पोखराको तालचोक-बेगनास सडक चार लेनको बनाइने



 

 

पोखरा

पोखरा महानगरपालिका–२७ तालचोकबाट बेगनास ताल जाने सडकको स्तरोन्नतिको काम सुरु भएको छ ।

दुई वर्षमा स्तरोन्नति सकिने गरी सोमबार तालचोक–बेगनास सडकखण्डको शिलान्यास गरिएको छ । विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको सडकको पोखरा महानगर प्रमुख धनराज आचार्यले सोमबार शिलान्यास गरेका हुन् ।

नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत विश्व बैंकले सडक स्तरोन्नति गर्न लागेको हो । सडक स्तरोन्नतिका लागि विश्व बैंकले १ अर्ब ४९ करोड १५ लाख लगानी गरेको छ । ३.२८ किलोमिटर लम्बाइ रहेको यस सडकको स्तरोन्नतिको ठेक्का स्वच्छन्द सपना वर्ल्डवाइड जेभीले पाएको छ । स्वच्छन्दसँग गत असार २० मा ७५ करोड ४८ लाख ६७ हजार रुपैयाँ बराबरको ठेक्का सम्झौता भइसकेको छ । परामर्शदाताको कामका कारण हालसम्म सडक स्तरोन्नति कामको शिलान्यास हुन पाएको थिएन । महानगरले अहिले पीएडीएन सोइल टेस्ट कन्सलटेन्टसँग नयाँ सम्झौता गरेर काम सुरु गर्न लागेको हो । ठेक्का सम्झौताअनुसार २०८१ चैत्र २६ सम्म सडक स्तरोन्नतिको काम सकाउनुपर्नेछ ।

४ लेनको सडकमा डिभाइडर, साइकल ट्र्याक, फुटपाथ राखिनेछ । यस सडक खण्डमा ५ वटा पुल निर्माण गरिने जनाइएको छ । पोखरा महानगरपालिकाका इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार सडकको बीचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङको व्यवस्था हुनेछ । सडक स्तरोन्नतिका लागि सडक सीमाभित्र रहेका घरटहरा हटाइसकिएको छ । सरकारले २०३५ सालमै सडकका लागि जग्गा छुट्याएर २०४७ सालभित्रै मुआब्जा पनि दिएर जग्गाको लगत कट्टा गरिसकेको छ ।

काम सुरु भएपछि कुनै पनि बाहनामा काम नरोकिने पोखरा महानगर प्रमुख आचार्यको दाबी छ । ‘काम सुरु भएपछि कुनै पनि हालतमा रोकिने छैन । कुनै बाहनाबाजी चल्नेवाला छैन, समयमा काम सकाउनुहोला,’ ठेकेदार कम्पनीलाई आचार्यको निर्देशन छ । ठेकेदार कम्पनीका नारायण भुसालले तोकिएकै समयमा काम सकाउने प्रतिबद्धता व्यक्त गरे । तर कामका बेला स्थानीय र महानगरबाट सहयोग हुनुपर्ने उनको माग छ । परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले वैशाखको पहिलो साताबाट सडक स्तरोन्नतिको काम थालिने बताउँदै कामका बेला देखिने समस्यालाई साझा समस्या मानेर समाधान गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja