तनहुँको मनहरिस्थित खानेपानीको ट्याङ्कीमा भेटियो शव



पोखरा

तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ मनहरिस्थित खानेपानीको ट्यांकीमा शव भेटिएको छ ।

पृथ्वीराजमार्गको मनहरि नजिकै रहेको मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा आज बिहान शव भेटिएको हो ।

घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए । “दुई/तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्याङ्कीको ढकन खोलेर हेर्दा शव देख्यौँ”, मल्लले भने । 

पृथ्वीराजमार्ग विस्तारका क्रममा सडक छेउका पानीका पाइप पटकपटक काटिने गरेकाले सोही कारण पानी धमिलो आएको हो कि भन्ने शङ्का आफूलाई भएको उनले बताए । “दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज दुई जना भएर ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ”, मल्लले भने ।

उनले उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको जानकारी दिए ।  “ढक्कन खोल्दा सुरुमा कपाल जस्तो देख्यौँ, पछि कपडा पनि देख्यौँ, तत्कालै प्रहरीलाई खबर गरेर बोलायौँ”, उनले भने । उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले पानी ट्याङ्कीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको बताए । “प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु भइसकेको छ, मृतकको नामथर वतन खुलेको छैन”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja