निर्वाचनका लागि बागलुङका ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील



पोखरा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लाका एक सय छ मध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् ।

सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ ।  

प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको हो । 

गृह मन्त्रालयले मतदानस्थलको सुरक्षा संवेदनशीलताको हिसाबले गरिएको वर्गीकरण सार्वजनिक नगर्न निर्देशन दिएकाले कुन कुन मतदानस्थल संवेदनशील छन् भन्ने बारेमा भने सार्वजनिक नगरिएको ढकालले बताए । अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको ढकालले बताए ।

सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ । जिल्लामा कुल एक सय छ मतदानस्थल छन् । यसमा दुई सय ३१ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।स्थानीय तहको निर्वाचनपश्चात् मतदाताको सुविधालाई ध्यानमा राखेर बागलुङमा तीन मतदानस्थल परिवर्तन र तीन मतदानस्थल थप गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–६, ढोरपाटन नगरपालिका–२ र गलकोट नगरपालिका–१० मा एक÷एकवटा मतदानस्थल थप गरिएको छ । 

सबै मतदातालाई अपायक परेको बागलुङ नगरपालिका–३ बौद्ध विहारबाट, कालिका कन्या मावि, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरे पीपल मावि र बडिगाड गाउँपालिका–८ सिद्धबारी प्राविबाट भृकुटी माविमा मतदानस्थल स्थानान्तरणको निर्णय गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिए । 

स्थानीय तह निर्वाचनपछि जिल्लामा दुई हजार आठ सय नयाँ मतदाता थपिएका छन् । नयाँ थप भएका मतदाताले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनमा मत राख्न पाउने छन् । स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार ६२४ मतदाता रहेकामा अहिले एक लाख ९६ हजार २९७ जना मतदाता पुगे । यसमध्ये एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja