गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन प्रक्रिया अघि बढाइदै



पोखरा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

यसका लागि सो नगरपालिकाले सङ्घीय सरकारलाई आग्रह समेत गरेको छ ।  हाल महाभारत पर्वत शृङ्खलामा रहेको सो नगरपालिकालाई चुरे क्षेत्र भनेर कायम गरिएको जनाइएको छ । गैँडाकोट नगरपालिकाले महाभारत क्षेत्रमा कायम गर्न सङ्घीय सरकारलाई सिफारिस गरी पठाउने प्रस्ताव नगर सभाबाट पारित गरिएको छ । 

गैँडाकोट नगरपालिका महाभारत पर्वत क्षेत्रमा नै पर्ने भएकाले नगरकार्यपालिका सदस्यहरुलेसमेत महाभारत क्षेत्रमा राखिनुपर्ने आवाज उठाएका थिए । चुरे क्षेत्रबाट हटाउन सङ्घीय सरकार समक्ष सिफारिस गरी पठाउने प्रस्ताव आठौँ नगर कार्यपालिकाले निर्णय गरेको थियो । सो प्रस्ताव नगर सभाले अनुमोदन गरेपछि गैँडाकोटलाई चुरेबाट हटाउन सिफारिस गरिएको हो । 

चुरे क्षेत्र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति मातहतमा रहेको छ । ‘करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृङ्खला हो’ भनेर परिभाषित गरिएको छ । यो नेपालको पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म ३७  जिल्लामा फैलिएको छ । 

तराईको कूल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्ने राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिले जनाएको छ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ । 

गैँडाकोटलाई चुरेमा राखिँदा नगरपालिकाले विकास निर्माणमा झन्झटिलो भएको, सामुदायिक वनले काठ कटान गर्न नपाएको, नगरकै विकासका लागि चुरे क्षेत्रबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने प्रक्रियामा झन्झट भएको बताउँदै आएको छ । 

विकास निर्माण र प्रक्रियामा झन्झटिलो भएका कारण गैँडाकोटलाई महाभारत क्षेत्रमा कायम गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरिएको गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले जानकारी दिए । उपभोक्ता समितिलाई असहज भएकोले पनि महाभारत क्षेत्रमा राख्न सङ्घीय सरकारलाई सिफारिस गर्न लागिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja