बागलुङमा दिवा खाजाको कारण पढाइ छाड्ने घटे



पोखरा

यहाँको बौडेचउर मावि कक्षा ५ मा पढ्ने काजल काउचाको घर विद्यालयदेखि डेढ घण्टा पर छ । काठेखोला गाउँपालिका–७ को रेसबाट उनी बौडेचौर पढ्न आउँछिन् ।

एकाबिहानै खाना आएर आउनुपर्दा छिटै भोक लाग्थ्यो ।खाजा खाने बेला घर फर्कन्थिन् । उनको पढाइ राम्रो चलेको थिएन । कक्षा ६ मा पढ्ने विराज परियारले पनि बीचैमा कक्षा छाड्ने समस्या थियो । पैसा तिरेर खाजा खाने क्षमता भएकाले उनीहरू छिटै घर फर्कन बाध्य थिए । बसिहाले पनि भोकभोकै पर्थे ।

शिक्षा मन्त्रालयले पोषण भत्तास्वरूप मासिक ४ सय ५० रुपैयाँ दिँदा यहाँका बालबालिकालाई विद्यालयमा अड्याउन सहज भएको प्रअ दिननाथ गौतमले बताए । बौडेचौर माविले सबै विद्यार्थीको बजेटबाट खाजा सामग्री खरिद गरेको छ । त्यो खाजाको सामग्री अभिभावकलाई वितरण गर्छ । अभिभावकले तालिकाअनुसार हरेक दिन फरक फरक खाजा बनाएर बालबालिकासँगै पठाउने गरेका छन् ।

विद्यालयले हरेक दिन के खाजा खुवाउने भन्ने लिस्ट पनि दिएको छ । हरेक दिन अभिभावकले खाजा बनाएर पठाउने गर्छन् । जसले गर्दा बालबालिका खुसी भएर विद्यालय आउन थालेका छन् । आइतबार तरकारी र अन्डा, सोमबार हलुवा, मंगलबार रोटी र तरकारीको खाजा व्यवस्था भएको हो । त्यस्तै बुधबार मकै र भटमास, बिहीबार चना तथा शुक्रबार रोटी तरकारी खाजा खुवाउने गरिएको हो । दिउँसो साढे १ बजेदेखि २ बजेको समय खाजाको बढी तोकिएको गौतमले बताए ।

‘थोरै रकमले पनि व्यवस्थापन गर्दा पुग्ने रहेछ,’ गौतमले भने, ‘व्यक्तिपिच्छे रकम दिएको भए न पुग्थ्यो, न सदुपयोग नै हुन्थ्यो ।’ बालबालिकाले घरमै खाजा बनाएर ल्याउँदा सदुपयोग भएको उनले बताए । दिउँसो खाजा खाएर उनीहरू विद्यालय समयभर बस्न थालेको गौतमले बताए । विद्यालय छाड्ने दर घटाउन र कक्षामा नियमित बनाउन खाजा उपयोगी भएको गौतमको अनुभव छ । यसरी खाजाको क्यालेन्डर बनाउँदा एकरूपता भएको शिक्षक रुद्रप्रसाद जोशीले बताए ।

‘कसैले मिठो, कसैको नमिठो भन्ने पनि भएन, एकै प्रकारको खाजा आएपछि सबैले रमाएर खान्छन्,’ जोशीले भने, ‘अहिले बालबालिका नियमित गर्न पनि सजिलो भएको छ ।’ विद्यालयले व्यक्तिपिच्छेका लागि नगद पैसा दिएको भए दुरुपयोग हुने गरेकाले सामग्री दिएको उनले बताए । यस्तो व्यवस्थापनले अभिभावकले पनि उक्त रकम जथाभावी गर्न नपाएको बताए । बागलुङ नगरपालिका ७ स्थित गौरीशंकर प्राविकी प्रअ सरिता गौतमले पनि खाजाले बालबालिका नियमित विद्यालय आएको बताइन् । सरकारले कर्णालीका बालबालिकालाई प्रतिव्यक्ति प्रतिदिन २० र अन्यत्रका विद्यार्थीलाई प्रतिव्यक्ति १५ रुपैयाँ दिएको हो ।

यो विद्यालयले आइतबार रोटी तरकारी, सोमबार मकैभट्ट, मंगलबार अण्डा तरकारी, बुधबार हलुवा, बिहीबार चना र शुक्रबार खट्टेको व्यवस्था गरेको हो । सदरमुकामका विद्यालयले भने विद्यालयभित्रको क्यान्टिनमा रकम भुक्तानी गरेर खाजा खुवाउने व्यवस्था गरेका छन् । ‘हामीले खाजाको तालिका बनाएका छौं, पैसा भने क्यान्टिनमा भुक्तानी गर्छौं,’ विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले भने, ‘संयुक्त रूपमा खाजा पकाउँदा खर्चको सदुपयोग भएको छ ।’

यहाँ भने पूर्वविद्यार्थीहरूले समेत कोष बनाएर अन्य बालबालिकालाई पनि खाजा खुवाउने व्यवस्था गरेका छन् । क्यान्टिनमा भने जंकफुड पनि बिक्री हुने गरेको छ ।

-ekantipur.com

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja