लमजुङमा २८ हजारभन्दा बढीले गरे स्वास्थ्य बीमा



पोखरा

विपन्न समुदायलाई लक्षित गरी गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच पुर्‍याउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा लमजुङमा २८ हजारभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् ।

लमजुङमा २०७७ माघ महिनादेखि शुरु भएको उक्त कार्यक्रमअन्तर्गत हालसम्म जिल्लाका १२ हजार ६ सय ३५ परिवारका २८ हजार ४ सय ५८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वास्थ्य विकास समिति मार्फत स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो ।

जिल्लामा स्वास्थ्य बीमामा आवद्धमध्ये बिमा शुल्क शतप्रतिशत बुझाउने ५ हजार १ सय ३४ परिवार रहेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी बविता गुरुङले बताइन । उनका अनुसार स्वास्थ्य बीमामा आवद्ध मध्ये जेष्ठ नागरिक ६ हजार ८ सय २६ जना, महिला स्वास्थ्य स्वयम् सेविका २ सय ९३ जना, रातो कार्ड प्राप्त (क) वर्गका पूर्ण अशक्त अपांगता भएका ३ सय १६ जना रहेका छन् । यसैगरी एचआईभी संक्रमित ८८ रहेका छन् भने सो बाहेक कुष्ठरोग देखिएका एक जना रहेका छन् ।

सुरुको वर्षमा भन्दा पछिल्लो समय स्वास्थ्य बिमामा जिल्लाका नागरिकको सहभागिता क्रमिक रुपमा बढ्दै गएको जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख दर्ता अधिकारी अनुपमा रेग्मीले बताए ।

यसैबीच प्रदेश सरकारले ल्याएको लक्षित वर्ग अनुदान सहयोग स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत करिव एक हजार परिवार स्वास्थ्य बीमामा आवद्ध भएका जिल्लास्थित स्वास्थ्य बिमा बोर्डले जनाएको छ । लक्षित वर्गतर्फ (ख) वर्गका अति अशक्त अपाङ्ग परिवार, सहिद, द्वन्द्वपीडित, बेपत्ता परिवार र मिर्गौला पीडित परिवार रहेका छन् । स्वास्थ्य बीमा कार्यक्रमका लागि जिल्लामा ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ । नागरिकले वडावडामा खटिएका दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा गराउन सक्ने स्वास्थ्य बीमा बोर्ड लमजुङ प्रमुख रेग्मीले बताए ।

स्वास्थ्य बिमामा आवद्ध हुनको लागी ५ जनासम्म सदस्य रहेको परिवारले वार्षिक ३ हजार ५ सय र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रति सदस्य सात सय रुपियाँ थप शुल्क तिर्नुपर्नेछ । बीमामा आवद्ध भएका पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्म निःशुल्क स्वास्थ्य सेवा उपलव्ध हुने व्यवस्था रहेको छ । पाँचभन्दा बढि सदस्य भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्क निःशुल्क हुने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्ति तथा परिवारले सूचीकृत अस्पताल, स्वास्थ्य संस्थाबाट एक हजार १ सय १८ प्रकारका औषधि उपचार पाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja