तनहुँका कुखुरापालन कृषक समस्यामा



पोखरा

तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् ।

उनीहरुले फार्मका प्रति ‘अण्डा’ रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् ।उत्पादन गर्दा रु १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन् ।  व्यास नगरपालिका-११, बेल्टारीस्थित खड्का पोल्ट्री फार्मका सञ्चालक  राजु खड्काले २१ रोपनी क्षेत्रफलमा २० हजार लेर्यस जातका कुखुरा पाल्दै आएका छन् । 

करिब रु सात करोड लगानी गरी व्यवसाय थालेका उनले करिब दश हजार कुखुरा मरेको र १० हजारमध्ये आठ हजार पाँच सय कुखुराले अण्डा दिन थालेको तनहुँ अण्डा उत्पादक सङ्घका उपाध्यक्षसमेत रहेका उनले जानकारी दिए ।  दैनिक आठ हजार पाँच सय कुखुराले अण्डा दिँदा प्रतिअण्डा रु ५.६० का दरले अहिले दैनिक रु ४७ हजार छ सय घाटा बेहोर्नुपरेको उनले दुखेसो पोखे । विसं २०७९ असारदेखि हालसम्म रु एक करोड ९७ लाख घाटा भइसकेको छ । 

उनले भने, “विचौलियका कारण कृषकले उचित मूल्य नपाएको र उपभोक्ताले पनि सस्तो मूल्यमा उपभोग गर्नबाट बञ्चित भएका छन् ।” सरकारले उत्पादन लागतका आधारमा मूल्य कायम गर्नुपर्नेमा पशुपालन व्यवसायीको माग रहेको छ । दाना चोकरको मूल्य आकाशिएको र कृषकले उत्पादन गरेका वस्तुको मूल्य यथावत नै हुँदा व्यवसायी चर्को मारमा परेको व्यवसायीको गुनासो छ । 

भानु नगरपालिका-६ स्थित नविकन पोल्ट्री फार्मका सञ्चालक नरेन्द्रबहादुर चन्दले व्यवसाय घाटामा चलाउनुपर्दा कामदारलाई तलब, बैंक किस्ता र गाडीको किस्तासमेत तिर्न नसकिएको बताए । उनको फार्ममा अहिले तीन हजार कुखुरा रहेकामध्ये दुई हजार छ सयले अण्डा दिइरहेका छन् ।

अनुदान सुकिलामुकिला र पहुँचवालाले मात्रै पाउने गरेको आरोप लगाउँदै सरकारले कृषकलाई चल्ला, अण्डा र दानामा अनुदान दिनुपर्ने उनले बताए ।

व्यास-११ स्थित सेरामा आचार्य गाई फार्म सञ्चालन गर्दै आएका रमेश आचार्यले सरकारले दूधमा प्रतिलिटर रु ६५ निर्धारण गरे पनि कृषकले रु नौ घाटा खाएर प्रतिलिटर रु ५६ मा बिक्री गर्नुपरेको बताए ।

जिल्लामा स्थानीय, उन्नत र लेर्यस गरी करिब रु साढे दुई करोड बराबरको अण्डा रहेको बताइएको छ । जिल्लामा प्रतिव्यक्ति प्रतिवर्ष ४८ अण्डा आवश्यक पर्ने भए पनि उत्पादन प्रतिव्यक्ति प्रतिवर्ष ८४ वटा पुगेको छ ।

तनहुँमा २५५ पशुपालन फार्म दर्ता भए पनि व्यावसायिक कुखुरा फार्म करिब ४० रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्लामा अण्डा, दूध र बंगुुरको मासुमा आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यात गर्न सफल हुँदै आएको छ । कृषकको लागत मूल्यअनुरुपको बजार मूल्य नपाउँदा बिक्रीवितरणमा न्यून आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja