पोखराको दीगो विकास प्रति कोरियाको चासो



पोखरा

दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एशिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन लीसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटवार्ताका क्रममा पोखराको दीगो विकास, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा हरित सहरी यातायात लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले बताए । टोलीले पोखराको दीगो विकास, यहाँको फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धनसहित हरित शहरी यातायात विकासका लागि कोरियन सरकारकोतर्फबाट आवश्यक सहयोग गर्ने पूर्व प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको बताएको छ ।

पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न, रिङ रोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाईडसम्म फास्ट ट्र्याक, फेवाताल-वेगनासताल जोड्ने पूर्वाधार लगायतका विषयमा पनि टोलीले अध्ययन गरिरहेको बताएको छ ।

एक साताको नेपाल भ्रमणमा रहेको टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाकोतर्फबाट राष्ट्रियसभा सदस्य साङ्ग हेन ली, कोरियाको निजी क्षेत्रका दुई व्यवसायीहरू योङ प्यो किम र साङपील किमको सहभागिता रहेको थियो ।

भेटवार्तामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसीको पनि सहभागिता रहेको थियो । टोली पोखरा महानगरपालिकाले प्रस्तुत गरेका सहकार्यका सम्भावित क्षेत्रहरूको अवलोकनका खातिर ३ दिन पोखरामा नै रहने छ । 

कोरियन सांसदसहित त्यहाँका निजी क्षेत्रका व्यवसायीहरूको दोस्रो पटकको पोखरा भ्रमण र पोखराको विकास प्रति उनीहरूले देखाएको चासो प्रति पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्यले धन्यवाद ज्ञापन गरे । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja