दूधको मूल्य नबढेका कारण बागलुङका किसान निरुत्साहित



पोखरा

सहकारीमार्फत दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन तर मूल्य वृद्धिको मारले थिचेको छ ।

दुई वर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास पौडेललाई आजभोलि गाईलाई दानापानी दिनै मन लाग्दैन । दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन । बजार मूल्य र किसानले पाउने दूधको मूल्यमा आधाभन्दा फरक छ । विकासले सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपैयाँ पाउँछन्। तर त्यही दूध बजारमा एक सय २० रुपैयाँमा बिक्री हुन्छ ।

दुई वर्ष पहिले दूधको मूल्य ५० रुपैयाँसम्म पर्थ्यो र पनि किसानको दुःख उठ्थ्यो । अहिले बजारमा महँगिएको दाना चोकरको मूल्य जस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका हुन् । यो समस्या विकासको मात्रै होइन, कुश्मीशेराका अन्य किसानको पनि समस्या हो । जसको असर दुई वर्ष पहिले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा परेको छ ।

अहिले सहकारीले दिनमा दुई सय ५० लिटर दूध मात्रै उत्पादन हुन्छ । ‘‘बिक्री भएको दूधको पैसासमेत समयमा नआउने समस्या छ, दाना चोकर समयमा पुर्‍याउनै कठिन हुने’’, पौडेलले भने ‘‘व्यावसायिक गाई पालेर पनि आम्दानी गर्न सकिन्छ तर महँगी र दूधको मूल्य वृद्धि समान हिसाबले हुनुपर्छ ।’’ वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा सहभागी भएका विकाससँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले पछिल्लो समय व्यावसायिक रूपमा पालिएका गाईको सङ्ख्या घटाउने र अन्य व्यवसायको खोजी गर्न थालेका छन् ।

‘‘बिहान तीन लिटर दिएको गाईले बेलुका पनि त्यति नै दिन्छ, दाना चोकर प्रशस्त दिए त्यही गाईको दूध पाँच लिटर आउँथ्यो’’, पौडेलले भने ‘ ‘दुई वर्ष पहिले एक हजार छ सय पर्ने दानाको बोरा अहिले दुई हजार दुई सय भएको छ ।’’ महँगीको मार थेग्न नसकेका कारण आफूहरूले उत्पादन घटाउनु परेको उनीहरूको भनाइ छ । किसानले तीन वर्षको अन्तरमा बढेको दूधको मूल्यबाट आशा राखेका थिए तर दूधको मूल्य नबढ्दै दाना र चोकरको मूल्य बढेकाले किसानको आशा निराशामा परिणत भएको छ ।

‘‘दूधको मूल्य बढाउने विषयमा अन्य उपायको पनि खोजी गर्नुपर्छ भन्ने लागेको छ’’, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका, १२ का सचिव रुद्रनाथ शर्माले भने, ‘उपभोक्ता र उत्पादक किसानबीचको अन्तर घटाउँदा दूधको मूल्य किसानले पाउँछन् ।’’ बिचौलिया र ढुवानीका खर्चका कारणले पनि किसानले दूधको उचित मूल्य पाउँदैनन् ।

बगलुङको दक्षिण क्षेत्रमा उत्पादन भएको अधिकांश दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा बजार र पोखरा बजारमा यहाँको दूध बिक्री हुन्छ । टाढा टाढा ढुवानी गरेर दूध पुर्‍याउँदा खर्च बढ्ने गरेको छ । हिउँदको समयमा भन्दा किसानले वर्षाको समयमा मूल्यमा थप मार व्यहोर्ने गरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र बागलुङका अनुसार बागलुङ दूधमा आत्मनिर्भर जिल्ला हो । तर पछिल्लो समय बढ्दो बसाइसराइ, व्यावसायिक किसानमा आएको वितृष्णा, बजार मूल्यमा हुने घटबढ र पशुधनमा हुने क्षतिका कारण उत्पादन घट्ने चिन्ता बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja