कावासोतीमा विषाक्त खानाले ६ गिद्ध मरे



पोखरा

पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको एकै ठाउँमा सोमबार ६ वटा गिद्ध मृत फेला परेका छन् भने करिब एक दर्जन बिरामी अवस्थामा फेला परेका छन् ।  

बिरामी गिद्धको उपचारकालागि राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक खटिएका छन् ।डिभिजन वन कार्यालय कावासोतीका प्रमुख मोहन काफ्लेले स्वास्थ्य परीक्षणमा विषाक्त खानाले गिद्ध मरेको पाइएको बताए । ‘विषाक्त खानाले गिद्ध मरेको परीक्षणको प्रारम्भिक रिपोर्टले पुष्टि गरेको छ,’ काफ्लेले भने, ‘४ वटा गिद्धको कावासोती साँढस्थित जटायु रेस्टुरेन्टमा उपचार भइरहेको छ ।’

पुरानो कावासोतीको उत्तरतर्फको नमुना जिल्ला सदरमुकाम र केरुंगे खोला आसपास ज्योतिकुञ्ज र अंकुर सामुदायिक वन क्षेत्रमा मरेका गिद्ध भेटिएका हुन् । गिद्ध मरेको स्थान आसपास स्याल मार्न विष खुवाइएको र स्यालको सिनो खाएका कारण गिद्ध मरेका र बिरामी भएको अनुमान छ ।

बिरामी गिद्धको उपचार र उद्धारमा चितवन निकुञ्जका स्वास्थ्यकर्मी, सेना, प्रहरी, वन रक्षक टोली खटिएको थियो । संरक्षणकर्मी डीबी चौधरीले गिद्धको बासस्थान र बच्चा कोरल्ने गुँड भएको थलो नजिकै एकैपटक ६ गिद्ध मृत भेटिएपछि संरक्षणकर्मीलाई चुनौती थपिएको बताए । त्यहाँ तीनवटा स्याल पनि मरेका थिए । व्यवसायीले आफ्ना कुखुरा र हाँस जोगाउन स्याल मार्न विषादी प्रयोग गरेको र मरेका स्याल खाएका कारण गिद्ध पनि मरेको हुन सक्ने चौधरीको भनाइ छ । ‘स्यालले हाँस र कुखुरा चोर्ने गर्छ । स्याल मार्न विषादी प्रयोग गरिएको र मरेको स्याल खाएका कारण गिद्ध भकाभक मरेको अनुमान स्थानीयको पनि छ,’ चौधरीले भने ।

हाल मृत भेटिएको क्षेत्र आसपासमा अरू गिद्ध पनि मरेको हुन सक्ने आशंकामा संरक्षणकर्मी गिद्ध खोज्न जंगल चाहारेका थिए । ‘हामीले चरा संरक्षणमा चासो राख्ने र यहाँको जटायु रेस्टुरेन्टमा खटिएका साथीहरूलाई खोज्न पठाएका छौं,’ चौधरीले भने, ‘सिनो खान गिद्धको बथान नै आउने गरेकाले अन्य गिद्ध पनि मरेको अनुमान छ ।’ उडेर टाढाटाढा पुग्ने भएकाले मृत गिद्धको संख्या यकिन हुन सकेको छैन । विषाक्त खानाले बिरामी परेका गिद्धको संख्या बढ्न सक्ने त्यहाँ खटिएका उद्धारकर्मी ईश्वरीप्रसाद चौधरीले बताए ।

‘प्राथामिक उपचार सुरु गरेको छु,’ ईश्वरीप्रसादले भने, ‘घाइते गिद्धको संख्या पनि बढ्न सक्छ । थप उपचार विशेषज्ञ चिकित्सकले गर्नुपर्ने हुन्छ ।’ गिद्ध मृत भेटिएको स्थानमा अग्ला सिमलका रूखमा गिद्धका धेरै गुँड पनि छन् । त्यसैले अरू धेरै गिद्ध पनि मरेको हुन सक्ने अनुमान गरिएको छ । स्थानीयले मरेका स्याल खान गिद्धको बथान नै आएको जानकारी दिएका छन् ।

गिद्ध मरेको भेटिएको ठाउँनजिक पुरानो कावासोती बजार आसपासको बस्तीमा कुखुरा र हाँस पालेका हुन्छन् । तीन दिनअघि कावासोतीको साँढस्थित जटायु रेस्टुरेन्टमा कसरा प्रजनन केन्द्रमा हुर्काएका १० वटा गिद्ध खुला आकाशमा छोडिएका थिए । लोपोन्मुख गिद्ध संरक्षणका लागि यहाँ स्थानीय प्रयासमा जटायु रेस्टुरेन्ट (गिद्ध रेस्टुरेन्ट) खोलेर संरक्षणको काम अघि बढेको छ । जथाभावी विशाक्त औषधिको बिक्रीवितरणमा प्रतिबन्ध लगाइए पनि लुकीछिपी खरिदबिक्री हुँदै आएको छ ।

संरक्षणको क्षेत्रमा उदाहरणीय काम भइरहेका बेला भकाभक मरेका गिद्ध फेला परेपछि संरक्षणकर्मी चिन्तित भएका छन् । नेपालमा पाइने ९ प्रजातिमध्ये ९ प्रजातिका गिद्ध कावासोती क्षेत्रमा पाइन्छन् । नेपालमा हाल करिब १५ हजारको संख्यामा गिद्ध रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja