गलकोटको दरमखोलामा बाढी



पोखरा

गत शनिबार रातिदेखि परेको वर्षाले गलकोट नगरपालिकाको मध्यभागबाट बग्ने दरमखोलामा बाढी आयो । बाढीले आसपासका संरचना बगायो ।

बाढीले खोला किनारका केही घरटहरा बगाएको सूचना प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई आयो । श्रेष्ठले तत्काल सुरक्षा निकायका प्रमुखलाई यो खबर गरिन् । उनले नेपाली सेनाको खोजी तथा उद्दार टोलीलाई जानकारी गराएर उद्दारमा खटिन आदेश दिइन् । जिल्ला सुरक्षा समितिको प्रमुखको नाताले श्रेष्ठको आदेशले नेपाली सेनाको घोडाबाँधेस्थित श्रीमेहर गणबाट प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठको नेतृतवमा अपरेशन इन्चार्ज सेनानी अभय थापासहितको खोजी तथा उद्दार टोली गलकोट प्रस्थान गर्‍यो ।

गलकोट नगरपालिका वडा नं ७ को आँगखेत मुनिको ढलेपिपलमा ठूलो पहिरो गएको थियो । दरमखोलाको बाढी र पहिरोले खोला थुनिएर ताल बनेको थियो । उक्त तालमा केही मानिस फसेको सूचना प्राप्त भएकोले डुबेका नागरिकको खोजी र उद्दारमा एक टोली खटियो । खोलामा बगेका नागरिकको खोजीमा अर्को टोली खटियो । घाइतेको उपचारमा मेडिकल टिम खटिएको थियो । एम्बुलेन्सहरु तयारी अबस्थामा थिए । सेनाले डोरीको सहायताले तालमा फसेकालाई उद्दार गरेर प्राथमिक उपचार गरायो । कृत्रिम श्वास दिएर होसमा ल्याउने काम गर्‍यो । बाढीले बगेकाहरुलाई भेटाएर उनीहरुको घाउमा औषधि उपचार र पट्टी बाँधेपछि एम्बुलेन्स मार्फत उपचारकालागि अस्पतालमा पठाइयो ।

सामान्य घाइतेहरु प्राथमिक उपचारपछि घर फर्के । घरटहरा बगेकाहरु रोइकराइ गरिरहेका थिए । उनीहरुलाई सम्झाउने र बुझाउने काम भयो । जिल्ला सुरक्षा समितिबाट राहत दिएर उनीहरुलाई खानेबस्ने व्यवस्थापन सुरक्षा समितिले गर्‍यो । रेडक्रसले पाल तथा भाँडाकुँडा सहयोग गर्‍यो । स्थानीय तहका प्रमुख, वडा अध्यक्षहरु ल्गायतले स्थानीयलाई समाजमा पुनःस्थापनाकालागि भूमिका खेले । उनीहरुका भत्केका/बगेका घरटहरा बनाउने काममा स्थानीय तहले सहयोग गर्ने नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

सोमबार दिनभर गलकोटमा भएका ती डरलाग्दा घटना सबै कृत्रिम थिए । नेपाली सेनाले बाढी पहिरोबाट बच्ने र संभावित जोखिम न्युनिकरणकालागि गरेको कृत्रिम घटना अभ्यास भएपनि गलकोटमा सोमबार बास्तविक घटना झै देखिन्थ्यो । नागरिक पनि एम्बुलेन्सको साइरन सुनेर घटनास्थल तर्फ दौडेका थिए । उनीहरुले पहिला वास्तविक घटना झै हेरेपछि दुर्घटना भइहालेमा गर्नुपर्ने उद्दारको नमूना सिक्न पाएको स्थानीय आरजे सहानीले बताए ।

शनिबार दिउँसोदेखि नै यहाँ वर्षात् भएकोले आइतबारको घटना पनि वास्तविक झै लागेको स्थानीय थम्मन थापाले बताए । ‘शनिबार राति वर्षात् भएकोले घटना यथार्य जस्तै देखियो,’ उनले भने, ‘आम नागरिक र समाजका स्वयंसेवीलाईपनि यो अभ्यासले सर्तक रहन सिकाएको छ ।’ सेनाले तीन दिनअघिदेखि नै स्थानीय ३१ जना नागरिकलाई घटना अभ्यासबारे तालिमसमेत दिएर आइतबारको कार्यक्रममा परिचालन गरेको थियो ।

सेनाका तालिम प्राप्त १ सय ५० जनाको उद्दार टोलीले त घटनामा प्रत्यक्ष रुपमा पानीमै डुबेर काम गरेका थिए । तालमा डुबेकालाई लाइफ ज्याकेट लगाएपछि उद्दारमा सहज भएको थियो । बगेर घाइते भएकोले प्राथमिक उपचारमा बढी ध्यान दिइएको थियो । ‘विपत् बाजा बजाएर आउँदैन भन्ने सन्देश दिन यो काम गरिएको थियो,’ प्रमुख सेनानी श्रेष्ठले भने, ‘नागरिकको सुरक्षा र बिपद न्युनिकरणमा सेनाले कसरी काम गरेको छ भन्ने यो सन्देश पनि हो ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja