म्याग्दीका अम्रिसो खेतीबाट मनग्य आम्दानी



पोखरा

म्याग्दीका ग्रामीण भेगका किसानलाई भिरालो जमिन र खेतबारीका डिलमा लगाइने अम्रिसो आम्दानीको बलियो स्रोत बनेको छ ।

पछिल्लो समय अम्रिसोको मूल्य वृद्धि हुँदै गएपछि यहाँका किसान उत्साही भएका छन् । दुई वर्षअघि प्रतिकिलो रु ४० का दरले मुस्किलले बिक्री हुने गरेको अम्रिसो अहिले प्रतिकेजी एक सय २५ रुपैयाँमा बिक्री हुन थालेपछि यहाँका किसान उत्साहित भएका हुन् ।

मूल्यमा उतारचढाव आइरहे पनि यो वर्ष प्रतिकिलो एक सय रुपैयाँ देखि एक सय २५ रुपैयाँसम्म किसानबाट व्यवसायीले खरिद गरिरहेका छन् । अम्रिसोको व्यापार गर्दै आएका यामबहादुर  सापकोटाले प्रतिकिलो एक सय २५ रुपैयाँ सम्म लगाएर सात क्विन्टल अम्रिसो जम्मा गरेका छन् । उनी बेनी, बागलुङ र पोखरासम्म पुर्‍याएर अम्रिसो बेच्ने गर्छन् । यस वर्ष अम्रिसोको मूल्य केही बढ्न सक्ने अनुमान गरेको सापकोटा बताउँछन्। अम्रिसो पोखरासम्म पुर्‍याउँदा गत वर्ष एक सय ४० रुपैयाँमा बिक्री गरेका उनले यस वर्ष भने एक सय ६० रुपैयाँ सम्ममा बिक्री हुने अनुमान गरेका छन् ।

पछिल्लो समय भारतबाट अम्रिसोको माग बढेर आएपछि मूल्य बढेको व्यवसायीहरूको भनाइ छ। कुनै समय बिक्रीका लागि नभई घाँस र कुचोका लागि अम्रिसो रोप्ने पहाडी क्षेत्रका किसानले बजार र मूल्य पाउन थालेपछि व्यावसायिक रूपमै खेती गर्न थालेका छन् । अम्रिसोको डाँठलाई दाउराका रूपमा र पातलाई घाँसका रूपमा प्रयोग गर्ने किसानले फुलेको भागलाई निकालेर कुचोका रूपमा बिक्री गर्दै आएका छन् । बहु उपयोगी अम्रिसोले राम्रो मूल्य पाउन थालेकाले पहाडी भेगका किसानमा उत्साह छ। अन्नबालीका लागि उपयोग हुन नसक्ने भिरालो पाखा जमिनमा समेत अम्रिसो खेती गर्न सकिन्छ । हिउँदका समयमा अन्य घाँसपात नहुँदा अम्रिसोको पात गाईबस्तुका लागि निकै उपयोगी हुन्छ । ग्रामीण भेगसम्म यातायातको पहुँच पुगेपछि यसको व्यावसायिक खेती बढेको हो ।

गुणस्तरीय जीवन विषयमा विद्यावारिधि गरेका डा माधवप्रसाद तिवारीका अनुसार अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो । यसको अङ्ग्रेजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो ।

ग्रेमिनी–पोएसी वानस्पतिक परिवारमा पर्ने यो बहु वर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुने गर्छ । यसका पातहरू ३० सेन्टिमिटरसम्म लामो र पाँच सेन्टिमिटर चौडा हुन्छन् । यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन् । मुख्यतः यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिने भएकाले यसको  महत्त्व बढेको हो  ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja