व्यावसायिक कागती खेतीबाट मनग्य आम्दानी 



पोखरा

पन्ध्र वर्ष कतारमा सवारी चालकका  रूपमा काम गर्दै आएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो । पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ । बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ ।

जिल्लाको निसीखोला गाउँपालिकाका क्षेत्रीसहितका केही किसानले भने कागती खेतीको व्यावसायिक बिक्री-वितरण थालिसकेका छन् । अगुवा कागती किसान रिमबहादुर क्षेत्री, निमलाल पौडेल र धरमराज पोख्रेलले उत्पादन गरेको कागतीले राम्रो बजार पाउन सफल भएको छ ।

नौ वर्षअघि १० बोटबाट कागती खेती थालेको रेमबहादुर क्षेत्रीको फार्ममा अहिले चार सय कागतीका बोट छन् । अहिले चार सय बोटमध्ये एक सय ५० बोटले कागती उत्पादन दिइराखेको छ । उनले गत वर्षमात्रै कागती बिक्रीबाट दुई लाख आम्दानी गरेको र यस वर्ष आम्दानी बढेर तीन लाख ५० हजार पुग्ने बताउँदै कागतीको माग राम्रो भएको बताए ।

‘कागतीको राम्रो सम्भावना देखेरै कागतीका बिरुवा रोपेको थिए, नियमित हेरचाह गर्न नपर्ने खेती भएकाले बिरुवा थप्दै विदेश जाँदै गरे, जब उत्पादन थाल्यो त्यसपछि विदेशलाई बिट मारेर यही व्यवसायमा लागे’, उनले भने, ‘अहिले यहाँको कागती बुर्तिवाङ बजार, बुटवल, पोखरा र काठमाडौँ पुग्छ, यो वर्ष १६ क्विन्टल बिक्री गरिसके बगैँचामा अझै १० क्विन्टल बिक्री गर्न बाँकी छ, होलसेलमा प्रतिकेजी एक सयमा बिक्री गरिरहेको छु, यो वर्षमात्रै तीन लाख आम्दानी हुनेछ ।’

किसान क्षेत्रीले बजारको माग राम्रो भएकाले थप २० रोपनी जग्गामा कागती र टिमुर खेती गर्ने योजनामा रहेको बताउँदै कागतीको बजार राम्रो भएकाले निसिखोलाका कृषक कागती खेतीप्रति जागरुक भएको बताए ।

सैतीस वर्षीय क्षेत्रीले निसीखोला गाउँपालिका–४ छिम्पामा जीवन पोल्टी फार्म तथा विविध कृषि केन्द्र स्थापना गरी विसं २०७४ देखि फार्म दर्ता गरेर आफ्नै १५ रोपनी जग्गामा कागती खेती गर्दै आएका छन् । क्षेत्रीले विदेश गएर कमाएको रकमले फार्म व्यवस्थापन गरेको श्रीमती लीला पौडेलले फार्ममा सहयोग गर्दै आएको बताए ।

उनको फार्ममा कागती खेतीसँगै १० घार मौरी र २०-२० बोटबाट हलुवावेद र अमिलोसमेत उत्पादन भइरहेको छ । अहिले कागतीको माग धान्नै धौ धौ भएको क्षेत्रीको भनाइ छ । कागतीको दानासँगै चुक र अचारसमेत बिक्री गर्न सकिने उनको भनाइ छ । क्षेत्रीले वार्षिक ४० लाख आम्दानी गर्ने योजनाका साथ कागती खेती विस्तारमा लागेको बताए । यस्तै निसीखोला गाउँपालिका-४ बडाचौरका निमलाल पौडेलले यस वर्ष ३० क्विन्टल कागती बिक्री गरिसके ।  

छब्बीस रोपनी जग्गामा उहाँका नयाँ तथा पुराना बिरुवा गरी चार सय ५० बोट छन् । अहिले उनको कागती बगानमा झण्डै ३० क्विन्टल कागती अझै बिक्री गर्न बाँकी छ । पौडेलले विसं २०५५ मा एक सय बोटबाट सुरु गरेको कागती खेतीलाई क्रमशः व्यावसायिक बनाउँदै आएका छन् । उनले उत्पादन भइरहेको कागतीलाई बुटवल, काठमाडौँ र पोखरालगायतका क्षेत्रमा बिक्री हुने गरेको बताए।

केही फलफूल व्यापारी गाडी लिएर कागती लिन आउँछन्, कहिले आफैँ लगेर बिक्री गर्ने गरिने पौडेलको भनाइ छ ।  उनले सृष्टि कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक कागती खेती गर्दै आएका छन् । 

–खेमराज गौतम रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja