बेनीमा पर्यटकको चहलपहल सुरु



पोखरा

कोभिड-१९ को महामारीअघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा विसं २०७६ चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि सङ्क्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसाय यस वर्षको सुरुआतदेखि नै सुधार हुँदै आएकामा गत असोजको पहिलो सातादेखि पुनः पुरानै लयमा फर्किएको हो ।

मौसम सुरु भएसँगै यतिबेला सदरमुकाम बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजारमा तत्कालीन समयमा भोट, तिब्बत र मधेसको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रूपमा बेनी बजार रहेको छ ।

पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धवलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा तीन वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् । कोभिड–१९ को त्रासका कारण पर्यटक आउन सक्ने वातावरण नभएपछि सुनसान बनेका पर्यटकीयस्थलमा असोज सुरु भएपछि पर्यटकको भीड लाग्न थालेको छ । व्यापार व्यवसाय बढ्न थालेको छ ।

पर्यटकीयस्थल पर्यटकको प्रतीक्षा गरिरहेका छन् । अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररूपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ ।

पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटल र यातायात क्षेत्रमा  यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja