फेवा नववर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई ध्यान दिन सुझाव



पोखरा

फेवा नववर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् ।

होटल संघ पोखरा नेपालले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सुरक्षाको विषय संवेदनशील भएको भन्दै महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत रहनुपर्ने सुझाव राखे । यसैगरी महोत्सवकै समयमा रेष्टुरा र होटलमा खान, बस्न तथा अन्य पर्यटकीय सेवामा के कस्तो छुट र सहुलियत छ भनी व्यवसायीले जिज्ञासा राखेका थिए । 

पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले संघमा दर्ता नभएका होटलले महोत्सवको अवसरमा महंगो शुल्क अशुल्दा गलत सन्देश गएको अनुभव सुनाए । मुनाफा कम गरेर भए पनि यस्तो बेला उपभोक्तालाई छुट दिन सक्नुपर्नेमा जोड दिइएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेवा महोत्सव एउटा ब्राण्डकैरुपमा स्थापित भइसकेको बताउँदै यसलाई अझै परिस्कृत र बृहत ब्राण्डिङ गरेर अगाडि बढ्नुपर्ने सुझाव राखे ।सकेसम्म होटलहरुले कोठाको मूल्य पहिला नै सार्वजनिक गरेर प्रि-बुकिङको सुविधा दिनसके राम्रो हुने सुझाव पनि उनले राखे । सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमबाट प्रचार-प्रसारको कामलाई तीव्रता दिनुपर्ने उनले बताए ।

संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सव सबै पोखरेलीको महोत्सव भएको बताउँदै यसको सफलताका लागि सम्पूर्ण पोखरेलीले हातेमालो गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । 

संघ अन्तर्गतका होटलहरुले कोठाको मूल्यमा विगतमा जस्तै २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी पनि उनले गराए । रेवान पोखरासँग सहकार्य गरेर नै आफूहरुले महोत्सवलाई अगाडि बढाउन लागेको पनि उनले सुनाए ।

खाना, संस्कृति र पर्यटनलाई मुख्य जोड दिएर पर्यटन प्नवर्द्धन गर्ने तथा कोभिड-१९ बाट अफ्ठ्यारोमा परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य महोत्सवले लिएको उनले बताए ।  पृथ्वी राजमार्गको जारी स्तरोन्नति कार्य र केही महिना अघि पोखरामा भएका जहाज दुर्घटनाले सिजनकै समयमा अहिले होटलको अकुपेन्सी निकै घटेको जानकारी पनि उनले दिए । टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले फेवा महोत्सवले पोखराको ब्राण्डिङमा सघाउ पुगेको बताए । 

नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरामा पर्यटकको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्ने बताउँदै कनेक्टिभिटीको पाटोलाई ध्यान दिन सुझाव राखे । आयोजक संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले लेकसाइड क्षेत्रलाई साँझको समयमा स्थायीरुपमा उज्यालो बनाउन वडाले पहल अगाडि बढाउनुपर्ने र यसमा व्यवसायीको सहयोग रहने भनाइ राखे ।

पार्किङ व्यवस्थित गर्न, डिजिटल बोर्डमा सांस्कृति कार्यक्रम देखाउन, होटलको प्याकेज ल्याउन, लेकसाइड झलमल पार्न, ठाउँ-ठाउँमा सेल्फि बोर्ड राख्न, खानाको मूल्य र हाइजिनमा ध्यान दिन पनि सो अवसरमा सुझाव राखियो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेल, नेपाल पर्वतारोहण संघ गण्डकीका सदस्य शेषकान्त शर्मा, गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकीका अध्यक्ष उदय सुवेदी, महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष उमा रेग्मी भण्डारी, नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष बाबुराम पाण्डे, परिषद्का सदस्य जीवनराज सापकोटा, पर्यटन व्यवसायी महिला संघ नेपालकी महासचिव अनिता खड्का भट्टराई, व्यवसायी बलराम पहारी, संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, महासचिव राजेन्द्र ढकाललगायतले भनाइ राखेका थिए ।

चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्म फेवा नववर्ष महोत्सव हुँदैछ । महोत्सव अन्तर्गत ४ नम्बर स्ट्रिट अगाडि र सेन्ट्रल प्वान्टमा स्टेज स्थापना गरी सांस्कृतिक कार्यक्रम अयोजना हुने छन् । उद्घाटनको दिन झाँकी र र्‍याली निकालिने छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja