गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन, किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ



पोखरा

गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् ।

यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्यांक अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताए । गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढ्दा यो वर्ष ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

सुन्तला खेती हुने प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक सय ८० र सबैभन्दा कम लमजुङमा सात सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ । देशमै सबैभन्दा धेरै सुन्तला खेती हुने स्याङ्जाले बर्सेनि उत्पादनको ठूलो हिस्सा ओगट्छ ।  तनहुँमा १२ हजार पाँच सय ४०, कास्कीमा आठ हजार तीन सय ७१, गोरखामा छ हजार एक सय ४६, पर्वतमा चार हजार चार सय, बागलुङमा चार हजार १५, म्याग्दीमा तीन हजार छ सय ९३ र नवलपुरमा आठ सय ७५ टन सुन्तला उत्पादन भएको छ । मुस्ताङ र मनाङमा भने सुन्तला खेती हुँदैन ।

किसानले पाउने प्रतिकिलो रु ५० औसत मूल्यका आधारमा यो वर्ष गण्डकी प्रदेशमा रु दुई अर्ब ७९ करोड, ६७ लाख, ५० हजार बराबरको सुन्तला उत्पादन भएको निर्देशनालय प्रमुख रेग्मीले बताए। सुरुसुरुमा केही कम मूल्य परे पनि पछिसम्म बोट र चिस्यान केन्द्रमा राखेर बेच्ने किसानले सुन्तलाको भाउ राम्रो पाउने गरेका छन् । 

‘बजारमा आएपछि पाउने बिक्री मूल्यको त लेखाजोखा नै हुँदैन, व्यापारीले किलोलाई सय, डेढसयसम्ममा बेच्छन्, हामीले त सुन्तला फलाउने किसानले कति कमाए भनेर हेर्नुपर्छ’, प्रमुख रेग्मीले भने, ‘जिल्लाहरुले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गर्दा गण्डकीमा वार्षिक करिब तीन अर्ब बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।’

‘सुन्तला जोन’मा बढी सुन्तला उत्पादन हुने बागलुङको बिहुँ, सिगाना, पर्वतको बाँसखर्क, सालिजा, लेखफाँट, म्याग्दीको बास्कुनालगायतका गाउँ पर्छन् । स्याङ्जामा सुन्तला ‘सुपरजोन’ कार्यक्रम लागू भइरहेको छ । सुरुमा केही स्थानीय तहका सीमित वडामा मात्र सञ्चालन गरिएको उक्त कार्यक्रमलाई पछि जिल्लाभर विस्तार गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja