नारायणी नदीमा देखिन थाल्यो डल्फिन



पोखरा

नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् ।

डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् । “पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्मी टेक महतोले भने, “यसले हामीलाई निकै हौसला दिएको छ ।”

महतोले गत मङ्सिर १४ गते, पुस १३ गते र पुस २६ गते नवलपुरको अमलटारीघाटमा डल्फिन देखेको बताए । उनले अमलटारीघाटमा मात्रै नभएर कहिले केही तल सेहरी त कहिले पितौजीघाटसम्म देखिने गरेको जानकारीमा आएको बताए । 

“सन् २०१८ मा डल्फिन भेटिएको सुनेको थिएँ, त्यसपछि सायद डल्फिन देखिएको थिएन”, उनले भने, “गतवर्ष चरा गणनाका बेलामा मैले भेलौजी पोष्ट नजिक दुई डल्फिन देखेको थिएँ ।” यसपछि भने आफूहरु धेरैपटक डल्फिन देखेको महतोको भनाइ छ । “हाम्रो नारायणीमा डल्फिन देखिनु गौरवको कुरा हो”, उनले भने, “डल्फिनलाई नजिकबाट देख्न पाउँदा निकै आनन्द आउँछ ।” 

अमलटारीघाटमा पटक–पटक डल्फिन देखिँदा पनि यसको स्थानीय प्रशासनले संरक्षणमा चासो नदेखाएको महतोले गुनासो गरे । “डल्फिन निरन्तर देखिएको यो क्षेत्रमा माछा मार्ने तथा अन्य गतिविधि हुने गरेको छ”, महतोले भने, “तर, स्थानीय प्रशासनको संरक्षणमा चासो देखिएन ।” माछा मार्न बोटेहरुले तियारी जालको प्रयोग गर्दा संरक्षणमा नै चुनौती थपिनसक्ने महतोको भनाइ छ । 

“घडियाल गोहीको मुखमा तियारी जाल अल्झिएको देखेर मैले फोटोसमेत खिचेको छु”, उनले भने, “सङ्कटापन्न जीवजन्तुको संरक्षणमा सबैको हातेमालो आवश्यक छ ।” एकान्त तथा धेरै हल्ला नहुने क्षेत्रमा डल्फिन भेटिने गरेको भए पनि यस क्षेत्रमा मानवीय क्रियाकलाप बढी हुने उल्लेख गर्दै महतोले यसबारे प्रशासनले कडाइ गर्नुपर्ने बताए । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नारायणी नदीमा डल्फिन भेटिनु भनेको संरक्षणमा सकारात्मक कुरा भएको बताए । “यो सकारात्मक कुरा हो, हामीले नदीमा मान्छेको मुभमेन्ट कम गर्न सेना तथा निकुञ्ज प्रशासनको गस्ती बढाएका छौँ”, उनले भने, “नदीमा आश्रित समुदायलाई माछा मार्न दिइएको भए पनि तियारी जाल प्रतिबन्ध गरेका छौँ ।” नदीमा तियारी जाल प्रयोग गरेर लुकिछिपी माछा मार्ने व्यक्तिलाई निकुञ्जले निकुञ्ज ऐनअनुसार कारबाही गर्ने गरेको तिवारीले बताए । 

“निकुञ्ज ऐनले नै नदीमा आश्रित बोटेमाझी जातिलाई माछा मार्न दिने व्यवस्था गरेको छ”, उनले भने, “नदीमा माछा मार्न नयाँ लाइसेन्स दिएका छैनौँ, पुरानाको भने नियमित नवीकरण हुने गरेको छ ।” नदीमा घडियालको उपस्थिति कस्तो छ भन्ने बारेमा राष्ट्रियस्तरको सर्वेक्षण हुनुपर्ने सहायक संरक्षण अधिकृत तिवारीले बताए । 

“हामीले घडियाल अनुगमनसँगै डल्फिनको पनि अनुगमन गर्न सक्छौँ”, तिवारीले भने, “अनौपचारिक रुपमा हामीले पनि अध्ययन गरेका छौँ, तर विभागले औपचारिक रुपमा गणना गरेको अवस्थामा राम्रो हुन्छ ।” नारायणी नदीमा डल्फिन भेटिँदा संरक्षणसँगै यहाँको पर्यापर्यटनमा सकारात्मक प्रभाव पर्ने संरक्षणकर्मी डिबी चौधरीले बताए । 

“नदीमा डल्फिन देखिने क्रम बढेसँगै यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न सक्छ”, उनले भने, “यसले संरक्षणसँगै स्थानीयवासीको आयआर्जनमासमेत वृद्धि गर्छ ।” डल्फिन संरक्षणका लागि संरक्षणकर्मीसँगै सरकारी र समुदायको समेत महत्वपूर्ण भूमिका रहने चौधरीले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja