बेंसीसहर–डुम्रे सडकमा पहिरो निरन्तर झरेपछि सवारी यात्रु असुरक्षित 



पोखरा

लमजुङ बेंसीसहर–डुम्रे सडकको उदिपुर देउराली डाँडामा २ सातादेखि खसिरहेको पहिरो अझै रोकिएको छैन ।

पहिरो निरन्तर झरेपछि सवारी यात्रु तथा बटुवा असुरक्षित बनेका छन् ।बर्खायाममा पहिरोले सडक बगाएपछि बन्द भएको सडक गत मंसिर ४ को निर्वाचनअघि मात्रै सञ्चालनमा ल्याइएको थियो । लमजुङ र मनाङवासी हिँड्ने मुख्य सडकमै पहिरो गएपछि डाइभर्सन सडक निर्माण गरेर सवारी आवागमन गराइएको थियो । बेंसीसहर नगरपालिका–१ मा पर्ने यो ठाउँको पहिरोले सवारी यात्रु र बटुवाले दिनदिनै दुःख पाइरहेका छन् ।

‘माथिबाट पहिरो आउँदा गाडी पुरिन्छ कि भन्ने डर छ । तैपनि हिँड्नुपर्ने बाध्यता छ,’ बेंसीसहर–काठमाडौं चल्ने माइक्रोबसका चालक टसबहादुर गुरुङले भने । उनका अनुसार पहिरोलाई राम्रोसँग हटाइएको छैन । ‘बाटो सुरक्षित भएन भने गाडी चलाउन बन्द गरिदिन्छौं भन्न मात्र बाँकी छ,’ उनले चेतावनी दिए । बेंसीसहर–१ का अध्यक्ष दुर्गाबहादुर बुढाथोकीका अनुसार बाँदरले रूख हल्लाउनुका साथै समूहमा हिँड्ने, दौडिने गरेपछि पहिरो चलेको हो । ढुंगे, फुस्रो र खरखरे माटो भएकाले पहिरो खसेको उनले बताए । ‘पहिरो खस्न थालेपछि यहाँ जोखिम बढेको छ । गाडी हिँड्दाहिँड्दै पहिरो आइदिन्छ,’ उनले भने ।

सडक नै अवरुद्ध हुने गरी पहिरो खसिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई मित्रलाल ढकालले बताए । ‘सुक्खा पहिरो चलेपछि सवारीलाई रोकेर पहिरो झर्न छोडेपछि सफा गरेर सवारी अगाडि बढाएका छौं,’ उनले भने । उनका अनुसार कतिखेर पहिरो खस्छ भनेर थाहा नै हुँदैन । ‘दिउँसो त हेरेर पनि वारपार गराउन सकिने भयो । राति पहिरो आए के गर्ने ?’ उनले भने, ‘रातको समय पहिरो खसे नखसेको हेरेर वारपार गर्न बिजुलीको व्यवस्थापन गर्न खोजेका छौं ।’

बेंसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले यो पहिरो नगरपालिकाले नियन्त्रण गर्न नसक्ने बताए । सहायक राजमार्गको बाटो भएकाले यो केन्द्रीय योजनाको सडक हो । यसको विकल्पमा भने पहिरोमाथिबाट १० लाख बजेट विनियोजन गरेर सडक मर्मत गरिरहेको उनले बताए । ‘हामीले सम्बन्धित निकायलाई भनेका छौं । पहिरो खसेपछि नगरपालिकाको डोजर पठाएर हटाउने गरेका छौं । पहिरो झर्ने क्रम भने रोकिएको छैन,’ उनले भने । गत वर्ष भदौ ११ मा पहिरोले यो सडक बगाएपछि ३ दिन सवारी आवागमन अवरुद्ध भएको थियो । पहिरोमै डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिएकोमा पुनः गत असार ४ मा पहिरोले सडक बगाएको थियो । चिप्लेटीस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइट हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको बीच भएर रिट्ठेबगरको सडकमा निस्केर उदिपुर उक्लिने बाटो सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja