नक्कली सुन धितो राखेर २४ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ



पोखरा

नक्कली सुन बैंकमा धितो राखेर २४ लाख रुपैयाँ ठगी गर्नेलाई कास्की प्रहरीले फेला पारेको छ ।

पर्वतको कुश्मा घर भई हाल पोखरा बस्ने २५ वर्षीय अभिषेक सुनारले राष्ट्रिय वाणिज्य बैंकका दुई शाखाबाट विभिन्न मितिमा उक्त रकम कर्जा लिएको भेटिएको हो ।  सुनारले पोखरा–१७ विरौटामा रहेको बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएका थिए ।

उनले लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन नआएपछि बैंकले शंका लागेर धितो राखेको गरगहना जाँच गरेको थियो । गरगहना जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको खुल्न आएको थियो । बैंकको उजुरीको आधारमा प्रहरीले सुनारलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए ।

उनका अनुसार प्रहरीले सुनारलाई आइतबार जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंक विरौटा शाखाका प्रबन्धक सञ्जीव सुवेदीले धितो राखिएका गहना सामान्य आँखाले सक्कली र नक्कली छुटयाउन नसकिने किसिमको रहेको बताए । ‘धितो राख्ने बेला हेरेर, ढुंगाले घोटेर वा एसिड हालेर परीक्षण गर्ने हो,’ उनले भने, ‘त्यसबाहेक काटेर हेर्नुपर्छ । ग्राहकको गहना काटिहाल्न मिल्दैन । पछि पनि सक्कली नै हो भन्ने थियो । मेसिनमा लगेर परीक्षण गरेपछि मात्रै नक्कली भन्ने थाहा भयो ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja