बागलुङमा गत वर्षभन्दा धेरै बढ्यो सुन्तला उत्पादन



पोखरा

गतवर्ष सुन्तलामा किरा लागेर नोक्सानी व्यहोरेका काठेखोला गाउँपालिका–६ का बालानन्द कँडेल अहिले खुसी छन् ।

उत्पादन बढेको र किरा लाग्ने रोग हटेकाले यो वर्ष उनको कमाइ दोब्बर भएको छ । बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले पनि गत वर्षभन्दा धेरै सुन्तला फलेको बताए ।गत वर्ष ३० क्विन्टल सुन्तला बेचेका खड्काको बारीमा यो वर्ष झन्डै ४० क्विन्टल सुन्तला फलेको छ । उनको बारीमा थप १ सय बिरुवा हुर्कंदै छन् । पछिल्ला २ वर्षसम्म किरा लाग्ने समस्याले आजित भएका किसानले यो वर्ष राहत पाएको उनले बताए ।

यसअघि कीरा लागेर पहेंलिएर झरेका सुन्तला खाल्डो खनेर पुरेका किसान यसपालि भने लाखौं रकम कमाउने गरी बेच्न सफल भएका हुन् । ‘यो वर्ष वर्षाले पनि उत्पादनमा साथ दियो,’ कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने, ‘अहिले २० प्रतिशत बढी उत्पादन भएको छ । कतिपय स्थान विशेषमा दोब्बर कमाइ हुने अवस्था छ ।’ उनका अनुसार यो वर्ष बागलुङको ६ सय ३५ हेक्टरमा सुन्तला लगाइएकोमा ३ सय ५५ हेक्टरमा उत्पादन भएको छ ।

केन्द्रले कुल ४ हजार ३ सय ८० मेट्रिकटन सुन्तला फलेर जिल्लाका किसानले कम्तीमा २४ करोड रुपैयाँ कमाउन सकेको प्रारम्भिक तथ्यांक निकालेको छ । गतवर्ष ३ सय ४५ हेक्टरमा मात्रै सुन्तला फलेको थियो । जहाँ ३ हजार ६ सय मेट्रिकटन मात्रै उत्पादन भएको थियो । यो वर्ष १ हजार मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रको तथ्यांक छ ।

‘अहिले घरै आएर व्यपारीले राम्रो मूल्य पनि दिए,’ कँडेलले भने, ‘कोल्डस्टोरमा पनि केही परीमाण सुन्तला राखेका छौं ।’ यहाँ निर्मित कोल्ड स्टोरमा ३ महिना सुन्तला राखेर बजारमा मूल्य बढेपछि बिक्री गर्दा ६ लाख रुपैयाँभन्दा बढी नाफा हुने उनले बताए । उक्त कोल्ड स्टोरमा १ सय १० मेट्रिकटनसम्म सुन्तला भण्डारण गर्न सकिन्छ । बागलुङ नगरपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत सिगाना, भकुन्डे, तित्याङलगायतका स्थानमा सुन्तला उत्पादन बढाउने लक्ष्य राखेको छ ।

गत वर्षसम्म सिगानामा २ करोड रुपैयाँको सुन्तला बिक्री हुन्थ्यो । ‘घरमा खाएको हिसाब भएन, तर व्यपारीलाई नै किसानले बेच्दा २ करोड रुपैयाँ भित्रिएको थियो,’ खड्काले भने, ‘मकै, कोदो र धान खेतीसमेत मासेर किसानले सुन्तला लगाएका छन् ।’

खेती मासेर लगाएको सुन्तला बारीमा उनीहरूले अहिले तोरीसमेत लगाएका छन् । बिरुवा बढेपछि अकबरे खुर्सानी र सागपातको जोहो पनि गरिरहेको उनले बताए । अब सिगानाको कमाइ ४ देखि ५ करोडसम्म पुग्ने देखिएको उनले दाबी गरे ।

सिगानामा २ सय क्विन्टल क्षमताको कोल्डस्टोर छ । तर, उत्पादन बढ्दै गएपछि यो स्टोर सानो भइसकेको छ । किसानले अर्को कोल्डस्टोर थप गर्नुपर्ने माग गरेका छन् । मंसिर र पुससम्म बोटबाटै बिक्री हुने सुन्तलाको तुलनामा कोल्डस्टोरमा राखेर चैतमा बेच्दा दोब्बर फाइदा हुन्छ ।

‘सिजनमा हामीले प्रतिकेजी ६० रुपैयाँमा बेच्छौं, कोल्डस्टोरबाट निकालेपछि १ सय २० देखि १ सय ५० सम्म पर्छ,’ स्थानीय भरत जीसीले भने, ‘अहिले देखाउनका लागि मात्रै कोल्डस्टोर भएको छ ।’ स्टोरमा किसानले ए र बी ग्रेडका सुन्तला राख्छन् । अन्य सुन्तला उनीहरूले मंसिर, पुसभित्रै बेचिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja