी जस्तो बनाइ बिक्री गर्दै आउनुभएको छ । “घुम्न आउने पर्यटकले पनि किनेर लैजान्छन्, अहिले च्याउको सिजन भएकोले प्रतिकिलो रु आठ सयदेखि रु एक हजार दुई सयसम्ममा बिक्री गरेका छौँं” उहाँले भन्नुभयो ।

म्याग्दीका गुर्जा, लुलाङ, मुदी, ओखरबोट, देवीस्थान, रुम लगायतका ठाउँका जङ्गलमा यो च्याउ पाइन्छ । जेठदेखि असोजसम्म उच्च लेकाली जङ्गलमा पाइने यो च्याउ शुद्ध प्राकृतिक च्याउ भएकाले यसको सेवनले विभिन्न किसिमका रोगसमेत निको हुने दरवाङका हीराबहादुर सिउथानी मगरको भनाइ छ । लेकबाट दरवाङ बजारमा झारेपछि यो च्याउ खोसाखोस नै हुन्छ । स्वदेशी पाहुनाले पनि च्याउ किनेर कोसेली लैजाने गरेका र विदेशमा भएका आफन्तले माग गरेपछि ताजा च्याउ खरिद गरेर सुकाइ सुकुटी बनाउन लागेको दरवाङ बजारकी तिला बूढाथोकीले बताउनुभयो । उहाँले करिब २० किलो च्याउको सुकुटी बनाएर राख्नुभएको छ ।

विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुराँका मेन्युमा रातो च्याउ परिकारका रुपमा पाइन्छ । रातो च्याउ स्वादिलो, तागतिलो, पोषिलो र स्वस्थकर हुने भएकाले विदेश तथा देशका विभिन्न बजार क्षेत्रमा रातो च्याउको माग बढेको हो । बेनीको कोसेली घरकी सञ्चालक पुष्पा पुनले म्याग्दी घुम्न आउने पाहुनाले रातो च्याउ किनेर लैजाने गरेका बताउनुभयो । यसको आकार पङ्खा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ ।

त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्रा पानीमा उमालेर रस चियाको रुपमा पिउनुपर्ने हुन्छ । यसमा पोलिसचाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीयतत्व रहेका हुन्छन् । त्यसैगरी प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टिक तत्व पनि पाइन्छ । यी तत्वले गर्दा हाम्रो शरीरमा रोगप्रतिरोधि क्षमता बलियो हुने आर्युवेदिक चिकित्सकहरु बताउँछन् । त्यसकारण पनि यो च्याउ सेवन गर्नाले विभिन्न रोग लागेका बिरामीलाई पनि फाइदा हुनेगर्दछ ।

औषधीय र पौष्टिक तत्वले भरिपूर्ण भएका कारण पनि विश्वभर यो च्याउको प्रयोग बढ्दै गएको छ । यो च्याउ क्यान्सर र एचआइभी एड्स रोगीका लागि अति उत्तम मानिने आर्युवेदिक चिकित्सक रघु शर्मा सापकोटाले बताउनुभयो । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रातो च्याउको व्यावसायिक खेती समेत सुरु गरिएको छ । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । गुर्जामा रातो च्याउ, बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja